माओवादी नेतामाथि खुकुरी प्रहार गर्ने कोहलपुरका २ युवा पक्राउ
  • काँचुली खबर

१ मंसिर, काठमाण्डौं । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य जनक बर्तौलामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार ज्यान मार्ने उद्योग कसुरमा इलामको पशुपतिनगर क्षेत्रबाट तीन जनालाई पक्राउ गरेको हो ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० का २४ वर्षीय शेरबहादुर थारू, कोहलपुर वडा नम्बर १ कौशीलानगरका २६ वर्षीय आशिष लामिछाने मगर र झापा मेचीनगर नगरपालिका वडा नम्बर ८ मेचेका ३४ वर्षीय कैलास भन्ने टेकबहादुर प्रधानलाई प्रहरीले पक्राउ गरेको हो ।

गत कात्तिक २२ गते काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वरस्थित आई प्‍लेक्स मलनजिकै बर्तौलामाथि दुई जना व्यक्तिहरूले खुकुरी प्रहार गरी फरार भएका थिए । उनीहरूको तत्काल परिचय खुलेको थिएन ।

अनुसन्धानको क्रममा प्रहरीले उनीहरूको पहिचान, पीडितबाट सूचना संकलन र विभिन्न विधि र पद्धतीको प्रयोग गरिएको एसपी ढुंगेलले बताए ।

उनकाअनुसार बर्तौलामाथि सांघातिक आक्रमण गर्न तीन महिना अघिदेखि नै योजना बनेको खुलेको छ । बर्तौलाको दैनिक गतिविधिमाथि उनीहरूले निगरानी गरेका थिए । पीडित बस्ने घर, कार्यालय, जिम सबै ठाउँमा निगरानी गरी उपयुक्त समय र स्थानको निर्धारण गरी आक्रमण गरेको पाइएको प्रहरीले बताएको छ ।

खुकुरी प्रहार गर्न शेरबहादुर र आशिष पुगेका थिए । बर्तौलालाई शेरबहादुरले पछाडीबाट तीन पटक खुकुरीले प्रहार गरेका थिए । त्यहाँको निगरानी आशिषले गरेका थिए ।

आक्रमणपछि दुबै जना भागेका थिए । शेरबहादुरले करिब पाँच सय मिटर पश्चिम भागेर एक घरभित्रको कम्पाउण्डभित्र पसेर कपडा फेरेका थिए । ती कपडा, हतियारहरू त्यहीँ फालेर उनी फरार भएका थिए ।

प्रहरीको निगरानीबाट बच्न उनीहरू हिँड्दै नयाँ बसपार्क पुगेर त्यहाँबाट झापा हुँदै इलाम पुगेका थिए । उनीहरू दुई जनालाई इलाम पुर्‍याउने काम टेकबहादुर प्रधानले गरेका थिए । त्यसबापत उनले रकम लिएका थिए ।

यस्तै उनीहरूले एउटा होटलमा बसेर योजना बनाएको खुलेको छ ।

पक्राउ परेका व्यक्तिहरू पहिले पनि पटक-पटक आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ । चोरी तथा डाका, हातहतियार खरखजाना, लागुऔषध र ज्‍यानसम्बन्धी उद्योग जस्ता गतिविधिमा संलग्न भई सजाय भुक्तान गरेको खुलेको छ ।

उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।

  • १ मंसिर २०८०, शुक्रबार १६:४३ प्रकाशित
  • Nabintech