बा-आमाको एक्लो सन्तान हो, विश्वास । उसलाई दु:ख कष्टका बाबजूद पनि पढाए । विश्वासले प्लस टु पास गरेपछि लोक सेवाबाट नायव सुब्बा पास गर्यो । सरकारी जागिरी पाएकोमा गाउँभरि उसको प्रशंसा भयो । दैव दशा लागे, कस्को के लाग्छ र ? छोराको कमाईमा सुखभोग गर्न नपाई बाको अचानक देहान्त भयो । छोरो जागिरको सिलसिलामा घर बाहिर, बुढाको मृत्युपछि आमा एक्लै भइन र बुहारीको माग गर्न थालिन् ।
आमाको सधैंको कच्कच पछि विवाह गर्ने मुडमा पुग्यो, विश्वास । चाँजोपाँजो मिलाएर पल्लो गाउँकी आशासँग विहे गर्यो । आमा निकै खुसी भइन् । घरमा सासू-बुहारीबिच विस्तारै मनमुटाव बढ्न थाल्यो । विहे भएको एक वर्ष नपुग्दै विश्वासले बुढी आमालाई एक्लै घरमा छोडेर आशालाई लिएर सहर पस्यो ।
सहर छिरेको पनि चौध वर्ष भएछ । दुइटा बच्चा समेत भए । सहरको बसाइ सुखदै छ । छोराको जन्म दिवस अनाथालयमा सहयोग गरि मनाएको सात महिनापछि आज छोरीको जन्मदिन बृद्धाश्रममा गई बृद्ध-बृद्धाहरुलाई फलफूल र हर्लिक्स बाँडेर मनाउने सल्लाह अनुसार स-परिवार निलसागर बृद्धाश्रममा पुगे ।
विश्वासले छोराको हात समाते भने आशाले छोरी अंगालोमा राखिन् । ट्याक्सीवाला हातमा फलफूल र हर्लिक्स समाएर गेटभित्र पसे । बृद्ध बृद्धाहरु लहरै बसेका थिए । लहरको पहिलो पंक्तिमै बसेकी बृद्धाले आउँदै गरेका आगन्तुकहरुलाई नियालेर हेरिन् अनि आश्चर्य चकित हुँदै चिच्याइन्, ‘मेरो छोरा ! मेरी बुहारी ! मेरा नाति-नातिना ! तिमीहरु एक दिन आउँछौ भन्ने मलाई आशा एवं विश्वास थियो ।’
लघुकथा : ‘महामारी’ !
छविलाल खड्का
कोहलपुर
२२ पुष २०७७, बुधबार १७:५० प्रकाशित