१५ बैशाख २०८१, शनिबार
थारू समुदायमा फैलिदै थालेसेमिया, बिरामीको चाप बढ्याे
  • काँचुली खबर

१४ असाेज, नेपालगन्ज पश्चिम नेपालको बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा फैलिंदैगएको थालेसेमिया रोग थारु समुदायका बालबालिकामा बढी देखा परिरहेको चिकित्सकहरूले जनाएका छन् । अहिले अस्पतालमा सो रोगका बिरामीको चाप बढेको अस्पतालको भनाइ छ ।

पछिल्लो समयमा थालेसेमिया रोगबाट पीडित बालबालिका उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा आउनेक्रम ह्वात्तै बढेको अस्पतालले जनाएको छ । भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले महिनामा १५ देखि २० जना थालेसेमियाबाट पीडित बालबालिका उपचारका लागि अस्पताल पुग्नेगरेको बताए ।

उनले बाँकेलगायत विभिन्न जिल्लामा सिकलसेल र थालेसेमियाबारे जनचेतना फैलाउने र रगत परीक्षण गर्ने कार्य भइरहेकाले पनि बिरामी फेला पर्दैगएको बताए ।

डा. रिसालले सिकलसेलजस्तै थालेसेमिया पनि वंशाणुगत रोग भएकाले यसको रोकथाम र नियन्त्रणका लागि पनि विवाहपूर्व नै ध्यान दिएर रगत परीक्षण गराएर रोग नभएकासँग विवाह गरेमा मात्र नियन्त्रण सहज हुने बताए ।

सिकलसेल र थालेसेमिया रोगको उपचारको स्रोत व्यक्तिका रूपमा रहेका भेरी अस्पतालका मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेले थालेसेमिया रोगका बिरामीमा ८० प्रतिशत थारु समुदायका बालबालिका भेटिएको बताए ।

उनले वंशाणुगत रोगको रूपमा रहेको थालासेमिया ८० प्रतिशत तारु समुदायका बालबालिकामा र २० प्रतिशत अन्य समुदायका बालबालिकामा भेटिएको बताए ।

डा. पाण्डेका अनुसार थालेसेमिया सिकलसेल एनिमियाजस्तै आमा बुवाबाट बालबालिकामा सर्ने रोग भएकोले यसबाट सन्तानलाई जोगाउन विवाह गर्नु अगावै रगत परीक्षण गराएर विवाह गर्न सुझाव दिए ।

उनले भने, “थालेसेमिया भएका महिला र पुरुषबिच विवाह नगर्दा यो रोग बच्चामा सर्दैन । एक जनामा थालेसेमिया छ भने उसले थालेसेमिया नभएका व्यक्तिसँग विवाह गर्नुपर्छ । बच्चामा थालेसेमिया सरिसकेको छ भने उसको विवाह थालेसेमिया नभएकासँग गर्नुपर्छ ।”

स्वास्थ्य कार्यालय बाँकेले जिल्लामा थालेसेमियाका बिरामी पत्ता लगाउने तथा समुदायमा सचेतना जगाउने काम गत वर्षबाटै निरन्तर भइरहेको जनाएको छ । कार्यालयका अनुसार जिल्लाको तारु बाहुल्य गाउँबस्तीमा सो काम जारी छ ।

गाेरखापत्रबाट

  • १४ आश्विन २०८०, आईतवार ०९:०८ प्रकाशित
  • Nabintech