७ बैशाख २०८१, शुक्रबार
भोलीसम्म सबै प्रदेशमा पुग्ने छ कोरोना खोप
  • काँचुली खबर

कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारतले अनुदानमा उपलब्ध गराएको खोप सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ । उनका अनुसार प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिएको छ र आइतबारसम्म सबै प्रदेशमा खोप पुग्ने छ ।

पहिलो चरणको खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ । सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० अस्पतालबाट खोप लगाइनेछ । काठमाडौं उपत्यकामा भने १० भन्दाबढी अस्पतालमा खोप वितरण गरिनेछ ।

खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड-१९ व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड-१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्र्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ ।

पहिलो खोप लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयका प्रवक्ता डा गौतमले बताए । खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ ।

भारत सरकारले माघ ८ गते अनुदानमा नेपाललाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको छ । माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने कोभिशिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ । रासस

  • १० माघ २०७७, शनिबार १७:४३ प्रकाशित
  • Nabintech