बाँकेको जानकीमा प्रहरीले गोली चलायो, एक जना पक्राउ
  • काँचुली खबर

फाईल तस्बिर ।

१ मंसिर, कोहलपुर । बाँकेको जानकी गाउँपालिकामा गोली चलेको छ । प्रहरीले गोली हानेर ज्यान मार्ने उद्योग कसुरमा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीले चलाएको गोली लागेर बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय आकाश जंग राना घाइते भएका छन् ।

प्रहरीको खोजी सुचीमा रहेका आकाशलाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएर नियन्त्रणमा लिइएको बाँकेका एसपी सुवासचन्द्र बोहराले बताए । कार्तिक ३० मा कोहलपुर स्थित चप्परगौडीमा आकाश राना सहितका युवाहरूले मीन बहादुर बिकलाई आक्रमण गरेका थिए । रानाको समूहले खुकुरी प्रहार गर्दा २९ वर्षीय मीनबहादुर गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागी भारतको लखनउमा पठाइएको छ ।

खुकुरी प्रहारमा संलग्नलाई खोज्दै प्रहरी शुक्रबार जानकी गाउँपालिका-४ स्थित खुद्रा खजुरामा पुगेको थियो । प्रहरीलाई देख्नेबित्तिकै आकाश राना भागेपछि गोली चलाएर नियन्त्रणमा लिएको एसपी बोहराले जानकारी दिए । रानाको दायाँ खुट्टामा गोली लागेको छ ।

कार्तिक २८ मा कोहलपुर नगरपालिका-११ मा आकाश रानाले करणी प्रयास गरेको आरोप छ । उनी लागु औषध मुद्दामा ५ वर्ष जेल बसेर निस्केका हुन् । २०७४ देखी ०७९ सम्म राना नेपालगन्ज कारागारमा थुनामा बसेका थिए ।

  • १ मंसिर २०८०, शुक्रबार १२:४१ प्रकाशित
  • Nabintech