१० मंसिर २०७९, शनिबार
शहरीया रक्सीले बिग्रिए राउटे, भाँडा बनाउने औजार बेचेर मदिराको जोहो !
  • काँचुली खबर

केही वर्षअघिसम्म राउटे समुदाय अरुले छोएको पानी पनि पिउँदैनथ्यो । पैसा छोए पाप लाग्छ भन्ने मान्यता बोकेको राउटे समुदाय आफूले बनाएका काठका भाँडाकुँडासँग अन्न साट्थ्यो ।

राउटे समुदायका महिलाहरू काठका भाँडासँग साटेर ल्याएको अन्न काठकै भाँडामा कुट्ने गर्दथे । यसरी राउटे समूदायका परिवारको गुजरा चल्थ्यो ।

अहिले अवस्था फेरिएको छ । नेपालमा चलेको सशस्त्र द्वन्द्वले राउटे समुदायलाई पनि छोयो । उनीहरू मानव वस्ती नजिकैका जंगलमा बस्थ थाले । सरकारले फिरन्ते स्वभावका राउटेको स्थायी बसोबास गराउने नै नीति लिएर कार्यान्वयन गरिरहेको छ ।

राउटे समुदायले जंगल छाडेपछि उनीहरुमा नकारात्मक प्रभाव र कुलत देखिन थालेको छ । राउटे समुदायका महिला र बालबालिकामा नै मदिरा र सूर्तिको कुलत देखिन थालेको छ । राउटे समुदायका युवा मात्रै होइन, बालबालिका, महिला र बृद्धबृद्धा पनि जाँडरक्सी सेवन गर्छन् । काठको भाँडा बनाउन प्रयोग हुने औजार बिक्री गरेर समेत राउटे समुदायका व्यक्तिले मदिरा सेवन गर्न थालेका छन् ।

‘पैसा हुँदासम्म किनेर खान्छन्, नभए मागेर खान्छन्, त्यो पनि नभए काठका भाँडा बनाउन प्रयोग गरिने औजार बिक्री गरेर पनि मदिरा सेवन गर्छन्,’ राउटे समुदायसँग विगत १० वर्षदेखि काम गर्दै आएको समृद्ध मध्यपश्चिम अभियानका अभियन्ता नगेन्द्र उपाध्यायले भने, ‘उनीहरूलाई सुधार्न सामूहिक प्रयासको खाँचो छ ।’

फिरन्ते जातिको रुपमा चिनिँदै आएको राउटे समुदाय स्थायी परिचयपत्र पाएसँगै कुलतमा फसेको छ । यतिसम्म कि राउटे महिलाले समेत पछिल्लो समयमा मदिरा सेवन गर्न थालेका पाइएको हो । ‘पहिले हामी आफैं चामलको बनाएर खान्थ्यौं,’ राउटेका मुखिया सुर्यनारायण शाहीले भने, ‘अहिले हामी बजारको खाने गरेका छौं ।’ उनले आफूले मदिरा सेवन गर्ने वा नगर्ने भन्ने विषयमा आफ्नो समुदायका व्यक्तिलाई केही पनि नभनेको बताए । ‘मैले अहिलेसम्म कसैलाई मदिरा सेवन नगर भनेर भनेको छैन । मदिरा सेवन गर्ने हाम्रो पुरानै चलन हो,’ उनले भने, ‘तर, पहिलेको तुलनामा अहिले बजारको मदिरा खान सिकेका छौं ।’

विगत लामो समयदेखि राउटे समुदायलाई रुपान्तरण गर्न भूमिका खेल्दै आएको सामाजिक सेवा केन्द्र ९सोसेक०का संस्थापक अध्यक्ष हिरासिंह थापा सबैभन्दा पहिला उनीहरूसँग घुलमिल हुन आवश्यक रहेको बताउँछन् । त्यसका लागि संस्थाले विभिन्न कोणबाट राउटे समुदायसँग मिलेर काम गर्ने उनको भनाइ छ ।

‘उनीहरूका भाँडा–कुँडा समेत आफैंले किन्ने र उनीहरूलाई बजार आउन नदिए उनीहरू आफै सुध्रिन्छन्,’ उनले भने, ‘त्यसो गर्न सके उनीहरूको संस्कार पनि जोगिने र राउटे समुदाय पनि कुलतबाट बच्ने मेरो अपेक्षा हो ।’ विभिन्न जनचेतनामूलक भिडियोहरू राउटे वस्तीमा देखाउने संस्थाको योजना रहेको उनले बताए ।

गत शनिवार स्थायी परिचयपत्र वितरण गरेको गुराँस गाउँपालिकाका अध्यक्ष खेमबहादुर वलीले आफूहरूले राउटे समुदायलाई सामाजिकीकरण गर्न खोजेको बताए । ‘सबैभन्दा पहिला हामी उनीहरूलाई एकै ठाउँमा सुरक्षित तरिकाले बसाल्ने योजनामा छौं । उनीहरूको मनोवृत्तिलाई रुपान्तरण गर्न गाउँपालिकाले १ अहेब सहित ३ जना परिचालन गरेको छ,’ उनले भने, ‘उहाँहरूको प्रतिक्रिया अनुसार गाउँपालिका अघि बढ्छ ।’

राउटे समुदायमा विकृति र विसंगति भित्रिएको बताउँदै त्यसलाई विस्तारै कम गर्दै लैजाने आफ्नो योजना रहेको उनले जानकारी दिए । ‘म अहिल्यै सबैकुरा गर्न सकिन्छ भनेर भन्न सक्दिन । उनीहरू कुलतमा फसेका छन्,’ उनले भने, ‘तर, एकाध वर्षमा राउटेको आनीबानीमा परिवर्तन गराउने मेरो योजना छ ।’

शनिबार दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र वितरण गरेको छ । सामाजिक सेवा केन्द्र ९सोसेक० को निमन्त्रणामा परिचयपत्र वितरण कार्यक्रममा कान्तिपुर दैनिकका कर्णाली व्यूरो प्रमुख कलेन्द्र सेजुवाल, नागरिक दैनिकका ब्यूरो प्रमुख नगेन्द्र उपाध्याय, पत्रकार प्रकाश पन्त र सीता वलीसहित दैलेखको गोर्चेस्थित पातलेखोला पुगेका थिए ।

कार्यक्रममा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव गिरिजा शर्मा, दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश न्यौपाने, गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीसहित दैलेख र सुर्खेतमा क्रियाशील पत्रकारको बाक्लो उपस्थिति थियो ।

परिचयपत्रभन्दा पैसा र चामलमा ध्यान !

राउटे वस्तीमा बाहिरबाट आएका व्यक्तिसँग पैसा माग्ने प्रचलन समेत बढ्दै गएको देखिन्छ । राउटे वस्तीमा दाउरा चिर्दै गरेको भेटिएका धीरेन्द्र शाहीले भने, ‘मलाई परिचयपत्र होइन, पैसा र चामल चाहियो ।’ सरकारले बाँड्ने परिचयपत्रभन्दा पैसा र चामलमा राउटे समुदायका व्यक्तिको आकर्षण देखिन्थ्यो । राउटे समुदायका व्यक्तिले मुखिया डिलबहादुर शाहीको अनुमतिमा मात्रै परिचयपत्र बुझ्ने बताएका थिए । तर, उनीहरू अनुमति नलिएरै जाँड–रक्सी र सुर्ति प्रयोग गरिरहेका छन् ।

सामाजिक विकास मन्त्रालयका सचिव गिरिजा शर्माले महामुखिया महिनबहादुर शाहीलाई परिचयपत्र वितरण गर्न खोज्दा शाही हच्किएका थिए । उनले आफूलाई चामल र पैसाको अभाव भएको बताउँदै परिचयपत्र लिन ढिलाइ गरे । तर, सबैको करकाप र अनुरोधमा उनले आफ्नो परिवार सहितको परिचयपत्र बुझेका थिए ।

राउटे एकै ठाउँमा बस्लान् ?

परिचयपत्र वितरण गर्ने कार्यक्रम भए पनि राउटेहरू एकै ठाउँ बस्लान् त भन्ने प्रश्न खडा भएको छ । ‘वस्तीमा कोही आफन्त बिते भने पूरै वस्ती खाली गरी हिँड्ने समुदाय राउटे भएकाले एकै ठाउँमा बस्लान् भन्ने मलाई लाग्दैन,’ अधिवक्ता दुर्गा सापकोटा भन्छन्, ‘यदि त्यसरी बसाल्न सके त अत्यन्तै राम्रो हुने थियो ।’ उनले गाउँपालिकाले परिचयपत्र दिएर राम्रो काम गरेको प्रतिक्रिया दिए ।

स्थानीय पत्रकार दिपेन्द्र ओलीले गाउँपालिकाले परिचयपत्र वितरण गरेर गज्जबको कार्य गरेको प्रतिक्रिया दिए । ‘उनीहरू सधैं सोही ठाउँमा बस्लान् भन्ने लागेको छैन,’ उनले भने ।

स्वास्थ्यप्रति वेवास्ता

राउटे वस्तीमा पुग्दा अन्दाजी ३ वर्षीय बालकको शरीर असाध्यै कमजोर रहेको देखियो । खुट्टा साह्रै दुब्लाएका उनी राम्रोसँग हिँड्न नसक्नेजस्ता देखिन्थें । १ जना गर्भवती महिला पातलो कम्बल ओच्छ्याएर पल्टिरहेकी थिइन् ।

राउटे वस्तीमा विभिन्न दातृ निकाय, गैरसरकारी संस्थाहरू जाने, मदिरा, चुरोट र सूर्तिका फोटो खिचेबापत रकम दिने प्रवृत्ति हावी भएका कारण उनीहरूको अवस्था झन् चिन्ताजनक बन्दै गएको छ । आजकल उनीहरूसँग फोटो खिचायो कि पहिले पैसा माग्ने गर्छन् । उनीहरू त्यो पैसा पौष्टिक आहारका लागि खर्च गर्दैनन्, बरु त्यो पैसा मदिरापानमा उडाउँछन् ।

 

स्रोत : लोकान्तर

  • ३२ असार २०७५, सोमबार २०:५९ प्रकाशित
  • Nabintech