८ बैशाख २०८१, शनिबार
खजुराको पुरानो विरासत फर्काउँछौं : राठौंर
  • काँचुली खबर

कात्तिक २८, खजुरा (बाँके) । नेपाली काँग्रेसका सह-महामन्त्री किशोर सिंह राठौरले बाँकेको पूरानो बजार खजुराको विरासत फर्काउने बताएका छन् । खजुरा गाउँपालिका वडा नं. ३ स्थित ‘क’ गाउँमा सोमबार आयोजित चुनावी सभामा बाँकेको क्षेत्र नम्बर ३ का बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार समेत रहेका नेता राठौरले बिमानस्थल सारिएपछि उपेक्षामा परेको खजुरा क्षेत्रको विरासत फर्काउने बताए ।

उम्मेदवार राठौंरले नेपालगन्ज-गुलरिया सडक चार लेनको बनाइने, मुख्य बजार क्षेत्रलाई अत्याधुनिक बजारीकरण गरिने, भित्री सडकहरु चौडा र स्तरीय बनाउने तथा मुख्य बजार भित्रका क्षेत्रलाई कृषिमा आधारित उद्यम क्षेत्रका रुपमा विकास गरिने बताए । सुशील कोइराला क्यान्सर अस्पतालको थप स्तरोन्नती, प्राविधिक विश्व विद्यालयको सञ्चालन, कपास विकास, कृषि अनुसन्धान जस्ता निकायको विकास एवं रोजगारी सिर्जनामा आफूले ध्यान दिने प्रतिवद्धता जनाए ।

सहमहामन्त्री राठौरले आफूले ४० वर्षदेखि पार्टी संगठन र विकासका लागि राजनीति गरेको तर नहुने काम हुन्छ भनेर कहिल्यै झुठो नबोलेको बताए । खजुरा क्षेत्रमा हुने विकासले बाँके र बर्दिया दुबै जिल्लाको विकास सम्भव हुने बताए ।

उक्त कार्यक्रममा प्रदेश सभा ३ (२) का उम्मेदवार एवं काँग्रेस नेता बादशा कुर्मीले लोकतान्त्रिक आन्दोलनका बेला जेलनेल खाएको र क्षेत्र नम्बर ३ को विकासमा लामो समयदेखि राजनीति गरेकाले आफूलाई प्रदेश सभामा विजयी गराउन आग्रह गरे ।

सो क्रममा खजुरा क्षेत्रका एमाले युवा नेता पिताम्बर लामिछाने, खजुरा युवा क्लबका अध्यक्ष राजु कोइराला, युवा व्यवसायी सुदीपजंग रुचाल, आकाश क्षेत्री सहितका युवाहरु काँग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई काँग्रेस सहमहामन्त्री राठौरले अबिर र माला लगाएर पार्टीको सदस्यता प्रदान गरे ।

  • २८ कार्तिक २०७९, सोमबार १८:११ प्रकाशित
  • Nabintech