‘कमेडी च्याम्पियन २’मा सहभागी भएर दर्शकको मन जितेका कमेडियन विक्की अग्रवाललाई मातृशोक परेको छ ।
उनकी आमा दुर्गा मगरको मंगलबार निधन भएको छ । विक्की र उनकी आमा दुर्गा भाइटीकाको दिन नेपाल आएका थिए । मंगलबार ३ बजे विक्की मिटिङका लागि भन्दै आमालाई छाडेर कोठाबाट निस्किएका थिए । तर, बेलुकी ७ बजे कोठामा फर्किदा उनकी आमा अचेत अवस्थामा फेला परेकी थिइन् ।
यसपछि, उनलाई उपचारका लागि चावहिलको मेडिकेयर अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै उनलाई डाक्टरहरुले मृत घोषित गरेका थिए । उनी उच्च रक्तचाप र मधुमेहको बिरामी थिइन् ।
विक्की भारतको सिक्किम निवासी हुन् । यसैले, विक्कीका बुबा र दाजु नेपाल आएर आज बेलुकी ४ बजे दुर्गाको शवलाई सिक्किम लगेको सञ्चारकर्मी तथा ‘कमेडी च्याम्पियन २’का प्रतिस्पर्धी प्रताप लामाले जानकारी दिए ।
‘कमेडी च्याम्पियन २’को फाइनलमा छोराको प्रस्तुति हेर्नका लागि दुर्गा नेपाल आएकी थिइन् । सो समयमा सञ्चारमाध्यमसँग कुरा गर्दै उनले छोराले नेपाल पनि माया पाएको भन्दै खुशी व्यक्त गरेकी थिइन् ।
२३ कार्तिक २०७८, मंगलवार २१:०० प्रकाशित