८ बैशाख २०८१, शनिबार
कारबाहीमा परे प्रचण्डका घरबेटी
  • काँचुली खबर

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीलाई सरकारी दण्ड सजाय भएको छ ।

भक्तपुरको कमलविनायक-नगरकोट सडक निर्माण आयोजनाको ठेक्का लिएका अधिकारीले सम्झौता अनुसार काम नगरेपछि कारबाहीमा परेका हुन् । तोकिएको समयासीमाभित्र निर्माण कार्य सम्पन्न नगरेका शैलुङ कन्स्ट्रक्सन कम्पनीका मालिक अधिकारीलाई सरकारले जरीवाना तिराएर एक महिनाभित्र निर्माण सक्न निर्देशन दिएको छ ।

खुमलटारस्थित दाहाल निवासका मालिक अधिकारीको कन्स्ट्रक्सन कम्पनीले भक्तपुरको कमलबिनायक-नगरकोट सडक निर्माणको जिम्मा पाएको थियो । पूर्वनिर्धारित समयमा काम सम्पन्न नगरेपछि गत साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अधिकारीलाई जरीवाना तिराएको थियो । अधिकारीलाई योजनाको कुल रकमको ०.०५ प्रतिशतका दरले दैनिक १ लाख ५० हजार रूपैयाँ जरिवाना तिर्ने सर्तमा काम सम्पन्न गर्न सहमति दिएको छ ।

मन्त्रालय स्रोतका अनुसार, असारको अन्तिम सातामा आएर ठेकेदार अधिकारीको कम्पनीले उक्त सडक निर्माण कार्यमा विलम्ब गरेवापत एकमुष्ट ७ लाख रुपैयाँ सरकारलाई जरीवाना बुझाएपछि मन्त्रालयले दैनिक १ लाख ५० हजार जरिवाना बुझाउने गरी एक महिनाको समयसीमा दिएको छ ।

सरकारले जरिवानासहित समय थप गरेपछि अहिले उक्त कम्पनीले निर्माण कार्य सुरू गर्न थालेको छ । भारतको एक्जिम बैठकको सहयोगमा नेपाल सरकारले निर्माण गर्न लागेको उक्त परियोजनाको कुल लागत करिब ३० करोड रुपैयाँ छ ।

अब एक महिनाभित्र काम सम्पन्न गरेमा अब उक्त कम्पनीले सरकारलाई ४५ लाख रूपैयाँ जरीवाना बुझाउनु पर्नेछ ।

गृहमन्त्री रामबहादुर थापाले भौतिक पूर्वाधार विकास आयोजनाहरू समयमा सम्पन्न नगर्ने ठेकेदार तथा उनीहरूका निर्माण कम्पनीमाथि कारबाहीको धम्की दिएलगत्तै अधिकारीले दाहालसमक्ष गृहमन्त्री थापाविरुद्ध गुनासो गरेका थिए ।

अधिकारीको गुनासोपछि अध्यक्ष दाहालले गृहमन्त्री थापालाई बोलाएर निर्माण व्यवसायीहरुलाई अनावश्यक ढंगले धम्क्याएर तनाव नदिन दवाव दिएको स्रोतको दाबी छ ।

भक्तपुर जिल्ला प्रशासन कार्यालयले जेठ २३ गते अधिकारीको उक्त कम्पनीसहित ६ वटा कम्पनीले भक्तपुरका ९ वटा सडक आयोजना समयमा सम्पन्न नगरेको भन्दै गृह मन्त्रालयमा निर्माण कम्पनीको नाम तथा उनीहरुले अधुरो राखेका निर्माण आयोजनाको विवरणसहितको रिपोर्ट बुझाएको थियो ।

पूर्वनिर्धारित समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीमा सूर्यविनायक ७ गुण्डुका निर्माण व्यवसायी दीपक राना मगरले लिएका तीन आयोजना अधुरा थिए ।

रानाको नाममा रहेको लोहनी एण्ड ब्रदर्श लालीगुराँस निर्माण सेवा जभीले चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण, कमलविनायक बसपार्क-भत्केपाटी सडक आयोजना र पेप्सीकोला-सल्लाघारी, भक्तपुर-नगरकोट, व्यासी९सल्लाघारी दरबार स्क्वायर सडक आयोजन समयमा सम्पन्न नगरेको विवरण गृहमा पुगेको थियो ।

भीमसेन भण्डारीको सुनौलो खिम्ती कन्स्ट्रक्सनले लोकन्थली हेल्थपोष्ट-रमाइलो चोक चाइल्ड नेचर स्कूलसम्मको सडक र हनुमन्ते खेला-अरनिको राजमार्ग वप्पा पाटी विहार-बहाखाबजार सडक निर्माणको जिम्मा लिएर पनि दुई योजना अधुरा राखेको छ ।

धापाखेलका सञ्जीव शाहको शाह इन्जिनियरिङ कन्स्ट्रक्सन प्रा९लि०दुवाकोट स्वास्थ्यचौकी भवन निर्माण, मनोहरा पुल-इन्द्रायणी-साँखु सडक योजनाका लामा बिल्डर्स-साल्पा शेर्पा-जयबाबा गोरखा जेभीका श्यामकुमार श्रेष्ठ, ठिमी चारदोबाटो–बालकोट चोकअन्तर्गत वर्ल्डवाइड-विष्णु जेभी काठमाडौंका विष्णु लामा, कमलविनायक-नगरकोट सडक निर्माणअन्तर्गत शैलुङ्ग कन्स्ट्रक्सनका शारदा अधिकारीलाई पनि जिप्रकाले समयमा काम सम्पन्न नगर्ने व्यवसायीको सूचीमा राखी मन्त्रालयमा पठाएको थियो ।

 

स्रोत : दैनिक नेपाल

  • ३२ असार २०७५, सोमबार २०:१९ प्रकाशित
  • Nabintech