१२ बैशाख २०८१, बुधबार
आज साउने संक्रान्ति पर्व मनाईंदै
  • काँचुली खबर

काठमाडौं – आज साउने संक्रान्ति पर्व मनाईंदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कट रेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कृषि प्रधान देशमा मानु खाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने चलन छ । असारे हिलोका कारण फैलिन सक्ने रोगबाट जोगिन लुतो फाल्ने उद्धेश्यले यो पर्व मनाउन थालिएको हो ।

आज कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलहरु चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नले दाद, लुतो, खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिने विश्वास गरिन्छ । कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी लगायतका औषधीय वनस्पतिहरु बालेर बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टोबाट लुतो फ्याँक्ने चलन छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ ।

  • १ श्रावण २०७५, मंगलवार ०८:४० प्रकाशित
  • Nabintech