१६ बैशाख २०८१, आईतवार
प्रधानमन्त्रीको सुरक्षा पार्टीले गर्छ : माधव नेपाल
  • काँचुली खबर

नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको सुरक्षा आफ्नो पार्टीले गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा आफ्नो ज्यान खतरामा रहेको बताएका थिए ।

२४ घण्टा नै सुरक्षा घेराभित्र हुने प्रधानमन्त्रीले सुरक्षा खतरा रहेको बताएको भोलिपल्ट त्यसतर्फ व्यङ्ग्य गर्दै नेता नेपालले सबैले बिचार गर्नुपर्ने बेला आएको बताएका हुन् । ‘मुलुककै प्रधानमन्त्री आफ्नो ज्यानको खतरा छ भनेर हिँडिरहेका छन् । यो निक्कै गम्भीर कुरा हो’, उनले भने, ‘मुलुकमा प्रधानमन्त्री असुरक्षित हुन हुँदैन । प्रधानमन्त्रीको जीवन सुरक्षित गर्ने कामको जिम्मेवारी हामीले बोक्नुपर्ने हो भने पनि त्यसका लागि तयार छौँ ।’

विराटनगरमा प्रेस संगठन नेपाल मोरङले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफू वर्षौदेखि ज्यानलाई जोखिममा राखेर हिँडिरहेको पनि बताए । नेता नेपालले प्रधानमन्त्रीको सुरक्षाका लागि आफ्नो पार्टीले पहल गर्ने बताउँदै मुलुकमा प्रधानमन्त्रीलाई असुरक्षित हुन दिन नहुने तर्क राखे ।

उनले प्रतिगमनविरुद्ध संघर्षमा उत्रिएका दलहरुसँग मिलेर र हातेमालो गरेर नयाँ सरकार बनाउने पक्षमा आफूहरु रहेको पनि बताएका छन् । नेकपा, कांग्रेस र जसपा (जनता समाजवादी पार्टी) मूल तीन पार्टीहरुबीचमा छलफल भएर नयाँ सरकार गठन गरिने उनको भनाइ छ । ‘कांग्रेससँग छलफल चलिरहेको छ । जसपाले के निर्णय गर्छ भन्ने हेर्न बाँकी छ,’ नेता नेपालले भने, ‘जसरी पनि सहमतिमै नयाँ सरकार गठन हुन्छ । हामीलाई प्रधानमन्त्री चाहिँदैन भनिसकेका छौँ ।’

उनले कांग्रेस र जसपा जसलाई भए पनि प्रधानमन्त्री सुम्पन आफ्नो दल तयार रहेको बताए । नेकपाले प्रधानमन्त्री दाबी नगर्ने भएकाले अरुलाई नै छाड्न तयार रहेको नेपालले स्पष्ट पारेका हुन् । उनले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव जसरी पनि दर्ता गरिने बताए । ‘हामीले उहाँहरु (कांग्रेस, जसपा)लाई तपाईहरु प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुस् हामी साथ दिन्छौँ भनेका छौँ,’ नेपालले भने, ‘हैन भने हामीले ल्याउँदा साथ दिनुस् भनेका छौँ ।’ यसअघिको अविश्वास प्रस्तावका बारेमा भने सर्वोच्चको फैसलाको असर हेरेर संसद सचिवालयले निर्णय लिनुपर्नेमा उनको जोड छ ।

प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै प्रतिगमनमा लागेका व्यक्तिका हकमा प्रश्चाताप र गल्ती महसुस गरेर आएमा पार्टीभित्र स्वागत गर्न तयार रहेको पनि उनले बताए । तर प्रतिगमनका मतियार र बहाकबाट भने मुक्ति चाहेको उनको जिकिर थियो । असंवैधानिक कदमलाई सच्याउँदै संसद पुनस्थापनाको फैसला गरेर सर्वोच्च अदालतले ऐतिहासिक र साहसिक काम गरेको नेपालको भनाइ थियो । सर्वोच्चको फैसलाले शक्ति र संविधानवादको जित भएको उनले बताए ।

नेता नेपालले आफूहरु नै आधिकारिक नेकपा भएको र निर्वाचन आयोगले पनि त्यसको संकेत दिइसकेकोे बताए । चार सय ४१ जना केन्द्रीय सदस्यबाट निर्णय गराएर दाबी गरिएका कारण आयोगले आफूहरुलाई आधिकारिक मानिसकेको र आयोगले आधिकारिकता दिन मात्रै बाँकी रहेको उनको जिकिर थियो ।

चार सय ४१ जनाको बहुमतले गरेको निर्णय आयोगले मान्नै पर्ने जिकिर गर्दै उनले बहुदल र लोकतन्त्रमा बहुमत शक्तिशाली हुने दाबी गरे । ओलीप्रति लक्षित गर्दै नेपाल नेपालले भने, ‘एउटा सानो चोइटो बालुवाटारमा बसेको बस्यै छ । यता विशाल पार्टीको बैठक भएको भयै छ । दुईतिहाई भन्दा बढी हामीसँग हुँदा पनि आयोगले निर्णय लिन सकेको छैन । आयोगले कहिले निर्णय गर्छ भन्ने कुराको जिम्मा चैँ हामी लिन सक्दैनौँ ।’ तर आयोगलाई भड्काउने पक्षमा आफूहरु नरहेको र नेपाली जनतालाई खुशी पार्ने पक्षमा रहेको उनले बताए ।

  • १८ फाल्गुन २०७७, मंगलवार १५:०६ प्रकाशित
  • Nabintech