७ बैशाख २०८१, शुक्रबार
वाटरपार्कको मुहार फेरिदैं
  • काँचुली खबर

‘दुई दशक अघि धम्बोझीमा इँटा उद्योगले खनेको एउटा खाल्डो थियो । जहाँ बर्खायाममा पानी जमेर तलाउ बन्थ्यो’, स्थानीय धनबहादुर चन्द विगत सम्झन्छन्, ‘शुरुमा यो सामान्य खाल्डो मात्रै हो । नेपालगञ्ज नगरपालिकाले कृत्रिम तलाउ खनेपछि मात्र अहिलेको वाटरपार्क बनेको हो ।’

ताल त बन्यो तर ‘आर्कषक ताल’ बनाउने योजना नगर जनप्रतिनिधिविहीन भएसँगै रोकियो । बनेका भौतिक संरचना बिग्रिए, भत्किए । पुनःनिर्माण गरी संरक्षण, सम्वद्र्धन गर्न चौतर्फी दवाब भने जारी थियो । ७० करोड रुपैयाँ कुल लागत लाग्ने अनुमान गरिए पनि ०७३|०७४ मा संघीय सरकारको शहरी विकास मन्त्रालयले ६ करोड रुपैयाँ विनियोजन गरेर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहितफेरि तालको पुनः निर्माण थालेको छ ।

आयोजना क्षेत्र नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोझी र वडा नं. १८ कारकाँदोमा ६५ विगाहा क्षेत्रफलमा पर्छ । जहाँ सुन्दर, आकर्षक र सुविधासम्पन्न वाटरपार्कसँगै एकीकृत वस्ती बन्नेछ । आयोजनाले तालको सौन्दर्यकरण गर्नचारैतिर स्लोप, रेलिङ, फुटपाथ, ग्रीनबेल्टलगायतका पूर्वाधार बनाउँदैछ । ‘स्लोपमा दुबो र ग्राभेल (स्टोन पिचिङ), त्यसमाथि रेलिङ, फुटपाथ र ग्रीनबेल्ट तयार हुनेछ । आयोजनाको केन्द्र बिन्दुमा ‘सेन्टर प्लाजा’ अर्थात गोलपार्क निर्माण गरिनेछ । जसले पर्यटकलाई आर्कषित गर्नेछ’, वाटरपार्क आयोजनाका इन्जिनियर महेशकुमार थापाले भने ।

सरकारले २०६६ सालमा राजपत्रमा प्रकाशित गरेसँगै वाटरपार्क पुनःनिर्माण आयोजनाले वाटरपार्क जग्गा एकीकरण आयोजना लागू गरेको हो । नेपालगंज नगर विकास समितिमार्फत आयोजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ । समितिका अध्यक्ष गोपाल पुनका अनुसार यही असार अन्तिमबाट अस्थायी लालपूर्जा वितरण गरिनेछ । ‘लालपूर्जा वितरण गरिसकेपछि त्यहाँ भौतिक संरचना निर्माणको बाटो खुल्नेछ,’ पुनले भने, ‘वाटरपार्कको सौन्दर्यले पर्यटक पक्कै लोभिनेछन् ।’

वाटरपार्क परिसरमै सुविधा सम्पन्न ‘पिकनिक स्पट’ र ‘चिल्डे«न पार्क’ बन्नेछन् । जसको निर्माणका लागि मात्र दुई करोड रुपैयाँ बजेट छ । यो‘पिकनिक स्पट’आर्थिक रुपमा सस्तो र सहज पहुँचको हुनेछ । नगरभित्रै ‘पिकनिक स्पट’ बनेपछि स्थानीयलाई चिसापानी कर्णाली, अगैया, बबई, ढकेरी, गाभरभ्याली जाने बाध्यता पनि हट्नेछ ।

आयोजनामा ‘रिप्लटिङ एरिया’, ‘ओपन स्पेस’ र वाटरपार्क ताल गरी तीन खण्डमा बन्दैछ । इन्जिनियर थापा ‘रिप्लटिङ एरिया’मा घरनिर्माण हुने बताउँछन् ।

वाटरपार्कमा फेवातालमा जस्तै डुंगामा सयर गर्न पाइनेछ । वाटरपार्क प्रवेशका लागि पुष्पलाल चोकबाट करिव ५० मिटर उत्तरमा सुशील नगर प्रवेशद्वारनिर्माण भइसकेको छ । एकीकृत बस्ती हुँदै वाटरपार्क पुग्न ६ मिटरदेखि २१ मिटर चौडाइका साना ठूला थुप्रै बाटाहरु बनाइनेछन् ।

आयोजना क्षेत्रमा २ सय ८० जग्गाधनी छन् । त्यसभित्र करिव ७ सय वटा प्लट (घडेरी) तयार गरिएको छ । ६ मिटरदेखि २१ मिटर चौडा बाटोबाट कम्तीमा २४ प्रतिशतदेखि बढीमा ६३ प्रतिशतसम्म जग्गा अधिग्रहण गरिनेछ । अधिग्रहण बाहेकको जग्गाघडेरी हुनेछ । जहाँ सडक, ढल निकास, खानेपानी, बिजुली, हरियाली, खुल्ला मैदान र सामुदायिक क्षेत्रको सुविधा हुनेछ । आयोजनास्थलका २१ र १८ मिटर चौडा सडकका घडेरी व्यापारिक दृष्टिकोणले महत्वपूर्ण हुने ठानिएको छ । तर, आयोजनाभित्र सडकले नछोएको कुनैपनि कित्ता राखिएको छैन । त्यसैले आयोजनाबाट नेपालगञ्जकै पहिलो व्यवस्थित बस्ती बस्नेछ ।

२०५४ सालमा नेपालगंज नगरपालिकाको प्रमुख हुँदा वाटरपार्क सुधारका लागि पहल थालेका डा.धवल शम्शेर राणा उपमहानगरपालिका बनेपछि फेरि प्रमुखको जिम्मेवारीमा छन् । उनी वाटरपार्क नेपालगञ्जको आकर्षक पर्यटकीय गन्तव्य बन्नेमा ढुक्क छन् । ‘वाटरपार्क पुनःनिर्माणका लागि बजेट अभाव हुँदैन’, उनी भन्छन्, ‘पुनःनिर्माणपछि वाटरपार्कले मुहार फेर्नेछ ।’

स्रोत : नेपालगञ्ज उपमहानगरको शहर फिचर सेवा

  • ४ श्रावण २०७५, शुक्रबार १५:१९ प्रकाशित
  • Nabintech