४ जेष्ठ २०८१, शुक्रबार
ओलीले राजिनामा दिनुपर्थ्यो : वामदेव गौतम
  • काँचुली खबर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहारको कारण अहिलेको समस्या आएको दाबी गरेका छन ।

राष्ट्रिय सभाको बैठकमा बोल्दै गौतमले प्रधानमन्त्रीले त्याग गर्न सकेको भए अहिले पार्टी पनि नफुट्ने र प्रतिनिधि सभा विघटनको अवस्था पनि नआउने बताए ।

‘पार्टी जोगाउनको लागि उहाँको निम्ति अवसर थियो, त्याग गर्न सक्नुपर्थ्यो । त्यो ठाउँमा म भएको भए अविश्वासको दर्ता गर्नुअघि राजीनामा दिन्थेँ । त्यसले पार्टी एकता जोगिन्थ्यो र इतिहासमा एउटा राम्रो उदाहरण पनि लेखिन्थ्यो’, गौतमले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले ४३ वर्षदेखि सङ्गत गरेको र एउटा गतिलो मित्र मान्ने गरेको तर अहिले यति ठूलो निर्णय गर्दा ओलीले आफूलाई एक पटक पनि नसोधेकोमा गौतमले दुखेसो पोखे ।

‘अहिले प्रतिनिधि सभा विघटन गर्दा मलाई एक पटक पनि सोध्नुभएन । यो निर्णय हुँदैछ भनेर मलाई थाहा थिएन’, गौतमले भने, ‘मलाई अविश्वासद्वारा बर्खास्त गर्ने काम गर्नुभयो भने दुर्भाग्य हुनेवाला छ भनेर पटक–पटक चेतावनी दिनुभएको थियो, आखिरमा उहाँले त्यो गरि छाड्नुभयो ।’

  • २३ पुष २०७७, बिहीबार १४:५५ प्रकाशित
  • Nabintech