बुढी बज्यैको छिमेकी सहरमा नाम चलेको डाक्टर थियो । उसको चर्चा सहरका कुना कुनासम्म फैलिएको थियो । धेरै समय क्लिनिकमा र केही समय अस्पतालमा बित्थ्यो । घरमा श्रीमती, छोरा-छोरी र आमा थिए ।
एक्ली बुढी आमा, बैंसले मैमत्त स्वास्नी र कल्कलाउँदा छोराछोरीलाई कहिले समय दिन सकेको थिएन । सबैका आ-आफ्नै गुनासा थिए । ऊ भने पेसा र पैसामा लठ्ठ थियो । अभाव पूर्ति गर्नैपर्ने रहेछ । स्वास्नी अचेल खुसी नै छे । डाक्टर भन्दा पनि पैसा प्यारो लाग्छ उसलाई, अचेल ।
नेपाली मान्यता सबै बाबू-आमा, छोरा-छोरीलाई डाक्टर बनाउने सपना देख्छन् । छिमेकी डाक्टरको अवस्था नजिकबाट हेरेकी थिइन्, बज्यैले ।
दसैं आयो । टीकाको दिन ठूलाबाट टीका र आशीर्वाद लिने परम्परा छ । बज्यैले आफ्नो नातिलाई टीका लगाइदिंदै भनिन् ‘मेरो नाति ठूलो मान्छे भएस् तर खेतालाका भरमा घर चलाउनु पर्ने पल्ला घरको नालायक डाक्टर जस्तो चाहिँ नभएस् ।’
लघुकथा : ‘संस्कार’ !
छविलाल खड्का
कोहलपुर
३१ चैत्र २०७७, मंगलवार १९:३३ प्रकाशित