२१ बैशाख २०८१, शुक्रबार
निषेधाज्ञामा नागरिकता वितरण भएको हल्ला निराधार – पर्सा प्रशासन
  • काँचुली खबर

निषेधाज्ञा अवधिमा ठूलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भन्ने हल्ला निराधार रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता वितरण नभएको स्पष्ट पारेका हुन् ।
जिल्ला प्रशासन कार्यालयको नाम जोडेर हालै सामाजिक सञ्जालमा नागरिकता वितरण सम्बन्धि विषयलाई लिएर पोष्ट र आएका समाचारहरु प्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
“नयाँ भेरियन्टसहितको कोभिड–१९ संक्रमणको बढ्दो अवस्थालाई नियन्त्रण, रोकथाम र संक्रमणको श्रृङ्खला तोड्न वैशाख १६ गतेदेखि नै पर्सामा जिल्लाभर लागु हुनेगरी निषेधाज्ञा लागु गरिएको छ । निषेधाज्ञा जारी भएको अवस्थामा कार्यालयबाट शान्ति सुरक्षा कोभिड नियन्त्रणसँग सम्बन्धित कार्य एवम् अत्यावश्यक कामबाहेक अन्य सबै प्रकारका सेवा प्रवाह हाल स्थगन गरिएको छ । तसर्थ नागरिकता वितरणको कार्य पनि यस निषेधाज्ञा अवधिमा नगरिएको/नभएको व्यहोरा स्पष्ट गरिन्छ,” सहायक प्रजिअ पौडेलले विज्ञप्तिमा लेखेका छन् ।
निषेधाज्ञा अवधिमा ठूलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भनी सामाजिक सञ्जालमा भाइरल बनाइएको भिडियो फुटेज पुरानो रहेको प्रशासनले विज्ञप्तिमा स्पष्ट पारेको छ ।

  • १२ जेष्ठ २०७८, बुधबार १६:२७ प्रकाशित
  • Nabintech