नयाँ मन्त्रीका थरिथरि ‘डिमान्ड’ : रविपत्नीलाई चाहियो मेकअप टेबल, सुमनाले किनाइन् कार्पेट, महासेठलाई सोफा !
  • काँचुली खबर

६ जेठ, काठमाण्डौं । जनताको सेवाका लागि राजनीति गरेको दाबी गर्ने नेताहरू मन्त्री बनेलगत्तै जीवनशैली बदलेर विलासी बन्न खोज्छन् ।

२ महिनाअघि सरकारमा सहभागी मन्त्रीहरूले पनि निवासमा विलासिताका सामान जोड्न प्रतिस्पर्धा गरेको पाइएको छ ।

मन्त्रीक्वार्टरमा विलासिताको सामान जोड्न प्रतिस्पर्धा गर्नेमा नयाँ दलका मन्त्रीहरू समेत छन् । पुराना दललाई गाली गरेर राजनीतिमा उदाएका नयाँ दलका मन्त्रीहरू विलासिताको लतमा परिसकेको उनीहरूको ‘डिमान्ड’ हेर्दा थाहा हुन्छ ।

ललितपुरको पुल्चोक हरिहरभवनस्थित मन्त्रीक्वार्टरमा १९ जना मन्त्री आ-आफ्नो परिवारसहित बस्छन् । उपप्रधानमन्त्रीदेखि मन्त्रीहरू समेत त्यहाँ बस्ने गरेका छन् ।

मन्त्रीहरूको क्वार्टर व्यवस्थापन शहरी विकास मन्त्रालयमातहत रहेको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गर्ने गर्छ ।

हरेक मन्त्रीले आफ्नो निवासमा सामान फेर्न, नयाँ सामान ल्याउन, नयाँ सामान किन्न संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग ‘डिमान्ड’ गर्ने गर्छन् ।

शहरी विकास मन्त्रालय स्रोतका अनुसार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी श्रीमती निकिता पौडेल लामिछानेले आफ्ना लागि ड्रेसिङ टेबल (मेकअप टेबल) ‘डिमान्ड’ गरेकी छिन् ।

‘गृहमन्त्रीज्यूकी श्रीमती निकिता म्यामले ड्रेसिङ टेबलका लागि पटक-पटक डिमान्ड गर्नुभएको छ’ विश्वस्त स्रोतले भन्यो, ‘महिला मन्त्री भएको भए ड्रेसिङ टेबल किनेर दिन पनि सकिन्थ्यो, तर पुरुष मन्त्री भएको हुनाले दिन सकिँदैन भनेर इग्नोर गर्दै आइएको छ ।’

निकिताले ड्रेसिङ टेबलका लागि पटक-पटक दबाब दिए पनि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले उपलब्ध गराएको छैन ।

अर्कातर्फ उपप्रधानमन्त्री लामिछानेले भने आफ्नो अगुवाइमा खटिने सुरक्षाकर्मीलाई समेत सरकारी निवासमै राख्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

मन्त्रीहरूको सुरक्षाका लागि १३ जना आर्मी बस्ने सुविधा मन्त्री निवासमा पहिलेदेखि नै गरिएको छ ।

त्यसबाहेक गृहमन्त्रीको पछुवाका रूपमा खटिने सशस्त्र प्रहरीको बासका लागि पनि पहिलेदेखि नै मन्त्री क्वार्टरमा सुविधा मिलाइएको छ । तर, गृहमन्त्री लामिछानेले आफ्नो अगुवाकोरूपमा खटिने नेपाल प्रहरीको टोलीका लागि समेत बस्ने आवास मन्त्री निवासमै मिलाउन निर्देशन दिएका हुन् ।

‘गृहमन्त्रीज्यूसँगै कोट लगाएर हिँड्ने पीएसओ र एकजना ड्राइभर बस्न पहिलेदेखि नै व्यवस्था मिलाइएको थियो’ उक्त स्रोतले भन्यो, ‘उपप्रधान तथा गृहमन्त्रीज्यूको पछुवाका रूपमा खटिने सशस्त्र प्रहरी, नेपाली सेनासहितका सुरक्षाकर्मीको १५-२० जनाको टोली आलोपालो मन्त्री निवासमै सुत्ने गरेको थियो । केही सुरक्षाकर्मी भने सुत्नका लागि राति जावलाखेलस्थित ब्यारेकमा जाने गरेका थिए ।’

तर, अब अहिले अगुवाका रूपमा खटिने १५ जना जतिको संख्यामा नेपाल प्रहरीका लागि पनि सुत्ने व्यवस्था मिलाउन निर्देशन दिइएको स्रोतले खुलायो ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेले अगुवा सुत्नका लागि व्यवस्था मिलाउन निर्देशन दिएपछि अर्का उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पनि अगुवाको व्यवस्थापन मिलाउन भनेका छन् ।

अर्का उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ पहिलेकै (गृहमन्त्री छँदाकै) निवासमा बसिरहेकाले उनका लागि अगुवापछुवाको नयाँ व्यवस्थापन गर्नुपरेको छैन ।

यसअघिका अर्का उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव भने मन्त्री क्वार्टरमा बसेका थिएनन् ।

ललितपुरको भैँसेपाटीस्थित मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको निवासमा उनी बसेका थिए ।

सरकारबाट बाहिरिएपछि उनले मुख्यमन्त्री निवास खाली गरेर साँचो संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयलाई हस्तान्तरण गरिसकेका छन् ।​

महासेठले नयाँ सोफा सेट किन्न लगाए, श्रममन्त्रीले फ्रिज

उपप्रधानमन्त्री महासेठले मन्त्री क्वार्टरमा पहिलेदेखि रहेको सोफा सेट हटाएर नयाँ फेर्न लगाएका छन् ।

‘उहाँहरू आउनेबित्तिकै मन्त्री क्वार्टरमा १ वर्षअघि किनेर राखिएको सोफा सेट परिवर्तन गरेर नयाँ किन्न निर्देशन दिनुभयो’ उक्त स्रोतले थप्यो, ‘१ वर्षअघि मात्र किनेको हुनाले फेर्न गाह्रो हुने भने पनि उहाँहरूले मान्नु भएन । हामीले नयाँ सोफा सेट किनेर ल्याउनुपर्‍यो ।’

महासेठ बसेको निवासबाट निकालिएको सोफा सेट नीति अनुसन्धान प्रतिष्ठान कार्यालयलाई दिइएको छ ।

‘सोफा पाएर नीति अनुसन्धान प्रतिष्ठान कार्यालयका कर्मचारीहरू निकै खुशी हुनुभयो । नयाँ नै रहेछ भनेर खुशी हुँदै लिनुभएको थियो’ उनले थपे, ‘तर, त्यही सोफा सेट उपप्रधानमन्त्रीज्यूका लागि भने उपयुक्त भएन ।’

उपप्रधानमन्त्री महासेठ मात्र होइन, अन्य मन्त्रीहरूले पनि अन्य सामान फेर्न लगाएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कार्यालयलाई नसोधी आफूखुशी फ्रिज किनेका छन् ।

‘श्रममन्त्रीज्यूले नयाँ फ्रिज किनेर आफूखुशी राख्नुभयो अनि बिल पठाउनुभयो’ स्रोतले भन्यो, ‘पुरानो फ्रिजमा माछामासु राखेको हुनसक्ने भनेर उहाँले नयाँ फ्रिज किन्नुभएको हो ।’

अर्यालले किनेको फ्रिजको बिल भुक्तानी संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गरिसकेको छ ।​

शिक्षा मन्त्री श्रेष्ठलाई नयाँ कार्पेट

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले भने आफ्नो बेडरूमको कार्पेट नै फेर्न लगाएकी छन् ।

‘त्यहाँ पहिलेदेखि नै राम्रो ब्रान्डको कार्पेट थियो । तर, मन्त्रीज्यूलाई ‘डस्ट एलर्जी’ हुन्छ भनेपछि कोरियन कम्पनीको प्लेन कार्पेट किनेर लगाइएको हो’ उनले भने ।

शिक्षामन्त्री श्रेष्ठ मात्र हैन, श्रममन्त्री अर्यालले पनि यस्तै तर्क गरेर कार्पेट फेर्न लगाएका छन् ।​ हरेकपटक मन्त्री फेरिएपछि बेडसिट, सिरकलगयतका सामान फेरेर नयाँ दिने गरिएको छ ।

‘त्यो (बेडसिट फेर्ने) फेर्ने कुरा स्वाभाविक नै हो । तर, अनावश्यक डिमान्ड हुने गरेको छ । पर्दा पनि हरेक मन्त्रीको श्रीमतीको इच्छाले नयाँ नै किनेर लगाउनुपर्ने डिमान्ड आउँछ’ स्रोतले भन्यो, ‘त्यसबाहेक भान्सा कोठाका लागि सबै आइटम नयाँ किनेर दिनुपर्छ ।’ पकाउने भाँडादेखि खाने भाँडा, इन्डक्सन चुलोदेखि ग्यास चुलो समेत मन्त्री फेरिएलगत्तै नयाँ किचेन सेट किनेर दिने गरिएको छ ।

‘हाम्रो कार्यविधिभन्दा बाहिरका सामान किनेर ल्याऊ भनेर मन्त्रीज्यूको पीए, श्रीमतीलगायतले डिमान्ड गर्नुहुन्छ’ उनले भने, ‘उहाँहरूले डिमान्ड गरे पनि हामीले इग्नोर गर्ने गरेका छौं ।’

विगतमा मन्त्री फेरिनेबित्तिकै मन्त्री निकटका वा राजनीतिक दल निकटका सप्लायर्समा पुगेर सामान किन्ने र बिल पठाउने गरिएकोमा भने कार्यालय आफैंले खरिद गरेर दिने गरेको छ ।

भैँसेपाटीमा मन्त्रीहरूको नयाँ क्वार्टर लगभग बनिसकेकाले केही महिनामै स्थानान्तर गर्ने तयारी छ । त्यहाँ मन्त्रालयको नाम नै लेखेर मन्त्री निवास बनाइएको छ ।

सोफा, फर्निचरलगायत सामानहरू किनेर राखिसकिएको छ । तर, पुल्चोक निवासमा मन्त्रीहरूले नयाँ-नयाँ सामानको ‘डिमान्ड’ गरिरहेका छन् ।

शुरूमा त मन्त्री फेरिनेबित्तिकै मन्त्रीहरूले आफ्ना पीएलाई पठाएर निवास कब्जा गर्न रेस नै लगाउने गरेको उनले सुनाए ।

‘केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारका तत्कालीन स्वास्थ्यमन्त्री (हाल गण्डकीका मुख्यमन्त्री) खगराज अधिकारीले आफ्नो अनुकूलको क्वार्टर नपाएपछि त्यहाँ रहेका सामानलाई लात्तीले हानेर कर्मचारीलाई गाली गर्नुभयो’ स्रोतले भन्यो, ‘अहिले पनि अनावश्यक डिमान्ड पूरा नगर्दा मन्त्रीज्यूको परिवारबाट कर्मचारीलाई गाली आउने गरेको छ ।’

वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी भने हात्तीवनस्थित अपार्टमेन्टको फ्ल्याटमा बसिरहेका छन् ।

मन्त्रीले किनेको फ्ल्याटमै बसे पनि फर्निचरलगायत सामान किन्नका लागि २ लाख र मासिक भाडाका लागि ४० हजार रुपैयाँको बिल संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयलाई पठाएका छन् ।

‘बिल आए पनि भुक्तानी भइसकेको छैन, त्यो प्रक्रियामै छ’ स्रोतले भन्यो ।

सरकारी निवासबाहिर बस्ने मन्त्रीलाई फर्निचर व्यवस्थापनका लागि एकमुस्ट २ लाख रुपैयाँ र मासिक ४० हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने गरिएको छ ।

अहिले नियुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव र राज्यमन्त्री हसिना खातुन पनि बाहिर नै बसिरहेका छन् । मन्त्री क्वार्टर ‘प्याक’ भएकाले उनीहरू बाहिर बस्नुपरेको हो ।
लोकन्तरबाट

  • ६ जेष्ठ २०८१, आईतवार १८:२७ प्रकाशित
  • Nabintech