सलोन अढाई वर्षकै हुँदा बुवा खस्नु भएकोले लालन पालन गर्ने जिम्मा आमा साराङ्गाको थाप्लोमा आइलाग्यो ।
सलोन विलक्ष्ण प्रतिभा भएर निस्कियो, चित्रकलामा । उसका चित्रहरुले बजारमा चर्चा पाउन थाले । उसको जीवन जिउने आधार नै यही भयो ।
सानो परिवार सुखी परिवारको रुपमा जीवन गाडा चलिरहेकै थियो । ‘दुई सन्तान, ईश्वरका वरदान’ बुढी आमै र जीवन सङ्गीनीका साथमा खुसीले जिएको थियो । धेरै चित्रहरु मध्ये खुब मिहिनेत गरेर आमा-बाको चित्र बनाएको थियो । यही चित्र हेरेर नै पतिको मायाको तिर्खा मेट्थिन्, साराङ्गाले । आमाको मन परेको चित्र भएकाले सलोनले यो चित्र बेचेको थिएन ।
‘टुहुरो भए पनि सफल चित्रकार भयो, मेरो छोरो ।’
उसको परिवारको सुख शान्तिप्रति दैवलाई पनि ईर्ष्या लोगेछ क्यारे ! साराङ्गा अचानक विरामी भईन् । झाँक्री, धामी, वैद्य, डाक्टर आदि गर्दा पनि पार लाग्न सकेन । विरामीको हेरचाहमा खट्नु पर्दा काममा बाधा पर्यो । यसको असर आम्दानीमा गिरावट आयो ।
एक दिन सलोन आफ्नो जीवनकै महत्वपूर्ण सम्पति आमा-बाको चित्र बेच्ने निर्णयमा पुग्यो । आमाका अोखतिका खातिर बजारमा कौडीको मोलमा बेचेर अोखति बोकेर घर आयो । अोखतिले बिसेक भयो । आमाले आँखा खोलिन् । अलि अलि कुराकानी गर्न थालिन ।
‘बाबू, हाम्रो चित्र कहाँ राखिस् ? मलाई तेरो बाको मुख हेर्न असाध्यै मन लाग्यो ।’ आमाले खोजिनीति गरिन् ।
‘धुलो लागेको थियो । सफा गर्न निकालेको आमा ।’ सलोनले ढाँट्यो ।
छिटो ल्या भनेर जिद्धी गरे पछि सलोन यथार्थ बताउन बाध्य भयो ।
बर्बर्ती आँसु खसाल्दै आमाले भनिन्, ‘कसरी बेच्न सकिस् मेरो जिउने आधारलाई ? तैले त मलाई जिउँदै मारिस् । ऊ नभए म बाँच्न सक्दिन । जसरी भए नि फिर्ता लिएर आ बाबू ।’
एकहोरो मेरो चित्र किन ल्याइनस् ? भन्ने रटानले छोरो पनि समस्यामा पर्यो भने उता अलि तङ्ग्रिएकी आमा झन थला परिन् । ऋण सापटी गरेर भए नि चित्र फिर्ता लिन गयो । कौडीको भाउमा बेचेको चित्र हिरा जुहारतको मोल तिरेर मुश्किलले फिर्ता ल्यायो ।
सलोन आमालाई खुसी पार्न चित्र बोकेर घर आयो । घर गुग्दा आमाले संसार छोडि सकेकी थिइन् !
लघुकथा : ‘संस्कार’ !
छविलाल खड्का
कोहलपुर
२ फाल्गुन २०७७, आईतवार १७:११ प्रकाशित