२३ बैशाख २०८१, आईतवार
सुशासनका पक्षमा भएका पछिल्ला प्रयासले जनतामा नयाँ रक्तसञ्चार भएको छः प्रधानमन्त्री प्रचण्ड
  • काँचुली खबर

१४ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको बताएका छन । वाम बुद्धिजीवी माधव मरहठ्ठाको जीवनीमा आधारित ‘‘माधव सर’’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन। उनले भने, ‘पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको छ । यसले नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग आधार खडा भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा क्रियाशील भइरहेको बताए ।

सम्बोधनको पूर्णपाठः

माधव प्रसाद मरहठ्ठा स्मृति फाउन्डेसनका अध्यक्षज्यू,
कार्यक्रममा उपस्थित नेतागण,
प्रतिष्ठानका पदाधिकारीज्यूहरू,
सञ्चारकर्मी मित्रहरू,
उपस्थित आदरणीय महानुभावहरू ।

नेपाली वामपन्थी आन्दोलनका अग्रज एवं शैक्षिक व्यक्तित्व कमरेड माधव प्रसाद मरहठ्ठाको जीवनीमा आधारित ‘‘माधव सर’’ पुस्तकको लोकार्पण गर्ने यस महत्वपूर्ण अवसरका निम्ति स्मृति प्रतिष्ठान र उहाँको परिवारजनमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । यस सन्दर्भमा माधव सरले नेपालको वामपन्थी आन्दोलन, शैक्षिक जगत र साहित्यिक क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।

आमा मुक्तकुमारी मरहठ्ठा र बुवा शेषरमण मरहठ्ठाको कोखबाट वि.सं. २०१० साल श्रावण १४ गते गोरखा नगरपालिका–७ मा जन्मिनुभएका माधव मरहठ्ठा नेपालको कम्युनिस्ट आन्दोलनका एक बौद्धिक व्यक्तित्व एवं राजनीतिक नेताहरूका गुरू हुनुहुन्थ्यो । नेपालको कम्युनिस्ट आन्दोलन एवं मुख्यतः गोरखामा कम्युनिस्ट विचारको बिजारोपण एवं पछिल्लो समय युग बदल्ने महान् जनयुद्धको तयारी, घोषणा, विकास र क्रान्तिको शान्तिपूर्ण रूपान्तरणको यात्रामा उहाँले जे-जति भूमिका खेल्नुभयो र योगदान गर्नुभयो, त्यो समकालीन राजनीतिक परिवर्तनका दृष्टिले मात्र नभएर विचार निर्माण र कम्युनिस्ट आन्दोलनको आउँदो पुस्ताका निम्तिसमेत अत्यन्तै महत्वपूर्ण र स्मरणीय छ ।

मरहठ्ठा सर बहुमुखी प्रतिभाका धनी हुनुहुन्थ्यो । वामपन्थी आन्दोलनमा निरन्तर सक्रिय रहँदै क्रान्तिकारी जनमत निर्माण र कम्युनिस्ट आन्दोलनको विकासमा महत्वपूर्ण योगदान गर्नुका साथै उहाँले साहित्य, शिक्षा, समाजसेवा र साहित्यका विविध विधामा आफूलाई स्थापित गर्दै समाजमा अतुलनीय योगदान गर्नुभएको छ । जनयुद्धको आधार इलाकाका रूपमा गोरखा जिल्लाको जुन पहिचान, छवि र योगदान स्थापित छ, त्यसका पछाडि मरहठ्ठा सरजस्ता बौद्धिक, जुझारू र क्रान्तिकारी योद्धाहरूको निष्ठा, त्याग, समर्पण र बौद्धिक सिर्जनशीलता अन्तरनिहित छ । यसर्थ, उहाँको भूमिका र योगदान परिवर्तनको आन्दोलन, शैक्षिक रूपान्तरण र प्रगतिशील संस्कृति निर्माणका दृष्टिले अमर रहने नै छ ।

प्रस्तुत पुस्तकमा माधव सरको जीवनी, योगदान र प्रेरणालाई बहुआयामबाट हेर्न खोजिएको पाउँदा म थप उत्साहित भएको छु । पुस्तकमा परिचय खण्ड, परिवारको दृष्टिमा, इष्टमित्रको दृष्टिमा, राजनीतिज्ञ र साथीभाइको दृष्टिमा र विद्यार्थीको दृष्टिमा माधव सरको व्यक्तित्वलाई विविध कोण र विश्लेषणका साथ चर्चा गरिएको छ, जसले उहाँको समग्र व्यक्तित्वको वास्तविक चित्र प्रस्तुत गर्दछ । यो पुस्तक माधव सरको जीवनी, व्यक्तित्व, शिक्षा र योगदानका दृष्टिले चीरकाल महत्वको रहने मैले विश्वास लिएको छु ।

वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा क्रियाशील भइरहेको छ । सरकार गठनको ७ महिनाको अवधिसम्म पुग्दा जे–जति मेहेनत गरिएको छ, त्यसबाट जे-जस्ता उपलब्धीहरू हासिल भएका छन्, त्यसले देश र जनताको पक्षमा इमान्दार भएर क्रियाशील रहँदा जस्तासुकै चुनौती छिचोलेर सफलता प्राप्त गर्न सकिन्छ भन्ने प्रमाणित गर्दछ । पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा महत्वपूर्ण प्रयासहरू गरिएका छन्, यसले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको छ, नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग आधार खडा भएको छ । यस सन्दर्भमा म सरकारको भ्रष्टाचारविरोधी अभियानमा दृढतापूर्वक साथ र सहयोग एवं ऐक्यवद्धता व्यक्त गर्नुहुने आम जनसमुदायमा हार्दिक आभारसमेत प्रकट गर्दछु ।

अन्त्यमा, माधव सरको जीवनीमा आधारित महत्वपूर्ण पुस्तक प्रकाशनका निम्ति माधव प्रसाद मरहठ्ठा स्मृति फाउन्डेसनप्रति आभार प्रकट गर्दै उहाँको व्यक्तित्वमाथि विविध कोणबाट समीक्षा र विश्लेषण गर्नुहुने समस्त लेखकहरूमा धन्यवाद भन्न चाहन्छु । र, माधव सरको जीवनी र निष्ठावान् एवं उर्जाशील कर्मबाट हामी सबैमा सकारात्मक उर्जा र प्रेरणा प्राप्त हुने विश्वासका साथ फेरि एकपटक उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै विदा हुन्छु, धन्यवाद ।

  • १४ श्रावण २०८०, आईतवार १४:२४ प्रकाशित
  • Nabintech