‘ए हजुर, सुन्नु न भन्या ! आज मलाई बजार जानुछ । घरको रेखदेख गर्नुहोला है ।’ गंगाले श्रीमानलाई सुझाई ।
‘गंगा आज मलाई डिष्टर्व नगर न । म रजस्वाला भएको छु, क्या । मैले गर्भाधान गर्नुछ । एउटा असल सन्तानलाई जन्म दिनुछ ।’ गंगालाई सम्झाउदैं थिए पर्वत ।
‘ह्य, क्या नचाहिने, नचाहिने कुरा गर्या भन्या !’ गंगा रिसले च्याँठिदै बजारतिर लागिन् ।
गर्भाधानको उपयुक्त समय थियो । वातावरण शान्त थियो । पर्वत साँच्ची ध्यानमग्न भयो । तर सन्तानलाई जन्म दिन निकै पीडादायक हुँदो रहेछ । उसलाई प्रसव व्यथाले च्याप्यो । गंगाले छोरो जन्माउँदा गरेको अलाप विलाप सम्झ्यो । सन्तान जन्माउँदाको पीडा महशुस गर्यो ।
गंगा बजारबाट फर्किइन् । आँगनमा बाँधेका पशु वस्तु जस्ताका तस्तै थिए । घाँस पानी केही नपाएर गंगातिर हेर्दै खानाको याचना गरिरहेका थिए, पशुवस्तुहरु ! यो दृश्य देखेर खुब रिसाइन् उनी । श्रीमानको कोठामा पुगिन । गंगालाई देखेर पर्वतले भने, ‘गंगा, सन्तानलाई जन्म दिन साँच्चै गाह्रो र पीडादायक हुँदोरहेछ । प्रसव वेदनाबाट जन्मेको सन्तान कति प्यारो हुँदोरहेछ हगि आमालाई । ल हेर मैले जन्माएको सन्तान भन्दै डायरी दिए ।’
गंगाले डायरी खोेली हेर्दा एउटा लघुकथा थियो !
लघुकथा : ‘संस्कार’ !
छविलाल खड्का
कोहलपुर
६ चैत्र २०७७, शुक्रबार १६:४५ प्रकाशित