८ बैशाख २०८१, शनिबार
‘तमू ल्होसार’ भव्य रुपमा मनाइदै
  • काँचुली खबर

तमू (गुरुङ) समुदायहरुको ठूलो चाड ‘तमू ल्होसार २०७८’ कोरोना भाइरस (कोभिड १९) बाट बच्ने उपायसहित टुडिखेलमा भव्य मनाइने भएको छ । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदद्वारा गठित तमू ल्होसार मूल आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी तमू ल्होसार २०७८ को कार्यक्रम घोषणा गरेको हो ।
तमू ल्होसार मूल आयोजक समितिले जारी गरेको विज्ञप्तिअनुसार यस पटक पनि अघिल्ला वर्षहरुमा जस्तै शुभकामना आदान–प्रदान, लोक दोहोरी प्रतियोगिता, किताव समिक्षा एवं श्रष्ठा सम्मान, खेलकुद प्रतियोगिताको आयोजना गरिने भएको छ ।
घोषित कार्यक्रमअनुसार शनिबार (१० पुष) किताव समिक्षा एवं श्रष्ठा सम्मान कार्यक्रमको आयोजना हुने छ । यस्तै, आइतबार (११ पुष) तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले चियापान तथा शुभकामना आदान–प्रदानको कार्यक्रम आयोजना गर्ने छ भने बुधबारबाट खेलकुद र लोकदोहोरी प्रतियोगिता सुरु हुने छ ।
तमू ल्होसार २०७८ को अन्तिम दिन टुडिखेलमा भव्य समारोहको आयोजना हुने छ, जहाँ प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने छन् ।
कोरोना महामारीको प्रभाव केही कम देखिएपछि यो वर्ष टुडिखेलमा ल्होसार पर्व मनाउने तयारी गरिरहेको तमू ल्होसार मूल आयोजक समितिले सुरक्षाका उपायसहित मनाइने जनाएको छ । ‘कोरोना भाइरसको प्रभाव अझै कम भइसकेको छैन । भर्खरै पनि नयाँ भेरियन्ट देखिएको छ । तर, हामी हाम्रो ठूलो पर्व ल्होसार भव्य मनाइरहँदा कोरोना भाइरसबाट बच्ने उपायहरु अपनाउने छौं’, तमू ल्होसार मूल आयोजक समितिका अध्यक्ष श्रीप्रसाद गुरुङले भने, ‘हामी स्टेजलाई पनि नियमित रुपमा स्यानिटाइज गर्नैछौं । बाँकी स्टलहरुलाई पनि स्यानिटाइज गर्नेछौं । ल्होसार मनाउन टुडिखेल आउने सबैलाई मास्क अनिवार्य गर्नैछौं ।’
गुरुङ समुदायले हरेक वर्ष पुष १५ मा टुडिखेलमा भव्य समारोहको आयोजना गरी आफ्नो ठूलो चाड ल्होसार मनाउँदै आइरहेको छ । हरेक वर्ष पुष १५ मा ‘ल्हो’ (वर्ग) फेरिने अर्थात् नयाँ वर्ष सुरु हुने विश्वासका साथ गुरुङ समुदायले प्रकृति र आफ्नो पितृको पूजा गर्ने, ठूला बडाबाट आशिर्वाद लिने गर्दछन् ।

‘ल्होसारकै दिन परिक्षा राखेर सरकारले अन्यायपुर्ण व्यवहार गर्‍यो’
तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङले ल्होसार मान्ने समुदायप्रति राज्यले विभेद गरेको बताएका छन् ।
उनले तमू ल्होसारलगायत पर्वहरुका दिन यसअघि दिइदै आएको सार्वजनिक विदा काटेको सरकारले यो वर्ष उक्त दिन परिक्षाको मिति तोकेर गुरुङ समुदायमाथि अन्यायपूर्ण व्यवहार प्रदर्शन गरेको बताए ।
‘दशैं तिहारदेखि जनै लगाउने दिनसम्म बिदा दिईएको छ तर हाम्रो ल्होसारमा बिदा काटिएको छ, त्यतिले पुगेन ल्होसारकै दिन परीक्षा राखिएको छ’ उनले भने, ‘हामी हाम्रो ल्होसारमा विदा दिन माग गर्छौं, अन्याय जारी रहेमा हामी पनि हातमा दही जमाएर बस्दैनौं ।’
‘यसअघि हामीले पाउँदै आएको सार्वजनिक विदा काटिएको सन्दर्भमा हाम्रो आन्दोलन अझै जारी छ । यो वर्ष त सरकारले त्यही दिन परीक्षाको मिति तोकेर गुरुङ समुदायलाई अझ पेल्न खेलेको छ’, अध्यक्ष गुरुङले भने, ‘हामी सरकारको यो विभेदकारी व्यवहारको विरोध गर्दछौं । गुरुङ समुदायले तमू ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा पाउनै पर्छ ।’

  • १० पुष २०७८, शनिबार ०९:४२ प्रकाशित
  • Nabintech