१३ बैशाख २०८१, बिहीबार
नेमारमाथि दबाब– ८० वर्षयता पहिलो म्याच हारेको छैन ब्राजिलले
  • काँचुली खबर

फुटबल विश्वकपको चौथो दिन आइतबार तीन खेल हुँदैछन् । पहिलोः कोस्टारिकाविरुद्ध सर्विया, दोस्रो– जर्मनीविरुद्ध मेक्सिको र तेस्रो ब्राजिलविरुद्ध स्विट्जरल्यान्ड ।

यी मध्ये ब्राजिलमात्र त्यस्तो देश हो जसले आजसम्मका सबै विश्वकप खेलेको छ । पछिल्ला ८० वर्षमा ब्राजिलले एउटा पनि पहिलो खेल हारेको छैन । ब्राजिल र स्विट्जरल्यान्ड विश्वकपमा अलिहेसम्म एक पटक मात्र भिडेका छन् । सन् १९५० मा भएको त्यो खेलमा यी दुई टिम २–२ को बराबरीमा थिए । पछिल्ला १२ विश्व कपमा ग्रुप स्टेजको एउटा पनि खेल नहारेको ब्राजिल आज पनि बलियो टिमका रुपमा प्रस्तुत हुँदै छ । अर्कोतिर स्विट्जरल्यान्डले अहिलेसम्म खेलेका ११ वटा विश्वकपका खेलमा ३३ मा १६ खेलमा हारेको छ ।

यसअघिको विश्वकपमा जर्मनीसँग ७–१ ले पराजित भएको कुराले अब आफूहरुलाई त्यति चिन्तित बनाइनरहेको ब्राजिलका खेलाडीहरुले बताउन थालेका छन् । ब्राजिलका डिफेन्डर थिएगो सिल्भाले भनेका छन्, ‘त्यो ७–१ अब हाम्रो दिमागमा छैन । र, हामी विश्व च्याम्पियन बन्ने र हाम्रो इतिहास लेख्ने पक्षमा छौँ ।’ उता, स्विट्जरल्यान्डका कोच भ्लादिमिर पोट्कोभिकले भनेका छन्, ‘हामी यहाँ सुन्दर खेल खेल्न मात्र आएका होइनौँ, हामीलाई जित्नु छ ।’ पछिल्ला दिनमा स्विट्जरल्यान्डले आफ्नो खेलमा व्यापक सुधार ल्याएको विश्लेषण पनि भएका छन् । त्यसैले आजको खेल ब्राजिलियन स्टार नेमारमाथि ठूलो दबाब हुनेछ । उनले पछिल्ला ग्रुप स्टेजमा अपराजित यात्रा तय गरेको ब्राजिललाई बचाउन सक्नु पर्ने हुन्छ । त्यस्तै, नेमारमाथिको दबाब छ– ८० वर्षदेखि पहिलो म्याच नहारेको ब्राजिलको इतिहासलाई जोगाउनु ।

ब्राजिल यो स्टेजबाट सफल हुने ९० प्रतिशत सम्भावना
फुटबलको तथ्याङ्कमाथि काम गर्ने ग्रेसनोट स्पोटर््सले विश्वास लिएको छ कि ब्राजिल यो स्टेजबाट अगाडि बढ्ने सम्भावना ९० प्रतिशत छ । ग्रेसनोटमा एनलाइसिसका प्रमुख सिमोन ग्लिभले भनेका छन्, ‘अहिले विश्वको एक नम्बर टिममा ब्राजिल छ । त्यसैले पनि ऊ ग्रुप स्टेजबाट अगाडि बढ्नुमा कुनै आश्चर्य हुने छैन । उसको सम्भावना ९० प्रतिशतभन्दा बढी छ ।’

  • ३ असार २०७५, आईतवार १३:२२ प्रकाशित
  • Nabintech