भदौं २२, कोहलपुर । जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेले नरैनापुर गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सङ्घीय तथा प्रदेश सरकार समक्ष सिफारिस गरेको छ ।
हालसम्म १५ प्रतिशत मात्रै रोपाइँ भएको जानकारीसहित राहतका लागि स्थानीय प्रशासनसँग पहल गरी दिन पत्राचार गरेपछि विपद् व्यवस्थापन समितिले किसानलाई राहत उपलब्ध गराउन सङ्घीय र प्रदेश सरकार समक्ष सिफारिस गरेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए । समितिले प्रयाप्त सिचाँइ, वैकल्पिक बाली प्रबन्धन तथा राहत वितरणको व्यवस्थाका लागि सिफारिस गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।
यस अघि कृषि वैज्ञानिक सहितको टोलीले सो क्षेत्रमा कोसे बालीको खेती गर्न सुझाव समेत दिएको थियो । नरैनापुर गाउँपालिकाले आफ्नो क्षेत्रलाई यस अघि सुख्खा क्षेत्र घोषणा गरेको थियो । गाउँपालिकाको बैठकले पर्याप्त सिंचाइ व्यवस्था नभएको र पानी नपरेकोले धान रोपाइँ पनि हुन नसक्दा बाध्य भएर सुख्खा क्षेत्र घोषणा गरेको जनाएको थियो ।
सुख्खा क्षेत्रेको बाँके क्षेत्र नं. १ का संघिय साँसद एवं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र अर्थ मन्त्री जनार्दन शर्माले स्थलगत निरिक्षण गरीसकेका छन । निरिक्षणका क्रममा नरैनापुरको समस्या समाधानकालागि पहल गर्ने प्रतिवद्धता जनाएका मन्त्री अथकले प्रधानमन्त्रीसँग पनि त्यस विषयमा छलफल गरीरहेको मन्त्रीको सचिवालयले जनाएको छ ।
२२ भाद्र २०७९, बुधबार ०८:२३ प्रकाशित