१३ बैशाख २०८१, बिहीबार
जब म्यारोडनाले रुसी स्टेडियममा सिगार पिए…
  • काँचुली खबर

विश्वका महान् फुटबलर मध्ये एक हुन् डिएगो म्यारोडना । तर, फुटबलमा उनले जुन उचाइ बनाएका छन्, विवादबाट पनि उनी टाढा रहन सकेका छैनन् । सधैं विवादमा छाइरहने म्यारोेडना विश्वकप २०१८ को सुरुवाती चरणमा पनि विवादमा छाएका छन् । उनले रुसको स्टेडियममा सिगार पिएकाले विवादमा छाएका हुन् ।

विश्वकपको शनिबार भएको अर्जेन्टिना र आइसल्यान्डको खेलमा म्यारोडनाले स्टेडियममा नै सिगार पिएको तस्वीर अहिले भाइरल भएको छ र यही विषयमा उनी विवादमा मुछिएका पनि छन् । १९८६ को विश्व च्याम्पियन बनेको अर्जेन्टिनाका कप्तान म्यारोडनाले धूमपान निषेधित क्षेत्रमा सिगार पिएकाले विवादमा छाएका हुन् । उनले कानुन तोडेको धेरैले आरोप लगाएका छन् । ५७ वर्षका म्यारोडनाले यो विषयमा स्पष्टीकरणसमेत दिन भ्याइसकेका छन् । उनले भनेका छन्, ‘सबैलाई कुनै पनि कुराको आनन्द लिने अलग तरिका हुन्छन् । वास्तवमा भन्ने हो भने मलाई स्टेडियममा धूमपान गर्न पाइँदैन भन्ने नै थाहा थिएन । म यसका लागि माफी माग्छु । अर्जेन्टिना, आफ्नो टिमको समर्थन गर्न सकूँ, योभन्दा धेरै खुसी केही पनि छैन ।’ विश्वले म्यारोडनालाई मेक्सिकोमा सन् १९८६ मा भएको विश्वकप क्वार्टर फाइनलको इंग्ल्यान्डविरुद्धको खेलमा उनको विवादिन गोल ‘ह्यान्ड अफ गड’का लागि पनि चिन्छ । म्यारोडनाको कप्तानीमा अर्जेन्टिनाले खेलेको यो खेलमा उसले विश्वकप ट्रफी उचालेको थियो ।

  • ५ असार २०७५, मंगलवार १०:४० प्रकाशित
  • Nabintech