१६ बैशाख २०८१, आईतवार
लोकतान्त्रिक प्यानलको घरदैलो अभियान : “जनताको घरमा पानी पुर्याउँछौं”
  • काँचुली खबर

८ साउन, काेहलपुर । बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाको साउन १२ गते हुन गईरहेको निर्वाचनका लागि लोकतान्त्रिक प्यानलले घरदैलो अभियानलाई तिव्रता दिएको छ । कोहलपुर नगरपालिका वडा नं. १ मा सोमबार खानेपानी उपभोक्ताहरुसँग भेटघाट गर्दै जनताको घरमा पानी सहज रुपमा पुर्याउने प्रतिवद्धताहरु जनाईएको छ ।

लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदका उम्मेदवार टेक नारायण भुषालले स्वच्छ खानेपानी बिना अवरोध नियमित संचालन गर्नका लागि आफ्नो टिमलाईनिर्वाचित गराईदिन अनुरोध गरेका छ । “कोहलपुर नगरपालिकामा बसोवास गर्ने आम उपभोक्ताहरुको लागि शुद्ध, सफा र प्रशोधित पानी सहज रुपमा उपलब्ध गराउने व्यवस्था गरिनेछ” उनले भने “खानेपानी सम्बन्धी पानीको शुद्धता, प्रयोग, चुहावट र यसको आवश्यक व्यवस्थापनका लागि जनताको साथ आवश्यक छ ।”

कोहलपुर नगरपालिका वडा नं. १ का सम्पूर्ण जनतालाई छिट्टै शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ आफ्नो टिम लाग्ने प्रतिवद्धता समेत भुषालले गरेका छन् ।

साथै खानेपानी संस्थालाई पारदर्शि, जवाफदेहि बनाउनका लागि लोकतान्त्रिक प्यालनलाई मतदान गर्न लोकतान्त्रिक प्यालनबाट सचिव पदका उम्मेद्वार गोविन्द वाग्लले बताएका छन् । कोहलपुर नगरभित्रका बिरामी, अशक्त, नाबालक, विद्यार्थी, जेष्ठ नागरिक एवम् बटुवाहरुको लागि सार्वजनिक स्थलमा धारा जडान गरी निःशुल्क पानीको व्यवस्था गर्ने लक्ष्य रहेको समेत बताएका छन् ।

साथै विगतमा भएको आर्थिक अनियमिततालाई छानविन गरी प्रतिवेदनमा दोषी ठहरिएकालाई कारवाही गरिने, धारा जडान भएका तर पानीको उपभोग नगरेर पनि विल उठेका उपभोक्ताको लागि स्थलगत अनुगमन गरी विल मिनाहा गरिने, बाटोको दुबैतर्फ पाइप लाइन विस्तार गरिनुका साथै प्रत्येक ३/३ सय मिटरमा कन्ट्रोलप्लेस राखिने तथा कुनै कारणबस पानीको आपुर्ति अवरुद्ध हुने भएमा उपभोक्तालाई विद्युतीय माध्यमबाट अग्रिम जानकारी गराउने प्रणलीको विकास गरिने जस्ता प्रतिवद्धता सहित लोकतान्त्रिक प्यालनले उपभोक्ता अभियानलाई तिव्रता दिएको छ ।

  • ८ श्रावण २०८०, सोमबार १३:०६ प्रकाशित
  • Nabintech