१४ बैशाख २०८१, शुक्रबार
१० महिनामा १२ करोडको तास आयात !
  • काँचुली खबर

सुन्दा अचम्म लाग्न सक्छ, जुन वस्तु उपयोग गर्न मुलुकको कानुनले बन्देज लगाएको छ त्यही वस्तु वार्षिक करोडौं रुपैयाँको आयात भइरहेको छ । त्यो वस्तु हो, तास । मनोरञ्जनका लागि जुवाघर अर्थात् क्यासिनो (विदेशीलाई मात्र) बाहेक अन्य ठाउँमा बर्जित गरेको तास पानपसलदेखि डिपार्टमेन्ट स्टोरसम्म खुलेआम बिक्री भइरहेको छ ।
सरकारले तास खेल्नेलाई कारबाही गर्दै आए पनि यसको बिक्री वितरणमा भने कडाइ गरेको छैन । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७४|०७५ को पहिलो १० महिनामा ६ वटा मुलुकबाट ११ करोड ९५ लाख मूल्यको झन्डै एक करोड एक लाख ६२ हजार प्याकेट तास आयात भएको छ । यसबाहेक भारतबाट खुला सीमा प्रयोग गरेर हजारौं प्याकेट आयात भइरहेको तासको कुनै लेखाजोखा छैन ।
गत आर्थिक वर्षमा तासको आयात चालू आवको १० महिनाभन्दा केही बढी छ । गतवर्ष २०७३|०७४ मा कुल १२ करोड ६१ लाख रुपैयाँको एक करोड ११ लाख तास आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । मुलुकमा हाल चीन, भारत, मलेसिया, ताइवान, हङकङ, बेलायत र अमेरिकाबाट तास आयात भइरहेको छ । यसमध्ये सबैभन्दा धेरै उत्तरी छिमेकी देश चीनबाट आयात भएको छ ।
१० महिना अवधिमा चीनबाट १० करोड ९१ लाख रुपैयाँको ९९ लाख ६० हजार ९७४ वटा प्याकेट आयात भएको छ । चीनपछि परिणामका हिसाबले सबैभन्दा धेरै तास भारतबाट आयात भएको छ । भारतबाट ५७ हजार २२६ वटा प्याकेट तास आयात भएको छ । भारतबाट आयातित तासको मूल्य झन्डै ३३ लाख रुपैयाँ छ । मलेसियाबाट आयातित ४३ हजार २०० प्याकेट तासलाई ३५ लाख र अमेरिकाबाट आयातित एक लाख प्याकेट तासलाई ३३ लाख रुपैयाँ तिरिएको छ ।
हङकङबाट दुई हजार ६०० प्याकेट र ताइवानबाट एक हजार प्याकेट तास आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । मोरङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश चोलेन्द्रशमशेर राणाले म्यारिज (तास खेलको एक प्रकार) लाई तास खेल नभएर दिमागी खेल भएको व्याख्या गर्दै कर्मचारीलाई जोगाएका थिए । नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० शैलेश थापा क्षेत्रीले तास खेल्नु गैरकानुनी भएको बताए ।
‘कहीं पनि जुवा खेल्न पाइँदैन’ उनले भने, ‘तास पनि जुवाकै अंग हो ।’ जुवा ऐनले कुनै पनि प्रकृतिका जुवालाई निषेध गरेको छ । तासलाई पनि जुवाकै एउटा प्रकार भएकाले खेल्न प्रतिबन्धित छ । मुलुकमा खोलिएका केही क्यासिनोमा विदेशीले मात्र जुवा खेल्न पाउँछन् । क्यासिनो प्रवेशमा नेपालीलाई प्रतिबन्ध छ । सरकारका आँखा गाडी, मदिरा लगायतका ठूला वस्तुमा रहे पनि कानुनले रोकेको तास आयातमा प्रतिबन्ध लगाइएको छैन ।
भन्सार विभागले हरेक महिना सार्वजनिक गर्ने आयात-निर्यातको विवरण हेर्ने हो भने करोडौं रुपैयाँका अति सामान्य वस्तु आयात भइरहेको देखिन्छ । मुलुकमा टुथ पिक, अगरबत्ती, ट्याइलेट पेपर, चक, सियो, टुथ ब्रस, स्यानिटरी प्याड, धनियाँजस्ता सामान्य वस्तु आयात भइरहेका छन् ।

 

साभार : नागरिक दैनिक

  • १९ असार २०७५, मंगलवार १७:३१ प्रकाशित
  • Nabintech