१२ बैशाख २०८१, बुधबार
कथा : प्रधानमन्त्रीले जुँगा ट्रिम गर्नुभयो !
  • काँचुली खबर

वसन्तपुर दरबार स्क्वायर । प्रातः बेला थियो । घाम उदाइसकेको थिएन ।

दरबारक्षेत्रको एक भागमा एउटा पलङ थियो । पलङछेवै कमोड थियो । कमोड छेवै बाथ-टब थियो । बाथ-टब छेवै यामानको पित्तले गाग्री थियो । गाग्रीछेवै ड्रेसिङ टेबल थियो । ड्रेसिङ टेबलमा काइँयो थियो । कैँची थियो ।

कैंची ? कस्तो कैँची ? बियर्ड ट्रिमिङ सिजर क्या ! दाह्री-जुँगा ट्रिम गर्ने कैँची ।

पलङमा प्रधानमन्त्री निदाइरहनुभएको थियो । उहाँ सर्वाङ्ग नाङ्गो हुनुहुन्थ्यो ।

पलङको सिरानतिर जङ्गी पोशाक लगाएको प्रधामन्त्रीको बडीगार्ड उभिएको थियो । उसको हातमा राइफल थियो । कुनै हलचल नगरी प्रधानमन्त्रीलाई पहरा दिइरहेको थियो ।

५ः५५ बजे

कतैबाट भँगेरा आई पलङमा बस्यो । प्रधानमन्त्रीको छातीमा चढ्यो । फर्‍याक-फुरुक गर्‍यो । सर्दै-सर्दै, सर्दै-सर्दै गुप्ताङ्गतिर पुग्यो । मुर्झाएको लिङ्गलाई ठुँग्न थाल्यो ।

प्रधानमन्त्री सपनामै मुस्कुराउनुभयो ।

बडीगार्डको नजर प्रधानमन्त्रीको लिङ्ग ठुँगिरहेको भँगेरामा पर्‍यो । उसले पोजिसन लियो । लिङ्गतिर राइफल सोझ्यायो । भँगेरा भुर्र उडिगयो ।

६ः०५ बजे

घाम झुल्क्यो ।

प्रधानमन्त्रीको नग्न शरीरमा घामको सुनौलो किरण पर्‍यो । उहाँ जाग्नुभयो । आँखा मिच्नुभयो । ओछ्यानमै बसीबसी जीउ तन्काउनुभयो । घाँटी मर्‍याकमुरुक गर्नुभयो ।

बडीगार्डले बुट बजारेर सलाम ठोक्दा निस्केको जङ्गी आवाजले प्रधानमन्त्री झस्कनुभयो । निजले उहाँको ब्रसमा लाल दन्तमञ्जन हालिदिएपछि उहाँ कमोडमा गई बस्नुभयो । दाँत माझ्न थाल्नुभयो ।

६ः३० बजे

दिसा खलास भएपछि प्रधानमन्त्री बाथ-टबमा पस्नुभयो । बडीगार्डले गाग्रीबाट जग-का-जग पानी निकालेर प्रधानमन्त्रीको जीउमा खन्याइदियो ।

प्रधानमन्त्रीले आङ मिचीमिची नुहाउनुभयो ।

७ः१५ बजे

गलैँचा ओछ्याइएको भुइँमा प्रधानमन्त्री बस्नुभयो । आँखा चिम्लेर लामोलामो श्वास तान्न, फाल्न थाल्नुभयो । प्राणायाम, कपालभाँतीलगायत प्रातःकालीन योगाभ्यास गर्नुभयो ।

७ः४५ बजे

प्रधानमन्त्री ड्रेसिङ टेबलसामु उभिनुभयो । आफ्नो रूप हेरी-हेरी आफैँ दङ्ग हुनुभयो, मख्ख पर्दै मुस्काउनुभयो । काइँयोले कपाल कोर्नुभयो । कैँचीले जुँगा ट्रिम गर्नुभयो ।

८ः०० बजे

प्रधानमन्त्रीले अखबारका हेडलाइनहरू सर्सर्ती पढ्नुभयो । प्रत्येक पत्रिकाका राशिफलचाहिँ बडो चाखपूर्वक पढ्नुभयो ।

८ः०५ बजे

बडीगार्डद्वारा प्रधानमन्त्रीलाई ब्रेकफास्ट सर्भ गरियो ।

उहाँले कालो चिया पिउनुभयो । उमालेका दुइटा अण्डा खानुभयो । दुई टुक्रा ससेज टोक्नुभयो । बटर दलेको पाउरोटी चपाउनुभयो । प्यान केकलगायत दूधमा घोलिएको कर्नफ्लेक्स खानुभयो । पूरा-का-पूरा एक जग जल पनि सेवन गर्नुभयो ।

त्यसपछि पालो आयो औषधिको । प्रधानमन्त्रीले डायबिटिज, उच्च रक्तचाप, हाइपर टेन्सन, क्रोनिक ब्रेन्काइटिस, युरिक एसिडलगायत रोग उल्लेख गरिएका प्याकेटबाट नानाभाँतीका पिल्स, ट्याब्लेट, क्याप्सुल र चूर्ण निकालेर पानीसितै घुटुक्क-घुटुक्क निल्नुभयो ।

८ः५५ बजे

प्रधानमन्त्री : तपाईंले मलाई गुड मर्निङ भन्नुभयो ?

बडीगार्ड : भनेको छैन हजुर !

प्रधानमन्त्री : भन्नुस् न त !

बडीगार्ड : गुड मर्निङ प्रधानमन्त्रीज्यू !

प्रधानमन्त्री : गुड मर्निङ ! मेरो सरकार तपाईंलाई कस्तो लागिरा’छ ?

बडीगार्ड : गज्जब, सरकार ! भव्य, सरकार !

प्रधानमन्त्री : एक शब्दमा भन्नुपर्दा म कस्तो प्रधानमन्त्री हुँ ?

बडीगार्ड : अद्‌भुत !

प्रधानमन्त्री : तपाईंलाई मेरो के चीज सबैभन्दा बढी मन पर्छ ?

बडीगार्ड : सबै चिज मन पर्छ हजुर !

प्रधानमन्त्री : तैपनि ! एउटा भन्नुपर्दा ?

बडीगार्ड : मलाई हजुरको जुँगा मन पर्छ । हजुरले जुँगा ट्रिम गरेको निकै मन पर्छ ।

प्रधानमन्त्री : मेरो सरकार अझ प्रभावकारी कसरी होला ?

बडीगार्ड : बेला-बेला जुँगा ट्रिम गरिबक्स्योस् । हिजोआज त कालो-कालो पनि हुँदै गा’छ । जुँगा छाँटिबक्से सरकार आफैँ प्रभावकारी भइजाला ।

प्रधानमन्त्री : तपाईंको जवाफले म प्रसन्न भएँ । अब सबै कपडा फुकालेर मजस्तै नाङ्गो हुनुस् ।

बडीगार्ड : त्यसो नभनिबक्स्योस् सरकार । मलाई लाज लाग्छ ।

प्रधानमन्त्री : देशको प्रधानमन्त्री नाङ्गो छ । मलाई लाज लागेको छैन । तपाईंलाई चाहिँ किन लाज लाग्ने रु कपडा फुकाल्नुस् ।

बडीगार्ड : हजुरको जो आज्ञा सरकार !

९ः१५ बजे

टेलिफोनको घण्टी बज्यो ।

प्रधानमन्त्रीले फोन रिसिभ गर्नुभयो । केही बेर अँअँ, होहो भनी मुन्टो हल्लाउनुभयो । आफ्नो बोल्ने पालो आएपछि उहाँले फोनमा भन्नुभयो, ‘राष्ट्रपतिज्यू ! सार्वजनिकस्थलमा जनताका सामु देशको प्रधानमन्त्री यसरी नाङ्गै उपस्थित भएकोमा तपाईंले खेद प्रकट गर्नु स्वाभाविक हो । तर, म तपाईंलाई के जानकारी गराउँछु भने आज दिनभर यसरी नै नग्न अवस्थामा म यहाँ प्रदर्शित हुनेछु । यस्तो गर्न नितान्त आवश्यक पनि छ, किनभने म अरू प्रधानमन्त्रीजस्तो कदापि होइन ।’

उहाँ केही बेर अडिनुभयो । उताको कुरा सुन्नुभयो । राष्ट्रपतिले के भन्नुभयो कुन्नि, उहाँको मुहारमा केही तनाव झुल्क्यो । बडी ल्याङ्वेज असहज देखियो ।

आफ्नो गुप्ताङ्ग कन्याउँदै प्रधानमन्त्रीले फोनमा भन्नुभयो, ‘तपाईंले मेरो नग्नतालाई मिसइन्टरप्रेट गर्नुभयो । गलत ढङ्गले बुझ्नुभयो । यो दरबार स्क्वायरको सार्वजनिकस्थलमा दिनभरि नाङ्गै बसी म जनतालाई के सन्देश दिन चाहन्छु भने यो सरकार पारदर्शी छ । निकै पारदर्शी । यस्तो पारदर्शी सरकार न भूतमा थियो, न त भविष्यमा नै हुनेछ ।’

प्रधामन्त्रीले फोन राखिदिनुभयो ।

यतिन्जेल दरबार स्क्वायरमा जनताको अपार भीड लागिसकेको थियो । नग्न प्रधानमन्त्रीको पारदर्शी कुरा सुनेर उनीहरूले ताली बजाए । प्रधानमन्त्रीको मुक्तकण्ठले प्रशंसा गरे । जयजयकार गरे ।

जनताको उल्लासमय भीडलाई हेर्दै प्रधानमन्त्री मुसुक्क मुस्कुराउनुभयो ।

(यो कथा नगरकोटीको प्रकाशोन्मुख कथा-सङ्ग्रह ‘कल्प-ग्रन्थ’बाट लिइएको हो ।)

शिलापत्रबाट

  • १२ माघ २०७७, सोमबार १५:०९ प्रकाशित
  • Nabintech