नेपालगञ्जस्थित भेरी अस्पतालमा विरामी कुरुवालाई २० रुपैयाँमा खाना खुवाउँदै आएको अन्जनी माता रसोईलाई नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घ बाँकेले मंगलबार खाद्यान्न सहयोग गरेको छ ।
कोरोना महामारीको अवस्थामा भेरी अस्पतालमा विरामीका कुरुवालाई सस्तो तथा निःशुल्क जस्तै गरी खाना खुवाउने अभियानमा ऐक्यवद्धता जनाउँदै खाद्यान्न सहयोग गरिएको राष्ट्रिय युवा सङ्घ बाँकेका अध्यक्ष तीलकवीर सुनारले जानकारी दिए ।
उनका अनुसार, कोरोना सङ्क्रमित तथा उनिहरुका कुरुवालाई सस्तो दरमा खानाको प्रवन्ध मिलाउँदै आएको अन्जनी माता रसोईलाई खाना खुवाउने कार्यमा सहयोग स्वरुप ८ सय केजी चामल, दाल, तेल र नुन लगायतको खाद्य सामग्री आज प्रदान गरिएको हो ।
सो अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुन हलवाई, जिल्ला अध्यक्ष सूर्य ढकाल लगायत राष्ट्रिय युवा सङ्घ बाँकेका नेताहरुको सहभागिता रहेको अध्यक्ष सुनारले जानकारी दिए ।
राष्ट्रिय युवा सङ्घ बाँकेले यसअघि पनि कोरोना सङ्क्रमितलाई अक्सिजनको अभाव भएपछि भेरी अस्पताललाई रु. १ लाख ३३ हजार नगद सहयोग गरेको थियो ।
४ जेष्ठ २०७८, मंगलवार २०:५८ प्रकाशित