११ बैशाख २०८१, मंगलवार
‘बाह्र क्विन्टल शंखेकीरा संकलन’
  • काँचुली खबर

सल्यानको एउटै गाउँमा १२ क्विन्टल शंखेकीरा संकलन गरिएको छ । जिल्लाको शारदा नगरपालिका-६ बरलामा एउटै गाउँमा १२ क्विन्टल चार किलो शंखेकीरा संकलन गरिएको हो । जाइन्ट अफ्रिकन स्नेल अर्थात् ठूलो आकारको शंखेकीराले किसानले लगाएको तरकारीबाली, धानबाली, मकैबाली आदिमा क्षति पु¥याउन थालेपछि स्थानीय सरकारको पहलमा बरलाको करीब २०देखि २५ हेक्टरमा रहेको शंखेकीरा नियन्त्रण गर्न शुरु गरिएको हो ।

एक किलो शंखे कीरा संकलन गरेबापत रु ५० दिएर कीरा संकलन गरिएको हो । शारदा नगरपालिकाको आर्थिक सहयोगमा संकलन गरिएको कीरामा आयोडिन नून छर्केर राखिएको छ । आयोडिन नूनले नै उक्त कीरा मर्ने भएकाले यस्तो गरिएको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत अम्मरराज घिमिरेले बताए ।
ठूलो आकारको शंखेकीरा नेपालमा पहिले नभएको तर पछिल्लो समय विभिन्न खानेपानीका योजनाअनुसार ठूला पाइपहरु विदेशबाट भित्र्याउँदा पाइपभित्र कीरा पसेर आएको हुन सक्ने घिमिरेले बताए । यो कीराले भोलिका दिनमा ठूलो क्षति गर्ने भएकाले यसलाई समयमै नष्ट गर्नुपर्ने उहाँको भनाइ छ । चिसो समयमा शंखेकीरा जमिनमुनि लुक्ने र गर्मी याममा बाहिर निस्कने गर्दछ ।

यो कीराले एक पटकमा एक हजार ६०० अण्डा पार्ने भएकाले व्यापक फैलने र यसले जुनसुकै अन्नबाली पनि उम्रनेबित्तिकै नष्ट गर्ने घिमिरेको भनाइ छ । यसरी जिल्लाका अन्य गाउँ ठाउँमा शंखेकीरा देखिएमा तत्काल सामूहिक रूपमा नष्ट गर्न पनि उनले अन्य किसानलाई आग्रह गरे ।

यो पटक उक्त १२ क्विन्टल कीरा समात्न र नष्ट गर्न लगायतको खर्च करीब रु ७० हजार जति लाग्ने सानपा-६ का वडाध्यक्ष भीकराज बुढाथोकीले बताउनुभयो । कीरा मार्ने अभियान यो पहिलो चरणको भएकाले फेरि दोस्रो चरणमा पनि अभियान चलाउने अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

संकलन गरेको कीरा सबै मरे पनि एक दुई दिनभित्र खाडल खनेर गाड्ने बुढाथोकीले जानकारी दिए । गत वर्षदेखि देखा परेको यो कीराले यो वर्ष किसानको बालीनालीमा धेरै क्षति पु¥याएको उनको भनाइ छ ।

आफूले बारीमा लगाएको करीब ६० हजारबराबरको तरकारी शंखेकीराले नष्ट गरिदिएको स्थानीय किसान भीमबहादुर बुढाथोकीले बताए । “कीरा मार्न अनेकौँ प्रयास गरियो तर सफल भइएन, यो कीराले कुनै पनि तरकारी बाली काट्न छोडेन । यतिमात्रै संकलन गरेर शंखेकीरा नष्ट हुँदैन यो अभियान चलाएर नष्ट गर्नुपर्छ”, बुढाथोकीले भने ।

  • ३१ असार २०७५, आईतवार १९:५४ प्रकाशित
  • Nabintech