लघुकथा : ‘महामारी’ !

चोकको भट्टी पसलमा ठर्रा धोकेर चिच्याउँदै र हल्लाह गर्दै आउँदै थियो, कार्यकर्ता । बल्ल अब गजबका दिन आए । भट्टी पसलकी साउनी र हामी कार्यकर्ताका दिन त साँच्ची फर्के । दशैंरतिहार झैं आउँदै छ, अवसर । मजाले रक्सी र मासु खान पाइने भयो । साउनीले पनि मजाले पैसा कमाउने भई ।

त्यो टोलमा रहेका खसी र सुँगुरहरुले पनि उसको कुरा सुनिरहेका थिए । यसको अर्थ बुझ्न नसकेर एक अर्काबिच काने खुसी गर्दै ठूलो खसीले भन्यो, ‘त्यो जड्याँहाले के भन्दै थियो, बुझ्यौ ?’

‘मासु र रक्सी खान पाइने भो भनेर खुसीले कराउँदै थियो ।’ फुच्चे खसीले प्याट्ट बोल्यो ।

दशैं र तिहार त भर्खरै सकियो । उसलाई त्यस्तो के अवसर रहेछ ? फेरि दशैं तिहार झैं रक्सी र मासु खान पाइने । यो हल्लाले खसी र सुँगुर समाजमा संसय फैलियो ।

‘भर्खरै गएको दशै तिहारको मुखबाट बल्ल-बल्ल बचियो । फेरि कुनै अनिष्ट त आउन लागेन ?’ एउटा खसीले शंका गर्यो ।

सबैका मुटुले ढ्याङ्ग्रो ठोक्यो । सबै डराए । यसको बारेमा बृहत् छलफल गर्नुपर्छ । सुँगुर काकालाई पनि यो बैठकमा आमन्त्रित सदस्यका रुपमा बोलाउँदा राम्रै होला । चिन्टे खसीले नयाँ प्रस्ताव ल्यायो । उसको प्रस्तावमा सबै सहमत भए र भोलि बैठक बस्ने र सुँगुरलाई पनि बोलाउने टुङ्गो लाग्यो ।

भोलिपल्ट बैठक बस्यो । दुईटा जेठा सँगुर पनि बैठकमा आए । खसीको मुख्यले हिजो घटेका घटनाको सविस्तार सुनायो । सबैले आ-आफ्ना तर्क र शंका पेश गरे ।

‘हाम्रो लागि महामारीको श्रृङ्खला नै छ कि क्या हो । अस्ति भर्खरै दशैरतिहार नामक महामारी आयो हाम्रा थुप्रै साथीहरुले कुर्बानी गर्नुभयो । हामी बल्तल्ल बाँच्यौं । त्यो जड्याँहा फेरि त्यस्तै संकेत गर्दै छ ।’ चिन्टेले भन्यो ।

चाँचाँ र चुँचुँ गर्दै नाक सफा पार्दै पुत्ले सुँगुर बोल्यो, ‘अस्ति हाम्रो मालिक कराउँदै थियो, तिमीहरुलाई अब आउने चुनावमा हुत्ताइदिन्छु । धेरै कराउन थाले । सरकारले चुनाव घोषणा गरिसक्यो । नमात्तिए हुन्छ……..।’

अर्को महामारीको रुप लिएर चुनाव आएको जानकारीले सबै खसी र सुँगुरहरु चिन्तित मुद्रामा मुखामुख गरे !

लघुकथा : ‘कोट’ !

छविलाल खड्का
कोहलपुर