१३ बैशाख २०८१, बिहीबार
लघुकथा : भगवानको फल !
  • काँचुली खबर

‘शिशिर, ए शिशिर ! मेरो नाति र नातिनी खेलाउने रहर पूरा नभएरै मर्छु कि क्या हो ! हैन तैंले के सोच्दै छस् । विहे भएको पनि यत्रो वर्ष भैसक्यो । समयमै बुद्धि पुर्या नत्र यत्रो सिरसम्पति कल्ले खान्छ । यसले सन्तान दिन सक्दैने भने अर्की ल्याएर भए पनि सन्तान त बनाउनु पर्छ । मर्दका दस वटी हुन्छन् ।’ सासूले छोरालाई सुनाउने यस्तै यस्तै गायत्री मन्त्र यदाकदा उषाले पनि सुन्ने गर्छे । शिशिर भने नाजवाफ छ ।

सन्तान प्राप्तीका लागि व्रत बन्ध, पुजाआजा, धर्मकर्म, सप्ताह रुद्री, धामी, वैद्य केही बाँकी राखिन उषाले । तर पनि यो लामो समयको प्रयत्नबाट पनि परिणाम ननिस्केपछि एक दिन उषाले सुटुक्क हस्पिटल गएर जाँच गराई । रिपोर्ट अनुसार ऊ सन्तान जन्माउन सक्षम छे । उषालाई एउटा ट्रायल चेक गर्ने विचार आयो ।

‘साँप पनि मर्ने, लठ्ठी पनि नभाँच्चिने’ खाले युक्ति सोची, उषाले । कलेजको पुरानो साथी बसन्तलाई फोनबाटै भेट्ने चाँजोपाँजो मिलाई ।

लामो समयको भेट पश्चात् उषाले अनौठो माग राखी, ‘घरको विऊ किरा लागेर गैह्रावारी खेत बाँझै भयो, लौ न मलाई विऊ पैंचो दिनुपर्यो ।’

उसको माग अनुसारको विऊ उपलब्ध गराउन राजी भयो वसन्त पनि । विऊ दियो । विऊ छरेर घर फर्की उषा ।

समय आफ्नै रफ्तारमा अघि बढिरहेको छ । समयसंगै शिशिरको घरमा खुसीको संकेत देखा पर्दै गयो । सधैं लम्बेतान रटान लाउने आमामा खुसी सञ्चार भयो । बुहारीको देखभालमा तनमन दिएर जुटिन् ।

भगवान प्रसन्न भए । बुढीको पुकारा सुने । घरमा छोराको आगमन भयो । खुसीको सीमै रहेन । लामो संघर्ष पश्चात् प्राप्त पुत्र लाभले शिशिरमा बधाईको वर्षा भयो । आफू पनि बाउ बन्न सफल भएकोमा धन्य ठान्यो । न्वारन-पास्नीमा मन फुकाएरै खर्च गरे ।

छोरो बाउ आमाको हात समाएर टुक्रुक्क टुक्रुक्क हिड्न थाल्यो । गाउँलेहरु एक अर्काका कानमा फुस्फुसाए, ‘आफ्नो साखो सन्तान कोहीसँग नमिल्ने कुन गोता आएको होला ?’

लघुकथा :  ‘संस्कार’ !

छविलाल खड्का
कोहलपुर

  • ७ फाल्गुन २०७७, शुक्रबार १८:२६ प्रकाशित
  • Nabintech