१६ चैत्र २०८०, शुक्रबार
२४ घण्टा अध्ययन गर्न मिल्ने लाइब्रेरी भवनको शिलान्यास
  • काँचुली खबर

सरकारले त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्च शिक्षा सुधार केन्द्रको रूपमा विकास गर्ने भएको छ । उच्च शिक्षामा रहँदै आएको परीक्षा प्रणाली, पठनपाठन, शिक्षण सिकाइ प्रक्रिया र विश्वविद्यालयको भौतिक संरचनालाई समेत परिमार्जन गर्ने गरी विश्वविद्यालयलाई सुधारको केन्द्र बनाउन मन्त्रालयमा छलफल भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।

मंगलबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री पौडेलले उच्च शिक्षा सुधारका लागि त्रिभुवन विश्वविद्यालयले अग्रसरता देखाउनुपर्ने बताए ।

‘सरकारले उच्च शिक्षालाई आमूल रूपमा सुधार गर्ने संकल्प गरेको छ । उच्च शिक्षाको परीक्षा प्रणाली, पठनपाठन, शिक्षण सिकाइ प्रक्रिया, त्रिभुव विश्वविद्यालयका भौतिक निर्माण, कोषलाई परिमार्जन गरेर सेन्टर अफ एक्सिलेन्सीको रपमा अगाडि बढाउने गरी शिक्षा मन्त्रालय छलफलमा लागेको छ । त्यसका लागि त्रिभुवन विश्वविद्यालयलाई निकै मेहनत गरेर अगाडि बढ्न आग्रह छ । विश्वविद्यालयमा रहेका समस्या वार्ता, सहमति र सहकार्यमार्फत समाधान गर्ने प्राध्यापक तथा विद्यार्थीको जिम्मामा छ ।

‘केन्द्रीय पुस्तकालयलगायत विश्वविद्यालयदेखि विद्यालयका भवन निर्माणमा सहयोग गरेकोमा भारत सरकारप्रति आभार प्रकट गर्दछु,’ मन्त्री पौडेलले भने, ‘भारत सरकार र एक्जिम बैंकलाई धन्यावद दिन चाहन्छु ।’

विशेष अतिथि नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालको शैक्षिक पूर्वाधारका निम्ति भारत सरकारले निरन्तर सहयोग गर्दै आएको बताए ।

त्रिभुवन विश्वविद्यालयको पुस्तकालय भवन निर्माणको शिलान्यास गर्न पाउँदा खुसी लागेको छ,’ उनले भने, ‘भारत सरकारको पुनर्निर्माण परियोजनाअन्तर्गत अनुदान प्रणालीमा निर्माण हुन लागेको सबैभन्दा ठूलो लगानी हो । भारतले नेपाललाई शिक्षा क्षेत्रमा ५० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहयोग गरेको छ ।’

पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठले २०१६ सालमा स्थापित पुस्तकालयमा हाल ४ लाख ३० हजार पुस्तक र ४ लाख ५० हजारभन्दा बढी ई-बुक, ५० लाखभन्दा बढी ई-थेसिस डिजर्टेसन तथा जर्नल, म्यागजिन तथा रिपोर्टहरू रहेको बताए ।

पुस्तकालय निर्माण पछि घरमै बसेर २४ सैं घण्टा अध्ययन गर्न सकिने छ । अपांगमैत्री बन्ने छ । केसी हनुमान जेभीले गत पुसबाट निर्माण आरम्भ गरेको छ । कुल ३६ करोड ११ लाख ६६ हजार २ सय ९१ निर्माणमा थलिएको पुस्तकालय भवन १५ महिनामा हस्तान्तरण गर्ने लक्ष्य लिइएको छ ।

  • १ चैत्र २०७८, मंगलवार १८:५५ प्रकाशित
  • Nabintech