लघुकथा : ‘विजिनेस माइण्ड’ !

बुलबुल सहरमा खुलेको नयाँ औद्योगिक ग्रामले आफ्नो उत्पादन शुरु गर्यो । चौतर्फी यसको प्रभाव देखियो । सहज, सरल, सुलभ तरिकाले सामान पाउन थालेपछि सहरवासी निकै खुसी भए । यसको साइड इफेक्ट पल्लो सहरको पुरानो औद्योगिक क्षेत्रमा पर्यो ।

ती उद्योगपतिहरुले बुलबुल सहरको औद्योगिक ग्राम ध्वस्त पार्ने योजना बनाउन थाले । बुलबुल सहरमा एउटा मात्रै दमकल थियो । दमकल चालक स्माइललाई स्पेशल पार्टी दिने प्लान अनुसार पल्लो सहरको डान्स वारमा सबै व्यवस्था भयो ।

जब स्माइल उता सुरा र सुन्दरीका माझ रमझममै व्यस्त भयो यता बुलबुल सहरको औद्योगिक ग्राममा आगो लाग्यो । दमकल चालकलाई फोन लगाउँदा स्वीच अफ भन्यो । प्रहरीलाई जानकारी भयो । प्रहरी टोली घटनास्थल पुग्यो तर दमकल र पानीबिना रमिते भन्दा केही हुन सकेन । पूरा सहर धुँवाको मुस्लोले ढाक्यो । चारैतिर कोलाहल मच्चियो । दमकल चालकको विषयमा नानाथरी शंका उपशंका गरियो । जिम्मेवारी बोधका बारेमा थुप्रै प्रश्न उठे ।

स्माइल भने झिलिमिली बिजुली बत्ती बलेको बारमा छानीछानी सुन्दरीहरुलाई अंगालोमा बेरेर अंग्रेजी रक्सीमा मस्त थियो । गाना बजिरेको थियो :

‘आगो लाग्यो दिलैमा दमकल बोलाइदेऊ
के रोग लाग्यो दिलैमा डाक्टर बोलाइदेऊ ।’

एक से एक अप्सरा र उर्वशीहरु भित्रि बस्त्रमै डान्स गरिरहेका थिए । चारैतिरबाट वान्स मोर ! वान्स मोर !! भन्दै फर्माइस आइरहेका थिए । सबै व्यस्त र मस्त थिए । बुलबुल सहरको औद्योगिक ग्राम जलेर ध्वस्त भयो !

लघुकथा : ‘महामारी’ !

छविलाल खड्का
कोहलपुर