२१ बैशाख २०८१, शुक्रबार
शास्त्रार्थ गरौं, हारे ‘विप्लव’ को पछि लाग्छु : प्रचण्ड
  • काँचुली खबर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले लिएको शान्तिपूर्ण बाटो र नेत्रविक्रम चन्द विप्लवले भनेको वैज्ञानिक समाजवादको विषयमा शास्त्रार्थ गर्न आग्रह गरेका छन् ।

काठमाडौंमा जनयुद्धका शहीद भरत ढुंगानाको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा विप्लव समूहका नेता अनिल शर्मा विरहीले शास्त्रार्थ गर्ने प्रस्ताव राखेपछि प्रचण्डले स्वीकार गर्दै शास्त्रार्थमा आफू हारे पछि लाग्न तयार रहेको बताए ।

‘शास्त्रार्थ गरौं, जसले जित्छ त्यसलाई सबैले मानौं, म शास्त्रार्थका लागि तयार छु’ उनले भने, ‘कति दिन बस्नुपर्ने हो बसौं, इमान्दारिताका साथ बसौं, तपाईहरुले जित्नुभयो भने म तापाईका पछि लाग्छु ।’

आफू शान्ति प्रक्रियामा आएपछि जनयुद्धका कतिपय मुद्धा सम्बोधन भएको भन्दै त्यसलाई उपलब्धी नै भएन भन्नु ठीक नहुने प्रचण्डले बताए ।

‘भएको उपलब्धीलाई केही होइन भनेर एक्लै बसेर मात्र हुन्छ रु’ प्रचण्डले प्रश्न गरे ‘हुन्छ भने शास्त्रार्थमा प्रेस गरौं, १०/१५ दिन कति लाग्छ शास्त्रार्थ गरेर बसौं, निश्कर्ष निकालौं । वैज्ञानिक समाजवाद र साम्यवादका लागि लड्न म तयार छु ।’

प्रचण्डले अघि भने ‘मेरो विचारमा म लडिरहेको छु, तपाईको विचारमा तपाई लडिरहनुभएको छ । साँच्चै को लडेको हो शास्त्रार्थबाट निश्कर्ष निकालौं । मलाई लाग्छ हामी एकै ठाउँमा आउछौं ।’

अहिले जनयुद्धको उपलब्धी ध्वस्त पार्ने प्रयास भएको भन्दै प्रचण्डले त्यसविरुद्ध फेरि शान्तिपूर्ण युद्ध लड्नुपर्ने अवस्था आएको बताए । ‘शान्तिपूर्ण ढंगले जनविद्रोह नेपालमा मात्र सम्भव छ’ उनले भने ।

  • २७ फाल्गुन २०७७, बिहीबार १९:५८ प्रकाशित
  • Nabintech