६ चैत्र २०८०, मंगलवार
सुर्खेतका सहकारी सञ्चालक भाग्न थालेपछि बचतकर्ताको बिचल्ली
  • काँचुली खबर

३ चैत्र, सुर्खेत । वीरेन्द्रनगरको सिटी बसपार्कको दक्षिणतर्फ रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बुधबार दिउँसो कालिकोट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-८ बस्दै आएका भरत बम भेटिए । चैत १ गतेदेखि सहकारी खुल्ने भन्ने कुरा थाहा पाएपछि उनी त्यहाँ पुगेका रहेछन् । तर सहकारीको गेटमा ताला ठोकिएको थियो ।

आफूले बचत गरेको रकम निकाल्न गएका उनी सहकारी खुल्ने आशमा बसिरहेका थिए । ‘पाँच लाखभन्दा बढी रकम सहकारीमा बचत गरेको थिएँ,’ उनले रातोपाटीसँग भने, ‘मेरो दाइको पनि लाखौँ रकम बचत छ, आज सहकारी खुल्छ कि भनेर आएको, बन्द रहेछ ।’

भरतका अनुसार सुरुमा फागुन तेस्रो हप्तादेखि सहकारी सञ्चालन गर्ने भनिएको थियो, तर खुलेन । त्यसपछि चैत १ गतेबाट खुल्ने भनिएको तर अझै नखुलेका कारण बचतकर्ताहरु आफ्नो रकम फिर्ता नहुने हो कि होइन भन्ने चिन्तामा छट्पटिँदै दिनदिनै सहकारी धाउने गरेका छन् ।

शिव शिखर राजधानी वीरेन्द्रनगरकै सबैभन्दा ठुलो सहकारीका रुपमा कहलिन्छ । यो सहकारीले अन्य प्रदेशका विभिन्न ठाउँमा पनि बचतकर्ताको रकम फिर्ता नगरेको भन्दै समाचारहरु आइरहेका छन् । यता सुर्खेत शाखाले पनि बचतकर्ताको करोडौँ रकम लिएर सम्पर्कविहीन बनेको छ ।

वीरेन्द्रनगर नगरपालिका–२ का सुशील खड्काले १ लाख ६१ हजार २०० रकम बचत गरेका थिए । बारम्बार सहकारीमा धाउँदासमेत उनले रकम फिर्ता पाएनन् । खड्का र बममात्र होइन यो सहकारीमा करिब ७ हजार बचतकर्ता छन् । सुर्खेत शाखाले ७ किसिमका बचत खातामा कारोबार गर्ने गरेको बताइएको छ ।

बम भन्छन्, ‘हामीलाई साँवा रकम नै पाउन मुस्किल हुने भयो ।’ यो सहकारीमा थुप्रै खालका प्रलोभन दिएर बचतकर्तालाई सुरुमा बचतका लागि प्रोत्साहन गरिएको थियो । ‘पाँच वर्षसम्म २ लाख बचत गरेको खण्डमा राम्रो बोनस दिने पनि भनिएको थियो,’ बन भन्छन्, ‘अहिले त साँवा रकम पनि पाउन मुस्किल भयो !’

यो कार्यालयमा कार्यालय प्रमुख बाहेक अधिकांश कर्मचारी महिलामात्रै थिए । कार्यालय प्रमुख चन्दन थापा सुरुमा स्कुटी चढ्ने गर्थे तर पछि बुलेट बाइक र पछिल्लो समय कार चढ्ने गरेको बम बताउँछन् ।

सञ्चालक थापा १५ फागुनदेखि सहकारीमा ताला ठोकेर सम्पर्कविहीन छन् । असुरक्षा र आर्थिक मन्दीको कारण देखाएर सूचना जारी गरी उनी सम्पर्कविहीन बनेका हुन् ।

‘हाल देशमा चलिरहेको आर्थिक मन्दीका कारण सम्पूर्ण संघ संस्थाहरुले मार खेपिरहेको वर्तमान अवस्थामा आर्थिक तरलताको चपेटामा सञ्चालित शिव शिखरको सुर्खेत शाखमा पनि प्रभाव परेको हुँदा यस सहरकारीले पुँजी व्यवस्थापन नभएसम्म कार्यालयको सेवामा केही कठिनाइ भएको हुँदा सहकारीद्वारा सञ्चालित मार्ट स्टोरमा सेवाग्राहीले लुटपाट गर्ने तथा कर्मचारीमाथि हातपात एवं अङ्गभङ्ंग गरिदिने लगायतका धम्की आइरहेकाले स्टोरलाई केही दिनका लागि बन्द गरिएको जानकारी गराउँदछौँ,’ कार्यालयको ढोकामा टाँगिएको सूचनामा भनिएको छ ।

त्यस यता सञ्चालक थापा बचतकर्ताको सम्पर्कमा छैनन् । रातोपाटीले पटक-पटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

सहकारी बन्द हुनुभन्दा एक महिना अघिदेखि नै बचतकर्ताहरु चेक बोकेर कार्यालय पुग्ने गरेका थिए । तर सहकारी सञ्चालकले अनेक बहाना बनाएर रकम फिर्ता गर्न आलटाल गर्दै अन्तिममा आएर असुरक्षाको कारण देखाएर फरार बने ।

शिव शिखरमात्र होइन, वीरेन्द्रनगर नगरपालिका-६ मा रहेको श्री नागरिक बहुउद्देश्यीय सहकारी संस्था, शिलादेवी कृषि सहकारी संस्था लिमिटेड र सोही वडामा रहेको कालिका लघुवित्त सहकारीका सञ्चालक पनि बचतकर्ताहरुको रकम फिर्ता नगरी कार्यालयमा ताला ठोकेर सम्पर्कविहीन बनेका छन् ।

केही दिनअघि सहकारी सञ्चालक करोडौँ रकम लिएर फरार भएको सूचना पाएपछि सोही वडाका हेमराज ओली नागरिक बहुउद्देश्यीय सहकारीको कार्यालयमा पुगेका थिए । तर कार्यालयमा ताला लगाइएको थियो ।

मंगलबार सहकारी बाहिर बचतकर्ताहरुको भिड नै लाग्यो । ओलीले सहकारीमा साढे ११ हजार रुपैयाँ बचत गरेका थिए ।

कालिका लघुवित्त सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको भन्दै नेकपा बहुमतले कार्यालयमा ब्यानर टाँगेर विरोध जनाएको छ । उक्त व्यानरमा भनिएको छ, ‘लघु वित्तीय संस्था खारेज गर, जनताको सम्पत्ति फिर्ता गर, पीडितको ऋण मिनाह गर ।’

तर लघुवित्त भने बन्द छ । रातोपाटीले सो लघुवित्तका सञ्चालकलाई खोज्ने प्रयास गर्दा पनि सम्पर्क गर्न सकिएन ।

कानुन विपरीत शिव शिखरको लगानी

शिव शिखर सहकारीले कानुन विपरीत विभिन्न ठाउँमा लगानी गरेको पाइएको छ । उसले बचत रकम विभिन्न उद्योग, कृषि, जग्गा कारोबार, मार्ट लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ, जुन कानुन विपरीत हो ।

सहकारी संस्थाले बचत रकम सदस्यबीच ऋण लगानी, सरकारले जारी गरेको ऋणपत्र वा नेपाल राष्ट्र बैंकले जारी गरेको ट्रेजरी बिल खरिद गर्नबाहेक अचल सम्पत्ति खरिद, पूर्वाधार निर्माण, कारोबारमा लगानी, फर्म वा कम्पनी वा कुनै बैंकको शेयर खरिद वा अन्य कुनै प्रयोजनमा उपयोग गर्न नमिल्ने उल्लेख छ । सुर्खेत शाखाले ४-५ करोडसम्म ऋण लगानी गरेको बताइएको छ ।

सहकारीको अचल सम्पत्ति रहेको तर हिजोआज किनबेच समेत हुन नसकेकाले बचतकर्ताको रकम फिर्ता गर्न समस्या भएको सञ्चालक चन्दन थापाले बताउँदै आएका थिए ।

रातोपाटीबाट

  • ३ चैत्र २०७९, शुक्रबार १६:५१ प्रकाशित
  • Nabintech