७ बैशाख २०८१, शुक्रबार
रेखा शर्मासहित गठबन्धनलाई जिताउन दाङमा उर्लियो महिला महासागर
  • काँचुली खबर

कार्तिक १, दाङ । यसपटक खासै चुनावको रौनक आएन । न जुलुस न कार्यक्रम । चुनाव आए जस्तो पनि लागिरहेको छैन भन्दै घोराही बजारका मान्छेहरु आपसमा यस्तै कुरा गरिरहेका भेटिन्थे ।

बुधबार दिउँसो घोराही बजारमा हजारौं महिलाहरुको जुलुस उर्लिएपछि बजारबासीहरु छक्क परे । गठबन्धनमा आबद्ध दलका चुनाव चिन्ह, झण्डा बोकेका हजारौं महिला नाराजुलुस, झाँकीसहित बजारमा उर्लिएपछि साँच्चै चुनावको रौनक बढाइदियो ।

घोराहीमा गठबन्धनका उम्मेदवारहरुको पक्षमा उर्लिएको महिलाको विशाल जुलुसले चुनावी माहोल मात्र ल्याएन, चुनाव कस्ले जित्छ भन्ने प्रश्नको पनि उत्तर दिएको दाङबासीले बताउन थालेका छन् ।

गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार माओवादी केन्द्रका नेता रेखा शर्मा र प्रदेश सभा सदस्यका उम्मेदवारद्वय काँग्रेस नेता राजु खनाल र प्रचण्डविक्रम न्यौपानेको पक्षमा महिलाको मात्र ¥यालीले जीत सुनिश्चित गरेको छ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नं. २ मा गठबन्धनका उम्मेदवारहरुको समर्थनमा महिलाले उत्साहजक सहभागिता जनाएका छन्। क्षेत्र नं. २ महिला परिचालन समितिको आयोजनामा भएको बुधवार घोराहीमा भएको कार्यक्रममा महिलाहरुको उत्साहजनक सहभागिता रहेको हो।

राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा तथा समृद्धिका लागि गठबन्धनको पक्षमा विभिन्न जातजातिको भेषभुषा तथा नृत्यसहित महिलाहरुले घोराहीमा बृह्त प्रदर्शन गरेका थिए।

घोराहीको ट्राफिक चोकबाट सुरु भएको बृह्त ¥याली गौतमनगर टोल, दुरसंचार, नयाँ बजार, सहिद लखन थापा पार्क, दामोदर चोक हुँदै तुलसीपुर चोकमा पुगेर सभामा परिणत भएको थियो।

सभालाई सम्बोधन गर्ने बक्ताहरुले महिलाहरुको बृहत् प्रदर्शनीले गठबन्धनलाई बिजय उन्मुख गराएको भन्दै मंसिर ४ गते मतदान गरेर बिजयको सुनिश्चित गर्न सहभागीहरुलाई आग्रह गरेका थिए। बक्ताहरुले निर्वाचन जित्नका लागि मात्रै अहिले पाँच दलीय गठबन्धन नबनेको भन्दै संसद विगठन गर्ने र जनताको उपलब्धिहरुलाई मास्न खोज्नेहरुका विरुद्धमा भएकाले मतदाताहरुलाई कही कतै नअल्मलाई गठबन्धनका पक्षमा मतदान गर्न अनुरोध गरेका थिए।

कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा दाङ क्षेत्र न २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रेखा शर्माले महिलाहरुको उत्साहजनक सहभागिताले गठबन्धनलाई विजय सुनिश्चित गरेको बताइन्। उम्मेदवार शर्माले घोराहीमा महिलाको विशाल प्रदर्शन राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षासँगै समृद्धिका लागि भएको समेत बताइन्।

‘घोराहीमा भएको महिलाहरुको यो विशाल प्रदर्शन राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षासँगै मुलकको समृद्धिका लागि हो’, उनले भनिन्, ‘त्यसका लागि स्थायी सरकार आवश्यक रहेको छ।’

त्यसैगरी शर्माले आफु संसद हुँदा महिला, जनजाति, थारु समुदायसँगै उत्पीडित दलित, मधेसी लगायतका समुदायको हकअधिकारका लागि लडेकाले अहिले त्यस्ता व्यक्तिहरुको समर्थन गठबन्धनलाई हुने बताएकी थिइन्।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति तथा क्षेत्र नं. २ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार राजु खनालले जनताका अधिकारको रक्षासँगै विकासका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए। प्रदेश सभा उम्मेदवार खनालले दाङको समृद्धिका लागि जोडिएको फोरलेन सडक विस्तारको काम एमाले उम्मेदवारकै कारण अलपत्र परेको आरोप लगाए।

‘आफै जनप्रतिनिधि, आफ्नै छोरालाई सडक निर्माणको ठेक्का पार्नले नै फोरलेन सडक विस्तारको काम रोकिएको हो’, उम्मेदवार खनालले भने,’ ‘काम अलपल पार्ने छोरा र संरक्षण गर्ने आफ्नै पार्टीको सरकार भएकाले दंगाली जनताले दुख पाएका हुन्।’

त्यसैगरी कार्यक्रममा क्षेत्र नं. २ (१) प्रदेश सभा सदस्य प्रचण्डविक्रम न्यौपानेले विकास, समृद्विसँगै युवालाई रोजगार, जनजाति, महिला, दलित, अल्पंख्यक लगायतका समुदायको अधिकारका गठबन्धनका लागि मतदान गर्न आग्रह गरे।

उनले त्यसका लागि अहिलेको निर्वाचन सुनौलो अवसर भएको बताए। ‘यो निर्वाचन समृद्धिसँगै युवा, महिला, बालबालिकाहरुको भविष्यसँग जोडिएको निर्वाचन हो’, उम्मेदवार न्यौपानेले भने, ‘मतदान गर्दा सोचेर आफुलाई मन परेको र केही गर्न सक्ने उम्मेदवारलाई मतदान गर्नुहोस्।’

उनले महिला दिदीबहिनीसँगै युवाहरुले मतदान गर्दा पसलमा तरकारी किन्दा राम्रो तरकारी छनोट गरेर जस्तै मतदान गर्दा पनि राम्रो र काम गर्न सक्ने उम्मेवारलाई छनोट गर्न आग्रह गरेका थिए।

कार्यक्रममा एकीकृत समाजवादी पार्टीनिकट महिला संगठनकी ससमती चौधरी, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सभा सदस्यका समानुपातिक उम्मेदवार कृष्णा राना लगायतले बोलेका थिए।

क्षेत्र नं. २ महिला परिचालन समितिका संयोजक तथा नेपाल महिला संघकी अध्यक्ष गोमा रावतको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण दिलकुमारी पुनले कार्यक्रमको सहजीकरण गरेकी थिइन्।

  • १ मंसिर २०७९, बिहीबार ०७:५८ प्रकाशित
  • Nabintech