आफूलाई यो गाउँ ठाउँको गेम चेन्जर भन्न रुचाउने, भैरे काका । उनैको बुइँ चढेर बेहुला बन्न सफल भए फिर्के बा । फिर्के बाले मण्डपबाटै घोषणा गरे, ‘एउटी सुन्दर र सुशील सन्तानलाई जन्म दिने सपना छ । उनको नाम अहिले राखिदिए, समृद्धि ।’
यो सुनेपछि धेरैले सीता र भृकुटी सम्झे । औंला गन्न थाले, नौ, दस महिनापछि ।
विवाह भएको दस महिना भयो । एक वर्ष पुग्यो । दुई वर्ष वित्यो । केही अत्तोपत्तो भएन । खासखास खुसखुस चल्न थाल्यो, समृद्धि नजन्मिएकोमा । अनेक थरि शंका आशंका हुन थाले । बाटोघाटो, पानी पँधेरा र मेलापात जताततै कुरा चल्न थाले ।
तीन वर्ष पुग्न लाग्यो । आफ्नो घोषणा पूरा हुने छेद्छन्को छैन । बुढालाई झोंक चलेछ । एका विहानै घोषणा गरे, ‘यस्ता नपुंसकबाट पार लाग्दैन । डिभोर्स ठोकिदिएँ । बरु नयाँ दुलही खोज्छु ।’
गाउँभरि हल्ला खल्ला चल्यो । माइती पक्ष रिसाए । कुर्लिए, ‘अर्कालाई मात्र दोष थोपारेर हुन्छ ! आफूले मेडिकल चेक गराएको छ ?’
गाउँमा कचहरी बस्यो । धेरै छलफल र वादविवाद पश्चात् डिभोर्स दिनु गल्ति हो, भनियो । गाइँगुइँ चल्यो, ‘दुलही फेर्ने कि दुलाहा ?’
बुढा झस्के । अर्काको अंगालोमा देख्नुभन्दा आफैले सम्हाल्ने चतर्याइँ गरे । छेडछाड चलिरह्यो ।
बुढाले मध्यरातमा एक प्याक लाएको झोंकमा घोषणा गरे, ‘यसले भैरे, ख्याक ख्याके, चट्टानेका कुरा सुन्छे । मेरो भनेको मानिन । मेरा सपनामा तुषारापात भयो । डिभोर्स दिएँ । लौ जा ।’
फेरि मध्ये रातमा रुवावासी चल्यो । ‘अति गरे खति हुन्छ । अब छोडिन्न । दुधको दूध, पानीको पानी छुट्याउनु पर्छ ।’ दुलही पक्षधर कराए ।
डिठ्ठा-बिचारी सहितको कचहरी बस्यो । पक्ष विपक्षले प्रमाण र तर्क पेश गरे । निकै समय वहस भयो ।
डिठ्ठा बाजेले फैसला सुनाए, ‘गहवाई, साक्षी र प्रमाण तथा मेडिकल ल्याब रिपोर्टको आधारमा थसुल्ली मैयामा सन्तान उत्पादन गर्न सक्ने क्षमता भएको र फिर्के बाको सन्तान उत्पादन गर्ने क्षमतामा ह्रास आएकोले समृद्धिको जन्म हुन नसकेको ठहर गर्दै थसुल्लीलाई अर्को दुलाहा खोज्ने अधिकार सुरक्षित छ । फिर्के बालाई चार भञ्ज्याङ्ग कटाउनू ।’
‘बुढो आफै पो नपुंसक रहेछ त ।’ एक अर्कामा सबै यस्तै गफ गर्दै घर घरतिर लागे ।
छविलाल खड्काका ‘पाँच साइनो’ !
२५ श्रावण २०७८, सोमबार १९:४५ प्रकाशित