१३ बैशाख २०८१, बिहीबार
नेपालगञ्ज उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
  • काँचुली खबर

नेपालगञ्ज उपमहानगरपालिकाकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । बासको सहजिकरणमा आज नेपालगञ्जको भेरी प्राविधिक शिक्षालयमा उक्त सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
२०० बढि स्थानीयहरुको सहभागितामा सम्पन्न सार्वजनिक सुनुवाईमा प्रमुख प्रशासकिय अधिकृत तोयनारायण सुवेदीले यस आर्थिक बर्षमा भएका गतिविधिहरुबारे जानकारी गराएका थिए । बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा बास उपनिर्देशक हेमराज भट्टले वडा कार्यालयले दिने सेवा, सुबिधाबारे नागरिकहरुबाट लिईएको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत संकलनको नतिजा प्रस्तुत गरेका थिए ।
बास अध्यक्ष मन भण्डारीले स्वागत गरेको कार्यक्रममा सुनुवाईको खुला छलफलमा सहभागिहरुले वडाध्यक्ष लगाएत पदाधिकारीहरुसँग बिभिन्न बिषयमा जिज्ञाशाहरु राख्नुका साथै सुझावहरु दिएका थिए ।
उनीहरुले सिमा सुरक्षा, सामाजिक सुरक्षा भत्ता, सार्वजनिक शौचालय, सडक, ढल निर्माण, छाडा चौपाय व्यवस्थापन, बधशाला निर्माण, सडक अतिक्रमण, खाद्य तथा मासुजन्य पदार्थको गुणस्तरियता लगाएतका दर्जनौं बिषयहरुमा जिज्ञाशा, गुनासो राखेका थिए ।
स्थानीय गंगा लम्साल, रमेश रेग्मी, हरि घिमिरे, नहकुल थापा, श्याम श्रेष्ठ, मानदत्त न्यौपाने, मुकुन्द शाही, अस्मिता शाह, लोकराज तिमिल्सिना, शैलेन्द्र कुमार बैश्य लगाएतले प्रश्न सोधेका थिए । प्रश्नहरुको उत्तर नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्सेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकिय अधिकृत तोयनारायण सुबेदी लगाएत बिभिन्न वडाध्यक्षहरुले दिएका थिए ।


स्थानीयहरुको गुनासो सम्बोधन गर्दै प्रमुख राणाले ९० किलोमिटर सडक बनिरहेको, ढल निकाशका लागि प्रयास भईरहेको, छाडा चौपाय, सडक अतिक्रमण नियन्त्रणका कार्यहरु भईरहेको बताएका थिए । उनले नेपालगञ्जलाई सभ्य शहर बनाउन लागि परेको बताएका थिए ।
सार्वजनिक सुनुवाईको अन्तमा ६ बुँदे सार्वजनिक प्रतिबद्धता व्यक्त भएकोछ, व्यक्त भएका प्रतिबद्धताहरुमा उपमहानगर भित्र सार्वजनिक शौचालयको अभाव रहेकोमा ३ महिना भित्र ४ वटा घुम्ती शौचालय सञ्चालनमा ल्याउने, उपमहानगरपालिकाका सम्पूर्ण वडाहरुमा योग तथा व्यायमका कार्यक्रमहरु सञ्चालन गर्ने, सामाजिक सुरक्षा भत्ता बितरणका बिषयमा गुनासो आएकाले भत्ता बितरण गर्ने बैंकहरुका बारेमा आवश्यक छलफल गरि समस्याको समाधान गर्ने, उपमहानगरपालिका भित्र व्यवस्थित पार्किंगको व्यवस्था गर्ने, वडानम्बर ४ र ५ को केही घरहरुमा अव्यवस्थित रुपमा पशुबध हुने गरेको भन्ने गुनासो आएकाले उक्त समस्या समाधानका लागि सम्बन्धित वडाहरुले पहल गर्ने र नियमित सार्वजनिक सुनुवाई गर्ने रहेका छन् ।
प्रतिबद्धतामा प्रमुख डाक्टर धवल शम्सेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकिय अधिकृत तोयनारायण सुबेदी, वडानम्बर १ का वडाध्यक्ष प्रमोद रिजाल, वडानम्बर ४ का वडाध्यक्ष मोहम्मद सफिक बेहना, वडानम्बर ५ का वडाध्यक्ष कैफुलबरा जोलाह, वडानम्बर १० का वडाध्यक्ष बिन्दुभुषण बस्नेत, वडानम्बर ६ का वडाध्यक्ष समिर प्रताब शाह, वडानम्बर १३ का वडाध्यक्ष बिरेन्द्र बहादुर शाह, वडानम्बर २२ का वडाध्यक्ष बिद्याराम बर्मा, वडानम्बर ८ का वडाध्यक्ष सुरेन्द्र गुप्ता बैश्य, वडानम्बर ३ का वडाध्यक्ष मो. अयुव सिद्धिकी, नगर कार्यपालिका सदस्य बसन्ता जोशी, ईन्दिरा कुमारी शाही, कौशल कुमार धोवि लगाएतले हस्ताक्षर गरेका छन् ।

  • १९ असार २०७५, मंगलवार २२:०८ प्रकाशित
  • Nabintech