२१ बैशाख २०८१, शुक्रबार
उद्योगबाहेकका संसदीय समितिको सभापति सर्वसम्मत
  • काँचुली खबर

१० भदौ, काठमाण्डौं । प्रतिनिधिसभाका ९ वटा विषयगत समितिका सभापति सर्वसम्मत चुनिने भएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने दुई जनाको उम्मेदवारी परेको छ ।

प्रतिनिधिसभाको १० वटा विषयगत समितिको सभापति चयनका लागि भोलि सोमबार निर्वाचन राखिएको छ । त्यसको अघिल्लो दिन विहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी बाहेकका दलहरूबीच सभापतिमा भागवण्डा भएकाले त्यसअनुसार नै उम्मेदवारी परेको छ । ‘भोलि ३ बजे सबै समितिको बैठक राखिएको छ । एउटा मात्र उम्मेदवारी परेकाहरूको हकमा त्यही सर्वसम्मत निर्वाचित घोषणा हुन्छ’, संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

सार्वजनिक लेखा समिति सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेलको मात्र उम्मेदवारी परेको छ । एमालेकै किरण साहले महिला बालबालिका तथा सामाजिक समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसबाट आरजु राणा देउवाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समिति र सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा उम्मेदवारी दिएका छन् ।

कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा माओवादी केन्द्रकी विमला सुवेदीको मात्र उम्मेदवारी परेको छ । दलहरुबीच सहमतिमा माओवादीको भागमा परेको पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंहले उम्मेदवारी दिएका छन् । आइतबार अन्तिम समयमा माओवादी र राप्रपाको सहमतिमा सिंह उम्मेदवार भएकाले अरुले उम्मेदवारी दिएका छैनन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टीका राजकिशोर यादवको मात्र उम्मेदवारी परेको छ भने स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशीले मात्र उम्मेदवारी दर्ता गराएका छन् ।

उद्योग समितिमा निर्वाचन

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धन र एमालेबीचको भागवण्डामा यो समिति जनमतले पाएको थियो ।

भागवण्डामा नपरेको रास्वपाले अरू समितिमा उम्मेदवार बनाउन सक्ने अवस्था थिएन । किनकी सभापतिमा उम्मेदवार बन्न एक जना प्रस्तावक र एक जना समर्थक आवश्यक हुन्छ। अन्य समितिमा रास्वपाका दुई सांसद मात्र छन् । यो समितिमा तीन सांसद थिए, जसमध्ये पराजुली उम्मेदवार बन्दा उपसभापति डिपी अर्याल प्रस्तावक र असिम शाह समर्थक छन् ।

  • १० भाद्र २०८०, आईतवार १७:५४ प्रकाशित
  • Nabintech