१३ बैशाख २०८१, बिहीबार
अस्ट्रेलियालाई आश, डेनमार्कलाई त्रास
  • काँचुली खबर

विश्वकप समूह ‘सी’ मा मंगलबार बेलुका पौने आठ बजे अस्ट्रेलिया अघिल्लो चरणको आशासहित र पेरु प्रतिष्ठाका लागि खेल्दै छन् । यस्तै अघिल्लो चरणमा पुगिसकेको बलियो फ्रान्ससँग डेनमार्कले बराबरी मात्रै भए पनि खोज्नेछ ।

फ्रान्स ६ अंकसहित अघिल्लो चरणमा पुगिसकेको छ । डेनमार्कको ४ अंक छ । अस्ट्रेलियाको १ अंक छ भने पेरु अंकविहीन भएर बाहिरिसकेको छ ।

डेनमार्कसँगको खेलमा एक अंक मात्रै आएमा पनि फ्रान्स समूह विजेता बन्नेछ । डेनमार्क भने फ्रान्ससँगको खेलमा बराबरी वा अस्ट्रेलियाले पेरुलाई फराकिलो अन्तरमा हराउन नसके अघिल्लो चरणमा पुग्नेछ । फ्रान्सलाई हराउन सकेमा भने डेनमार्क समूह विजेता बन्नेछ ।

अस्ट्रेलियाको सम्भावनाका लागि उसले पेरुलाई हराउनुपर्नेछ र गोल अन्तर पनि डेनमार्कको भन्दा बढी हुनुपर्नेछ । साथै फ्रान्ससँगको खेलमा डेनमार्क पराजित हुनुपर्ने छ या बराबरीमा रोकिनुपर्ने छ ।

डेनमार्क भर्सेस फ्रान्स

डेनमार्कका युसुफ पोलसेनको स्थानमा मार्टिन बे्रथवेटलाई खेलाइने भएको छ । युसुफ दुई पहेँलो कार्डका कारण एक खेलको प्रतिबन्धमा छन् ।

फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले पोउल पोग्वा र ब्लेज माटुडीलाई डेनमार्कविरुद्धको खेलमा आराम गराउने भएका छन् । दुवैले एक एक पहेँलो कार्ड पाएकाले पनि प्रशिक्षक डेसच्याम्पले चुनौती मोल्न नचाहेका हुन् ।

फ्रान्सले पहिलो खेलमा अस्टे्रलियालाई २-१ ले र दोस्रो खेलमा पेरुलाई १-० ले हराएको थियो ।

पहिलो खेलमा पेरुलाई १-० ले हराएको डेनमार्क दोस्रो खेलमा अस्टे्रलियासँग १-१ को बराबरीमा रोकिएको थियो ।

डेनमार्क र फ्रान्स यसअघि विश्वकपमा दुई पटक भेटिएका छन् । जसमा सन् १९९८ मा २-१ ले फ्रान्स र सन् २००२ मा २-० ले डेनमार्क विजयी भएको थिए ।

विश्वकपमा फ्रान्सले समूह चरणका तीनवटै खेल जितेको सन् १९९८ मा मात्रै हो । जतिबेला तेस्रो खेलमा फ्रान्सले डेनमार्कलाई नै हराएको थियो ।

अस्ट्रेलिया भर्सेस पेरु

पहिलो खेलमा अस्ट्रेलिया फ्रान्ससँग २-१ ले हारेको थियो भने दोस्रोमा डेनमार्कसँग १-१ को बराबरीमा रोकिएको थियो ।

पेरु पहिलो खेलमा डेनमार्कसँग १-० ले र दोस्रोमा पनि फ्रान्ससँग १-० ले नै पराजित भएको थियो ।

अघिल्लो चरण पुग्ने आश बाँकी रहेको अस्ट्रेलियाका लागि यो खेल महत्वपूर्ण छ । पहिलोपटक सन् १९७४ पछि सन् २००६, २०१० र १०१४ को विश्वकप खेलेको अस्ट्रेलिया २००६ मा अन्तिम १६ सम्म पुगेको थियो ।

पेरु भने ३६ वर्षपछि विश्वकपमा फर्किएको टोली हो । चार पटक विश्वकप खेलेको पेरु सन् १९८२ यताका विश्वकपमा छनोट हुन सकेको थिएन । त्यसअघि पेरुले सन् १९३०, १९७० र १९७८ को विश्वकप खेलेको थियो । लामो समयपछि विश्वकपमा फर्किएको टोलीको हौसला बढाउन अहिले ४० हजारभन्दा धेरै समर्थक पेरुबाट रसिया पुगेका छन् ।

 

साभार : अनलाईनखबर

  • १२ असार २०७५, मंगलवार १९:०५ प्रकाशित
  • Nabintech