धामीझाँक्री गर्ने निहुँमा महिला र नाबालिकामाथि बलात्कार गर्ने गोपाल बिक पक्राउ
  • काँचुली खबर

  1. दाङ प्रहरीले धामीझाँक्री गर्ने निहुँमा महिला र नाबालिकामाथि बलात्कार गर्ने एकजनालाई पक्राउ गरेको छ ।

महिला र नाबालिकालाई बलात्कार गरेको अभियोगमा गत बिहीवार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का ३५ बर्षिय गोपाल बिकलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बिकले गत माघ २९ गते बेलुका अन्दाजी साढे छ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका १८, खैरेटीकी एक स्थानीय महिलाको घरमा गई आफू शिवको भक्त भएको भन्दै उपचार गराईदिने निहुँमा ती महिलालाई त्रिशुलले प्रहार गरी कपाल काटिदिई त्रसित गराएर उनका ससाना छोराछोरीहरु कोठा बाहिर निस्किएको समयमा जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

बिकले ती महिलाकी १४ बर्षिया नाबालिका भान्जीलाई पनि सोही दिन बलात्कार गरेको प्रहरीले जनाएको छ । पानी पिउने निहुँमा नाबालिकासङ्ग पानी मागेको र उनि पानी लिन कोठामा छिरेको समयमा बिकपनि सङसङै उनको पछिपछि कोठामा प्रवेश गरेर जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

बलात्कृत महिलाले गत फागुन ५ गते गोपाल बिकको विरुद्धमा प्रहरीमा जाहेरी दरखास्त दिएकै दिनमा बिकलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९, दुधरासबाट पक्राउ गरेको बताएको छ । पक्राउ गरे पश्चात् बिकलाई म्याद थप गरी मुलुकी अपराध (संहिता) २०७४ को परिच्छेद १८ को दफा २१९ उपदफा १ र २ मा परिभाषित कसूर अन्तर्गत अनुसन्धान कार्य भई रहेको तुलसीपुर प्रहरीले जनाएको छ ।

बिकले आफूलाई भगवान शिवको भक्त हुँ भनि दैविक देव देवीले आफूलाई छोएको भन्दै विभिन्न स्थानका स्थानीय व्यक्तिहरुलाई धामीझाँक्री गर्दिन्छु भन्दै झुक्याउदै आएको प्रहरीले जनाएको छ ।

  • ८ फाल्गुन २०७८, आईतवार १४:२१ प्रकाशित
  • Nabintech