६ जेष्ठ २०८१, आईतवार
रकम लुटेकाे आराेपमा वडाध्यक्षसहित तिनजना कारागार चलान
  • काँचुली खबर

२२ साउन, सुर्खेत । उपभोक्ता समितिकाे रकम लुटेको आरोपमा पक्राउ परेका सुर्खेतको वीरेन्द्रनगर-३ का वडाध्यक्ष विनोदसिंह विष्टसहित तीन जनालाई कारागार चलान गरिएको छ । आइतबार जिल्ला न्यायाधीश मनोज श्रेष्ठको इजलासले तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

विष्टसँगै सोही मुद्दामा पक्राउ परेका सुशील गुरूङ भनिने प्रेम गुरूङ र बलिराज शाहीलाई पनि कारागार चलान गरिएको छ ।उक्त मुद्दामा पक्राउ परेका अरु दुई जनालाई भने २/२ लाख रुपैयाँ धरौटीमा छोड्न अदालतले आदेश दिएको सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी शाखा अधिकृत उज्वल रावलले जानकारी दिए ।

उनका अनुसार सन्तोष थापा र यामराज शाही धरौटीमा छुटेका हुन् ।

उपभोक्ता समितिबाट रकम लुटेको आरोपमा वीरेन्द्रनगर-३ का वडाध्यक्ष विष्ट र उनलाई सहयोग गरेको आरोपमा अरू चार जना पक्राउ परेका थिए । उनीहरूविरूद्ध असार २२ गते प्रहरीमा जाहेरी परेको थियो ।

स्थानीय हर्कबहादुर शाहीसहित दुई जनाले उनीहरूविरूद्ध ‘डाँका चोरी’ गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । असार २४ गते प्रहरीले अदालतमा मुद्दा दर्ता गराएको थियो ।

वडाध्यक्ष विष्टको नेतृत्वमा साढे ६ लाख रुपैयाँ लुटेको आरोप उपभोक्ता समितिले लगाएको थियो । वडाभित्र पर्ने खोर्के खोलामा तटबन्धन बनाउने उपभोक्ता समितिबाट असार २१ रकम लुटेर लिएको आरोप उनीमाथि छ । घटनापछि विष्टलाई नगर कार्यपालिकाले निलम्बन समेत गरिसकेको छ ।

  • २२ श्रावण २०८०, सोमबार ०९:२० प्रकाशित
  • Nabintech