सहरको नाम चलेको विद्यालयका प्रिन्सिपल थिए, दामोदर सर । उनी विद्यालयको वातावरण सुधार गर्न अनेकौं जुक्ति बुद्धि लगाउँथे । उनको चर्चा चौतर्फी फिंजिएको थियो । उनी कार्यकक्षमा बसेर आगामी शैक्षिक सत्रलाई कसरी सफल बनाउने बारे योजनाहरु बुनिरहेका थिए ।
‘प्रिन्सिपल सर नमस्कार !’ अपरिचित व्यक्ति भित्र प्रवेश गरे ।
प्रिन्सिपल आगन्तुकलाई हेरी आफूलाई समाल्दै भने, ‘नमस्कार, आउनुस् । बस्नुस् । के सहयोग गर्न सक्छु म, भन्नुस् ?’
‘अब केही सहयोग गर्नु पर्दैन सर । काफी सहयोग भयो, मलाई । म त हजुरलाई धन्यवाद र सरप्राइज दिन आएको हुँ ।’
नचिनेको मान्छेले धन्यवाद र सरप्राइज दिन आएको भन्दा प्रिन्सिपल अक्क न बक्क परे । नम्र भावमा भने, ‘माफ गर्नु होला मैले त चिन्न सकिन । फेरि केका लागि धन्यवाद दिन आउनुभयो ?’
मेरो नाम सागर । म प्रमुख कर अधिकृत । हजुरले विद्यालयको वार्षिकोत्सवमा मञ्चन गराउनु भएको लागू पदार्थ र यसको असर विषयक नाटकले चार वर्षदेखि नशामा लठ्ठिएको मेरो छोरोको दिमागको बिर्को खोली दियो । एक सातादेखि खाएको छैन । अब नशा नखाने बरु यही विद्यालयमा पढ्ने इच्छा गरेको छ ।
बाबू विज्ञान भित्र आऊ ।
लघुकथा : ‘संस्कार’ !
छविलाल खड्का
कोहलपुर
११ चैत्र २०७७, बुधबार १६:४३ प्रकाशित