१२ आश्विन २०७९, बुधबार
छिट्टै धनी हुन मान्छेले अपनाउने गलत ढंगले भ्रष्टाचार मौलायो : प्रचण्ड
  • काँचुली खबर

भाद्र ३०, काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै धनी हुन मान्छेले अपनाउने गलत ढंगले भ्रष्टाचार मौलाएको बताएका छन् । गलत ढंगले आर्जन गरेको सम्पत्तिले गलत परिणाम निकाल्ने भन्दै उनले आत्मसम्मानका साथ समाजमा बाँच्न जहिले पनि दिगो र पारदर्शी कामको बाटोमा अगाडि बढ्नुपर्ने बताएका छन् ।

बिहीबार नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्र र लोकतन्त्र परिवर्तनको प्रमुख वाहक हुनुको नाताले नेपालमा आर्थिक समृद्धिका क्रान्ति आवश्यक रहेको औल्याए । हामीसँग मानवीय जनशक्ति, प्राकृतिक स्रोत साधन हुँदाका बाबजुद पनि राजनीतिक समस्याका कारण मुलुकमा समस्या भएको औल्याएका छन् ।

राजनीतिक स्थायित्व र नेतृत्वको दृढ इच्छाशक्तिले मात्रै विकासलाई गति दिन सकिने उनको भनाइ थियो । अब गर्ने क्रान्ति भनेको आर्थिक रुपान्तरण र समृद्धिको क्रान्ति रहेको बताउंदै उनले केही मिसन, भिजन तयार रहेको बताए । नेपालमा जलविद्युतको ठूलो सम्भावना हुँदा पनि पानी खेर गइरहेको तर जति मात्रामा लाभान्वित हुनुपर्ने हो, त्यस किसिमको नेतृत्व र योजना अगाडि बढाउन नसकेको धारणा उनले राखेका छन् ।

पर्यटनको धेरै ठूलो सम्भावना भएपनि त्यसका लागि आवश्यक पूर्वाधार, नीति, योजना र कार्य जति प्रभावकारी हुनुपर्ने हो, त्यो नभएको प्रचण्डले औल्याएका छन् । कृषि प्रधान मुलुकमा कृषिमा आधारित उद्योगहरुका कारण नै नेपालमा विकासले गति लिन सक्नुपर्नेमा खाद्यान्न आयात गर्नुपर्ने दुःख अवस्थामा पुगेको बताउंदै उनले भने, ‘जमिन बाँझो छ, युवा जनशक्ति विदेशमा छन्, रेमिट्यान्स आएको छ, त्यसैबाट हामी चलेका छौं ।’ यस्तो दुःख परिस्थितीको परिवर्तन गर्न जरुरी रहेको भन्दै उनले जसले राजनीतिक परिवर्नतका लागि नेतृत्व गर्यो आर्थिक समृद्धि पनि यही प्रणालीमार्फत आउन सक्ने बताए ।

  • ३० भाद्र २०७९, बिहीबार १८:५८ प्रकाशित
  • Nabintech