मालपोत कार्यालयका खम्बा हुन्, ‘सुब्बा….’ । यो कार्यालयमा पदीय सुब्बा धेरै होलान तर गुमनाम छन् । सुब्बा साप भनेपछि सबैले उनैलाई चिन्छन् । उनी माथिदेखि तलसम्म सेटिङ्ग गर्न माहिर छन् । दलाल र लेखनदासहरुले मालपोतको हिरो भन्छन् भने हाकिमहरुले सफ्टवयर ठान्छन् । नयाँ हाकिम आउँदा नै ‘सुब्बा ….’ को नाम जपेर आउँछन् । कार्यालय परिसरमा सुन्ने गरिन्छ, सुब्बा हुनु त …….. जस्तो हुनु । उनीसङ्ग अद्भूत कला छ । हुने कामलाई नहुने र नहुने कामलाई हुने गराई दिन्छन् ।
‘टिरिङ्ग ! टिरिङ्ग !!’ मोबाईलको घण्टी बज्छ ।
‘हेलो !’ सुब्बा ।
‘हेलो ! सुब्बा साप नमस्कार ।’ परिचित आवाज ।
‘नमस्कार ! नमस्कार !! के छ, भगवानको इच्छा ?’
‘सर, आज एउटा बसाइ गर्नु पर्यो । साँझ छ बजे ऐजन ऐजन ठाऊँमा ।’
‘अोके ! भगवानको जस्तो इच्छा ।’
सुरा-सुन्दरी सहितको बसाइको व्यवस्थापन भयो । सुब्बा साप आधा घण्टा ढिला पुगे । उनको स्वागतार्थ सबै तम्तयार थिए । अौपचारिकता पश्चात् बसाइ सुरासहित शुरु भयो । दलालले नयाँ कार्ययोजना पेश गर्यो । लेखनदासले बिचबिचमा सहजीकरण गर्यो । यसबाट हुने लाभ हानीको पनि विश्लेषण भयो । यो प्रोजेक्ट सुब्बा सापलाई पनि मन पर्यो ।
‘भगवानको यस्तै इच्छा छ भने गरौं । तर बल्छीको चारो ?’ सुब्बा ।
सबै व्यवस्था हुन्छ ।
सुराले आफ्नो कमाल देखाउँदै थियो । त्यसमा सुन्दरी थप भयो । अब सुरा-सुन्दरीसङ्ग सुब्बा सापले भगवानको इच्छा पूरा गरे ।
एक साताभित्र फाइल तयार भयो । सहरको मुटुमा रहेको अढाई बिघाह गुठीको जग्गा व्यक्तिकोमा नामसारी हुँदैथियो । सुब्बा सापले फाइल चेक गरि लेखनदास मार्फत हाकिमकोमा पठाए । फाइल हेरेर हाकिम अलमलमा परे । फाइल सदर गर्नुअघि सुब्बा सापलाई बोलावट भयो । कार्यकक्षमा सुब्बा प्रवेश गर्दै भने, ‘सब ठीक छ । हाकिम साप । अस्तिको उपहार के त ?’
लघुकथा : ‘संस्कार’ !
छविलाल खड्का
कोहलपुर
१० फाल्गुन २०७७, सोमबार १७:०० प्रकाशित