८ जेष्ठ २०८१, मंगलवार
निषेधको राजनीतिले गणतन्त्रको पनि अन्त्य हो की ?
  • काँचुली खबर

मान्छे लोभी भएपछि कर्म सारा हराउँछ
सोच राम्रो नभएसी दुष्कर्ममा डोर्याउँछ ।।

हिजोआज नेपालको राजनीति पनि ठिक यस्तै नै भएजस्तो लाग्छ । सत्ता, स्वार्थको राजनीतिले सबै पार्टीका नेतालाई लोभी, पापी र दम्भी नै बन्न उद्दत गरेको छ । सबैलाई स्वेच्छाचारी नै बनाएको छ । आफैले बनाएका कतिपय नीति, नियमलाई आफैले बन्धक बनाई, कागजमा मात्र सीमित गरिदिएका छन् । तेरो र मेरोको राजनीतिले सहमति र समन्वयको खाँचो रहेको छ । एक आपसमा विश्वसनियताको वातावरण नै हरायो । सबैले एक अर्कालाई निषेध नै गर्न खोजेजस्तो आभास हुन थालेको छ । अनि, “मखाऊ मैलाऊ अरु सब मरुन दुर्बलहरु” भन्ने भावलाई सबैले नियाल्न थालेजस्तो अनुभव भएको छ ।

मुलुकमा जब स्वार्थको राजनीतिले प्रश्रय पाउन थाल्दछ, त्यसपछि शासन गर्ने शासकहरुलाई नै निरङ्कुशतातिर उन्मुख हुन प्रेरित गरेको हुन्छ । मानौं सत्तामा बस्नेहरुले आफू बादशाह नै भएजस्तो अनुभूति गर्न थालेका हुन्छन् । जसबाट समाज र राष्ट्रमा एक अर्काप्रति विश्वासको वातावरण नै हराएको हुन्छ । अनि, एक अर्काप्रति शङ्का र उपशङ्का गर्ने परिस्थिति बन्न थाल्दछ । त्यसपछि द्वन्द्वका खेलहरु सुरु भई पक्ष र विपक्ष बन्दै निषेधको राजनीति प्रारम्भ हुन थाल्दछ । एकले अर्कोको अस्तित्व स्वीकार गर्न नसक्ने र नचाहने प्रवृत्ति रहन्छ । अहिले मुलुकमा ठिक यस्तै खालको अवस्था सिर्जना हुन थालेको छ ।

कुनै पनि पार्टी सङ्गठनमा लाग्ने नेतृत्वमा आजको मात्र होइन, भोलिको सोँच र चिन्तन हुनु आवश्यक छ । दुरदर्शीताको भावना र सङ्कल्प रहन सक्नुपर्छ । राष्ट्रियताको भावना जागृत हुन सक्नुपर्छ । अनि, आफ्नो मुखबाट निस्किएका बोली, वचनमा पनि सत्यता र शुद्धता रहन सक्नुपर्छ । जनमानसप्रति आशा र भरोसा जाग्न सकोस् । सबैप्रति विश्वसनियता रहन सकोस् । अनि, पो नेतृत्व गर्ने लिडरसीपहरु पनि जनजनको हृदयमा सधैँ प्यारो बनेर बस्न सकिन्छ । होइन, ‘मौका आएको बेलामा चौका हान्नुपर्छ’ भन्ने सोँच र चिन्तनले ग्रसित भएर राजनीति गर्ने हो भने स्वभाविक रुपमा स्वार्थ र निषेधको राजनीतिले प्रश्रय पाएको हुन्छ । आजभोलि यो निषेधको राजनीतिले नेताहरुमा ‘नपाउनेले केरा पायो, बोक्रैसित खायो’ भनेझैं हाम्रोजस्तो सानो मुलुकमा वास्तवमा संघीयता मुलुकले थेग्नै नसकेको हो वा बढी स्वतन्त्र भएर नेताहरु नै बढी मात्तिएका हुन् ? मुलुकमा यिनीहरुको मात्रै रजाई हुन गयो ।

जबसम्म यो मुलुकमा विकास निर्माणका पूर्वाधारहरु सम्पन्न हुँदैनन्, तबसम्म यो मुलुकमा राष्ट्रपति होइन, राजतन्त्र नै आवश्यकता हो की ? यो मुलुकमा राजतन्त्रबाट जसरी अभिभावकत्वको भूमिका निर्वाह हुन सक्दछ, त्यसैगरी राष्ट्रपतिबाट स्वतन्त्र रुपमा हुन सक्दैन र नसकेको हो की ? जुन कुराहरु विगतमा भए गरेका विभिन्न घटनाका उदाहरणले पनि पुष्टि गर्ने गरेको पाइन्छ । त्यसैले यो मुलुकका लागि संघीयता र गणतन्त्र भनेको त केवल नेताहरुलाई राजनीति गर्ने नयाँ क्रिडास्थलका रुपमा मात्र परिणत भएजस्तो पो भयो । यहाँ राजनीति गर्ने कुनै नेतामा डर त्रासको भावना नै छैन । मैले कुनै गल्ती गरे पनि मलाई आफ्नो पार्टीले नै जोगाउँछ । मेरो नेताले नै जोगाउँछ भन्ने भाव हरेक पार्टी सङ्गठनका नेताहरुमा रहेको छ । जसलेगर्दा गाउँ, समाज र राष्ट्रमा नेताहरुले कानुनलाई नै बन्धक बनाएका छन् । यहाँ जसको शक्ति उसको भक्ति भन्ने भएको छ ।

अब, यो मुलुकमा यस्तो खालको राजनीति प्रारम्भ भएपछि कसरी मुलुकबाट हत्या, हिंसा र बलात्कारजस्ता घटनाहरुको अन्त्य हुन सक्छ ? कसरी जनमानसमा शान्तिको आभास हुन थाल्दछ ? अनि, कसरी सहज रुपमा स्वच्छ र पवित्र भावको राजनीति आरम्भ भई विकास निर्माणका कार्यहरु हुन सक्छन् ? अनि, कसरी नेता र कार्यकर्ताहरु लगाममा बाँधिन पुग्छन् ? जबसम्म यो मुलुकमा नेता र कार्यकर्ताहरु लगाममा बाँधिने प्रवृत्तिको थालनी हुँदैन, तबसम्म ‘काग कराउदै गर्छ, पिना सुक्दै गर्छ‘’ भनेझैं जेजति बिरोध गरे पनि सबै कागजमा मात्र सीमित हुन पुग्छन् । भ्रष्ट र दलालीहरुको नै बिगबिगी हुन पुग्दछ ।

विगतको पञ्चायती शासन कालमा पनि त मुलुकमा आफ्रनै हिसाबले विकास निर्माणका कार्यहरु भए गरेका थिए नि, होइन र ? त्यतिबेला मात्रै जनमानसमा प्रेस स्वतन्त्रता र वाक् स्वतन्त्रता थिएन । निरङ्कुसतन्त्र त थियो नै । मुलुकमा भ्रष्टचार त भएकै थियो, क्यारे ! तर त्यो भ्रष्टाचारमा भने अलि गोपनियता थियो । अलि, शिष्टता थियो । हुन्थ्यो त केवल पर्दा भित्रबाट वा टेबल मुनिबाट मात्र हुन्थ्यो । त्यसमा पनि अलिकति इज्जत र प्रतिष्ठाको ख्याल गरिन्थ्यो । तर, मुलुकको हितका निमित्त बनेका नीति, नियमहरु त त्यति नराम्रा थिएनन् । जसलाई कार्यान्वयन गर्ने केही सीमित व्यक्तिहरु मात्रै खराब थिए । अनि, यिनै केही सीमित व्यक्तिहरुका आचरणबाट नै त्यो शासन व्यवस्थालाई मिल्काउनु पर्ने अवस्था सिर्जना बनेको थियो, होइन र ?

जब, मुलुकमा पञ्चायतको शासन व्यवस्था परिवर्तन गरेर जनताले बहुदल ल्याए । त्यसपछि जनतालाई वाक् स्वतन्त्रता मात्र प्राप्त भयो । जनतालाई अरु के प्राप्त भयो ? समाजका गरिब र निसहायहरु हिजो पनि उस्तै थिए र आज पनि उस्तै छन् । आखिर गरिब निमुखा जनताले के पाए त ? समाजमा भ्रष्टाचारी, दुराचारी र व्याभिचारीको जमात मात्र देखिए । यो मुलुकमा शासन परिवर्तन भए पनि शासकहरु कहिल्यै परिवर्तन भएका छैनन् र हुन चाहदैनन् पनि । उनीहरुको माक्किएको दिमाग अझै परिवर्तन हुन सकिरहेको छैन । हिजो, ती नेताहरुलाई अभाव र समस्याबाट गुज्रिनु परेको थियो भने आज ऐस, आरामसित भोगविलासी जीवन बिताउन पाएका छन् । मोजमस्तीमा जीवन बिताइरहेका छन्, होइन र ? के यो मुलुकमा बहुदल आएपछि पनि जनताको शासन आएको छ र ? बहुदल आएपनि आखिर गरिब जनताले के पाए ? आखिर पाए त, केवल महङ्गी, हत्या, हिंसा, दुराचारी र भ्रष्टचारीको जमात मात्र, होइन र ?

त्यसपछि मुलुकमा शासकहरु मात्र मोटाउने प्रवृत्ति रह्यो भन्दै बहुदलका बिरुद्ध गणतन्त्रका निमित्त आन्दोलन गरेको होइन र ? खै त सर्वसाधारण जनताका लागि गणतन्त्र आएको ? खै त, गाउँ घरका बस्तीहरुमा गणतन्त्र आएको ? आयो त केवल नेताहरुका निमित्त मात्र आयो । हिजो गणतन्त्रको नारा लगाउन प्रेरित गरेका ती नेताहरु नै आज झनझन ठुलो भ्रष्टाचारी र व्याभिचारी बन्न पुगेका छन् । के गणतन्त्र भनेको उनीहरुका लागि मनपरितन्त्र हो ? यो गणतन्त्र आएपछि मुलुकमा जनतालाई राहत मिल्यो किं नेताहरुलाई मात्र ? यो मुलुकमा आजसम्म कुनै भ्रष्टाचारीलाई कार्वाही गर्नपर्छ भनेर कुनै पार्टीका नेताले आग्रह गरेका छन् ? कुनचाहिँ पार्टीले आफ्नो नेता वा कार्यकर्तालाई दण्ड सजाए दिनुपर्छ भनेर उभ्याउन सकेको छ ? अझ, उल्टै आफ्नो कार्यकर्ता भनेर लुकाउने छिपाउने सहमतिमा सबै पार्टीका नेताहरु एकजुट भएका हुन्छन् । यहाँ सबै भागबन्डाको राजनीति गरेका हुन्छन् । अनि, यस्तो भागबन्डाको राजनीति गर्ने अवस्था पनि गणतन्त्रको व्यवस्था हुन्छ र ?

जब, समाजमा जसले जे मनलाग्यो त्यही गर्न पाउने हुन्छ ? अनि, आफ्नो नेता वा लिडरसीप भनेपछि, सबै अन्धभक्त बनेर भेडोझैं नेताहरुको पछिपछि लुरुलुरु हिँड्नुपर्ने अवस्था हो ? अनि, आफूले सत्ताको कुर्सी पाएपछि नमरुन्जेलसम्म किर्नोझैं आफूमात्र बसिरहनु पर्ने र टिकिरहनु पर्ने व्यवस्था हो ? यहाँ एकले अर्कोलाई विश्वासै नगर्ने अवस्था बन्यो, किन ? के यो सामन्तवादको सोँच र चिन्तन भएन र ? गणतन्त्र आएको मुलुकमा पनि कानुनलाई हातमा लिएर अगाडि बढ्न पाइन्छ र ? मुकमा यति धेरै भ्रष्टाचार हुँदा पनि कसैले कसैलाई कार्वाही गर्न नसक्ने, र गर्नै नचाहने प्रवृत्ति पनि हुन्छ र ? समाजमा यति धेरै हत्या हिंसाका घटनाहरु हुँदा पनि किन, अपराधीलाई कहिल्यै उठ्न नसक्नेगरी दण्ड जरिवाना गर्न नसकिएको हो ? किन, सबै आफ्ना र आफन्त भनेर अपराधी भए पनि उसलाई जोगाउने प्रयास गरिएको हो ? यस्तो अवस्था पनि गणतान्त्रिक मुलुक भन्न सुहाउँछ र ? के यो सबै, नेताहरुको भागबन्डे राजनीतिले गर्दा सिर्जना भएको होइन र ? अनि, यस्तो भागबन्डे राजनीतिमा रमाएर आफ्नो स्वार्थ मात्र देखेर अगाडि बढ्न खोज्ने नेताहरु पनि जनताका हुन्छन् र ?

अब, यो मुलुकमा गणतन्त्र आउँदा पनि यस्तो भागबन्डे राजनीतिले प्रश्रय पाउने र जो जेजति अपराधी भएपनि खुलेआम हिँडडुल गर्न र मनपरी गर्न पाइन्छ भने कसरी यो मुलुकमा सर्वसाधारणले न्यायको अनुभूति गर्ने हो ? समाजमा अपराध गर्ने मानसिकता भएका व्यक्तिहरुको मनोबललाई कसरी कमजोर बनाउन सकिन्छ ? कसरी त्यस्ता व्यक्तिहरुको अन्त्य गर्ने भन्ने सोँच र चिन्तन हुँदैन भने यस्तो मुलुकमा कसरी जनतालाई न्याय गरेको ठहरिन्छ ? जब, मुलुकमा बहुदल र गणतन्त्र आउँदा पनि जनमानसमा शान्ति र सुरक्षाको अनुभूति नै गराउन सकिदैन भने त्यो शासन व्यवस्थाको के अर्थ भो ? जहाँ ‘सानालाई ऐन र ठुलालाई चैन’ भनेझै कानुनको सम्मान हुँदैन भने त्यो व्यवस्थाको के काम ? यस आधारमा पनि हाम्रोजस्तो मुलुकमा राष्ट्रपतिले होइन, राजतन्त्रले नै अभिभावकत्वको भूमिका खेलेको राम्रो हो किं ? अझै पनि यो मुलुकका लागि राजतन्त्रको नै आवश्यकता रहेको पो हो किं ? यो मुलुकमा गणतन्त्रको स्थापना पनि अलि छिटो नै भएको हो कि ? जस्तो अनुभव हुन थाल्यो ।

हिजो मुलुकमा बहुदल थियो । जसमा राजतन्त्रले विभिन्न दलका निमित्त अभिभावकत्वको भूमिका खेलेको थियो । दलहरुमा पनि राष्ट्र प्रमुखका रुपमा रहेका राजाले केही भन्छन् किं ? मैले नियम र कानुनलाई मिचेर हिँड्दा कतै लगाम पो लगाउछन् किं ? अनि, मेरो राजनीति नै सकिन्छ किं भन्नेजस्तो एक खालको डर र त्रासको भावना नेताहरुमा थियो । जसले सबै नेतालाई एउटा लगाम लगाउने कार्य गरेजस्तो भएको थियो । नेताहरुमा अलिकति अङ्कुश लगाउने काम पनि भएको थियो । तर, जब मुलुकमा बहुदलको अन्त्य गरी राष्ट्रपति प्रमुख रहने गणतन्त्रको व्यवस्था कायम गरियो । त्यसपछि नेताहरु तछाड र मछाड गर्दै एक अर्कोमा राजनीतिक पूर्वाग्रही दृष्टिले नियाल्ने प्रवृत्ति रह्यो । एकले अर्कोलाई निषेध गर्ने परिपाटी बस्यो ।

जब, राजतन्त्रको अन्त्य भएपछि गणतान्त्रिक मुलुक बन्यो । राष्ट्रपति प्रमुख रहने व्यवस्था भयो । हिजो, आफ्नो पार्टीको नुन खाएर आएको मान्छे एकछिन त्यो उच्च पदमा आसिन रहुन्जेल राजिनामा दिएर मात्र स्वतन्त्र छु भनेर भने पनि त्यो केवल कागजमा मात्र स्वतन्त्र रह्यो । मानसिक रुपमा ऊ कहिल्यै स्वतन्त्र हुन सक्दो रहेनछ । भित्रभित्र उसमा राजनीतिक प्रभाव परेकै हुँदोरहेछ । जुनकुरा नेताहरुले विभिन्न घटनाक्रममा आफ्ना व्यवहारिक रुप देखाइसके । तसर्थ, पनि हाम्रोजस्तो विकासोन्मुख मुलुकमा राष्ट्रपति प्रमुख रहने परिपाटी होइन, राजा नै प्रमुख रहने शासन व्यवस्था कायम रहनु आवश्यक हो कि ? जसले नेताहरुलाई लगाम बिनाको घोडाजस्तो बनेर अगाडि बढ्नबाट अलिकति भए पनि ब्रेक लगाउने काम गर्दछ । नेताहरुलाई अनुशासित र लगनशील बन्न पनि प्रेरित गर्दछ कि ?

हाम्रोजस्तो विकासोन्मुख मुलुकमा गणतन्त्रलाई कायम राख्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति रहने परिपाटी हुनु राम्रो हो । होइन भने यो मुलुकमा सयौं राजाहरु बन्ने परिपाटी भन्दा विगतको एउटै राजा रहने परिपाटी रहेको वेश जस्तो लाग्न थाल्यो । जसले अभिभावकत्वको भूमिका निर्वाह गर्नका लागि त यो कुन पार्टीको हो भनेर नियाल्नुपर्ने अवस्था त रहदैन कि ?

एउटा घर परिवारमा पनि जन्मसिद्ध आफ्नो घर हो भनेर त्यसको हित र संरक्षणका लागि जसरी अन्तर्हृदयबाट लागिरहेको हुन्छ, त्यसरी कसैलाई जिम्मेवारी दिएर सञ्चालन गर्न दिदा उसप्रति जुन खालको माया र ममता हुनुपर्ने हो त्यो हुँदोरहेनछ भन्ने कुरा त मुलुकमा अहिले भए गरेका घटनाहरुले पनि पुष्टि गदैन र ? हाम्रा नेताहरुलाई आफ्नो देशको माटोप्रति कति स्नेह रहेछ भन्ने त यिनले गरेका विभिन्न घटनाक्रमहरु तथा यी नेताहरुले अभिव्यक्त गरेका विभिन्न शब्दहरुले पनि पुष्टि गरेका छन्, होइन र ? कसैले देशको हितमा कार्य गर्छ भने त्यसलाई साथ दिनुभन्दा छिमेकीको बढी चिन्तनशील बन्ने नेताहरु पनि यही मुलुकमा भएको देखियो । यो मुलुकमा नेताहरु को कति राष्ट्रवादी र चिन्तनशील रहेछ भन्नेकुरा पनि विभिन्न पार्टीका नेताहरुले अभिव्यक्त गरेका भनाईहरुले देखाउदैन र ?

https://kanchulikhabar.com/news/42464

‘मान्छे आवश्यक भन्दा बढी स्वतन्त्र भएपछि मात्तिन्छ’ भनेझै यो मुलुकमा बहुदलदेखि गणतन्त्रसम्म आइपुग्दा विभिन्न पार्टी सङ्गठनका हाम्रा नेतागणहरुमा ‘नपाउनेले केरा पायो बोक्रैसित खायो’ भनेझै हुन गयो । उनीहरु अहमताले धेरै नै चुलिए र मात्तिए । विगतको आफ्नो हैसियत सबैले बिर्सिए । जनभावनाको आवश्यकता र चाहना नै बिर्सिदिए । यहाँ केवल सत्ता स्वर्थको मात्र राजनीति गर्ने परम्परा बस्यो । नेताहरुमा राष्ट्रियताको भावना नै रहेको देखिएन । सत्ता प्राप्तिका लागि नेताहरुले जोसँग पनि वा जेजस्तो सम्झौता गर्न परेपनि उनीहरु लम्पसार भएर गर्दा रहेछन् । आफ्नो छिमेकीलाई रिझाउनकै निमित्त पनि नेताहरु लम्पसारवादलाई अपनाउन तयार रहदा रहेछन् भन्नेकुरा पनि यिनीहरुले अभिव्यक्त गरेका शब्दहरुबाट नै बुझ्न र जान्न सकिन्छ । यिनीहरुले गरेका विभिन्न सम्झौताका आधारमा पनि बुझ्न सकिन्छ । यस आधारमा पनि कुनै पार्टी सङ्गठनमा आबद्ध भएर आएका नेताहरुबाट स्वतन्त्रपूर्वक अभिभावकत्वको भुमिका निर्वाह गर्न सक्षम रहेनछन् भन्नेकुरा त नेताहरुले नै पुष्टि गरे । त्यसैले हाम्रोजस्तो सानो मुलुकमा संघीयता र गणतन्त्र नै अभिशाप भयो भन्नेकुरा सिद्ध भएको हो कि ?

कुनै पनि मुलुकलाई नयाँ दिशा दिनका निमित्त र विकास निर्माणका कार्यहरु सम्पन्न गर्नका लागि पनि यौटा सक्षम र निडर तानाशाहको जन्म हुनै पर्दछ । तर, तानाशाह पनि व्यक्तिवादी सोँच र चिन्तनबाट मुक्त भई राष्ट्र र राष्ट्रियता प्रति चिन्तनशील भएको राष्ट्रवादी नेताको मात्र आवश्यकता रहेको छ । अहिले हाम्रो मुलुकमा विभिन्न पार्टीका नेताहरु बिच यस्तै तानातान र हानाहानको स्थिति पैदा भएको छ । जहाँ एकले अर्कोलाई निषेध गर्नका लागि जुनसुकै हथकण्डा अपनाउन पनि नेताहरु तयार भएका छन् । जेजसरी भए पनि सबैलाई सत्ताको स्वाद लिनै पर्ने अवस्था सिर्जना भएको छ । मुलुकमा एक खालको निषेधको राजनीतिले पूर्णरुपमा जरा हालेको छ ।

यसरी विभिन्न पार्टीका नेताहरु बिच अविश्वासको खाडल बन्दै जाने, एक अर्कोमा निषेधको राजनीति चलिरहने, अनि, एउटाले सत्ताको कुर्सी छोड्नै नचाहने र अर्कोले जेजसरी भए पनि सत्ता नछुटाई नहुने स्थिति पैदा भएपछि ‘आफू मरेपछि डुमै राजा’ भनेझैं यो मुलुकमा राजनीतिले कोल्टे फेर्न के बेर लाग्छ र ? त्यसपछि यो गणतन्त्रका नाममा छाएको नेताहरुको मनपरितन्त्रले यो गणतन्त्रलाई पनि जोगाउँछ नै भनेर भन्न सकिन्छ र ? अब, यस्तै यस्तै अवस्था रहने हो भने कुनै बखत जसरी जनतालाई ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ भनेझैं नेताहरुको मात्र पेवाका रुपमा रहेको यो गणतन्त्रको पनि अन्त्य नहोला भन्न सकिन्छ र ?

नारायणप्रसाद न्यौपाने
सुनवल-१२ नवलपरासी

  • ४ असार २०७८, शुक्रबार १९:४९ प्रकाशित
  • Nabintech