सात वर्ष अघि जिम्वाल खानदानमा जुनेली भित्रिंदा सबैले भाग्यमानी रहिछे भन्थे । नभन्दै खान लाउनको कुनै कमी थिएन । घरमा नोकर चाकर थिए । कामको पनि त्यति चटारो थिएन । सबै भरिपूर्ण हुँदा पनि जुनेलीलाई केही अभाव खट्किरहेको थियो । गाउँघर छरछिमेकमा पनि गाइँगुई चल्न थाल्यो । जिम्वालनीबाट सन्तान नहुने नै हुन् त ! यो भनाईले जुनेलीलाई निकै पीडा हुन्थ्यो ।
एक दिन आफ्नै घरमा काम गर्ने भक्तेसँग जिम्वालनी भागेको कुरा भुसको आगो झै गाउँभरि फैलियो । सबैले अचम्म माने । केहीले जिब्रो टोके । यो घटनाले जिम्वाल खानदानको एक्लो छोरो घमण्डलाई पनि अति भयो ।
‘खोपिकी देवी झै पूजेर राखेको थिएँ । मेरो घरको खान्कीले बोसो लाग्यो त्यो राँडलाई १ अब घिच्ली नि, त्यो नागाको घरमा भुँडी फुटुन्जेल !’ घमण्ड चिल्लायो ।
उसले आफ्नो रौद्रिक रुप देखाउँदै भन्यो, ‘त्यो राँडका पट्टीलाई भेटे भने तीन टुक्रा पारिदिन्छु । सुखले बस्न दिए त मेरो नाउँ पनि घमण्ड होइन । मेरै सातु खाने, मेरै जरा काट्ने । रोटीको टाउको हुन्न, आइमाईको आँखा हुन्न भन्थे बुढापाका साँच्ची रहेछ ।’
हातमा खुकुरी नचाउँदै आगनभरि नाच्यो । छिमेकीहरु कोठा-चोटा र झ्याल-आँखी झ्यालबाट चियाए ।
दुई हप्ता पछि गाउँकी मुख्यानी स्वर्गे भइन् । गाउँभरका सबै मलामी गए । भक्ते पनि मलामी आएको देखेर घमण्डका छिमेकीले आज अनिष्ट हुने शंका गरे । दुई हप्ता अघिको घमण्डको रिस र व्यवहारले यस्तै संकेत गर्थ्यो । भक्ते अँध्यारो चन्द्र लाएर आफूलाई दोषी करार गरिरहेको थियो । घमण्ड नजिकै गएर सोध्यो, ‘जुनेलीलाई कस्तो छ ?’
लघुकथा : ‘संस्कार’ !
छविलाल खड्का
कोहलपुर
२४ फाल्गुन २०७७, सोमबार १२:५१ प्रकाशित