२३ श्रावण २०७९, सोमबार
फेसबुक धेरै चलाउनुहन्छ ? मानसिक रोगी हुनुहोला ?
  • काँचुली खबर

 

यसो एक छिन एउटा साथीसँग कुरा गर्छु भनेर म्यासेन्जर खोलेको थिएँ। अर्को तिर एउटा म्यासेज आयो। इनबक्स खोलेँ। १ सय १२ बाह्र जनाको ग्रुप रहेछ त्यो। मेरो साथीको नामबाट एउटा भिडियो आएको रहेछ मैले लिंकमा क्लिक नगरेरै थाहा पाएँ। त्यो भिडियो अश्लिल हो उत्तिखेरै अरु साथीहरुले पनि त्यसमा आपत्ति पोख्न थाले बास्तवमा कसले बनायो त्यो ग्रुप र कसले पठायो त्यो भिडियो कसैले पत्तो पाएनौँ। अन्तमा स्टाटसबाट नै त्यसमा हामी कसैको संलग्नता नरहेको स्पष्ट पार्‍यौं। मलाई त्यो कुराले धेरै गम्भीर बनायो।

बिहान महामृत्युञ्जय मन्त्र सुन्ने बानी छ मेरो। कहिलेकाहीँ खै किन हो युटुब खोल्न भनेर कम्प्युटरको पर्दा उघार्छु तर माउस फेसबुकमा गएर क्लिक हुन्छ। कलेज पढाउने मान्छे म। अनि आफै पनि फुर्सदको समय प्रायः पुस्तकहरु पढेरै बित्छ। काम र पढाईबाट फुर्सद मिलेको समय धेरै फेसबुकमै पनि बिताएको छु मैले। त्यो समयमा फेसबुकमा आउने मानिस, सूचना, समाचार र आम मानिसका पोस्टहरुलाई नजिकबाट अध्ययन गरेको छु । त्यसैको प्रभाव होला नचाहँदा नचाहँदै पनि कहिले काही माउस फेसबुक एप्सतिर जान्छ।

साथी धेरै आत्मीयता कम

१००० भन्दा बढी साथी छन् फेसबुकमा तर मुश्किलैले चिन्ने दुई सय होलान्।

चिनेका दुइसय साथीमध्ये मेरो अहिलेसम्म २० जनाजतिसँग कुरा भएको होला बाँकीसँग हेलो हाइसम्म पनि भएको छैन। कतिपय फेसबुकमा भएका साथीहरु बाटोमा भेट हुँदा बोलचाल हुँदैन। बाटोमा बेलचाल नहुनेसँग म्यासेन्जरमा कुरा गर्नुपर्ने खास काम पनि हुँदैन। भेटमै के छ सन्चो बिसन्चो औपचारिक बोलाचाल नहुनेसँग च्याटमा कुरा गरेर समय बिताउनुको औचित्य केही छ जस्तो मलाई लाग्दैन।

कुनै कुनै साथी भएका मान्छेहरु प्रभावशाली र क्षमतावान हुन्छन्। केही खास गुण वा विशिष्टता भएका मान्छेहरुसँग केही आइडिया साझेदारी गर्न मन लाग्छ तर त्यस्ता मान्छेहरुलाई फेसबुकमा बहस गर्ने समय हुँदैन। औसत मान्छेसँग समय प्रशस्त हुन्छ तर उनीहरुसँग केही पाउन सकिदैन। मेरो अनुभव हो यो। कुनै मान्छेसँग प्रत्यक्ष भेट नभई वा चिनजान नभई उनीहरुको म्यासेज रिप्लाई गर्न मान्छेको भलाद्मीपनले पनि अलि दिदैँन। म पनि त्यस्तै हुँ। सबैको म्यासेजको रिप्लाई लेख्दिन। अरुले मेरो पनि लेख्दैनन्। यस्तो फ्रेन्डसिपको सम्बन्ध केको लागि रु सबै मान्छे आफ्नै आफ्नै काममा। आफ्नै आफ्नै तनावमा। घरबाहिर निस्केर भेट्ने यसो घुमघाम गर्दै सुख दुख साट्नुमा जो आनन्द छ त्यो फेसबुकको पर्दाभित्रका साथीको अनुहार हेरेर बस्नुमा कहाँ छ। ओठमा हाँस्नु र स्टिकरमा हाँस्नु धेरै फरक कुरा हो।

त्यो मात्र होइन। हामीले फेसबुकमा पोस्ट गर्ने कुरा, हाम्रा पोस्टले पाउने लाइक र कमेन्टले पनि हामीलाई रोगी बनाइरहेको छ। तसबीरलाई धेरैले लाइक गरिदिए आफूलाई स्मार्ट ठान्ने अनि अपेक्षा गरेका कुनै मान्छेले वेवास्ता गरिदिदा हीन भावले ग्रस्त हुने। फेसबुकमा आउने हरेक कुरालाई चासो दिएर हेर्ने गर्नाले हाम्रो मस्तिष्कमा राम्रो भन्दा नराम्रो कुराको छाप छिटो र दीर्घकाल सम्म रहिरहन्छ र यसले मान्छेको सकारात्मक सोच्ने उर्जालाई निस्क्रिय बनाइदिन्छ।

भेटघाटमा आपसमा गर्न वा भन्न नसकिने कुरा वा कसैप्रतिको आग्रह, द्वेष, कुण्ठा, घृणा जस्ता नकारात्मक भावनाहरुलाई पोख्न भने फेसबुकले सजिलो बनाइदिएको छ। प्राइभेट म्यासेज बक्स होस् या टाइमलाइनमा लेखेर छाडिदियो अनुहार देखाउनु पर्दैन। लज्जा हुँदैन। कसैको अघि हीनताबोध गर्नुपर्दैन। म पनि यसको प्रयोगकर्ता हुँ यो काम मैले पनि गरेको छु आफ्नो अनुवभव नभई अरुलाई दिने सल्लाह वा ज्ञानको पनि खासै अर्थ हुँदैन। केही व्यक्तिहरुलाई मैले पनि नजिकबाट हेरेँको छु। मलाई चाहिने कुनै लेखको विषयवस्तु वा कुनै कथा उपन्यासको पात्र खोज्ने काममा यसले सहयोग गरेको छ र म स्वयम् पनि एउटा पात्र भएर प्रस्तुत भएको छ। नारी मनोविज्ञान, मान्छेभित्र प्राय आउने विचारहरु, मान्छेको चेतना स्तर, समाजिक चिन्तन र प्राय मानिसको दैनिकी कसरी बित्छ भन्ने कुरालाई मैले फेसबुकबाट नै बुझेको छु। मलाई पनि मान्छेले यसै गरि बुझेका होलान्।

मलाई लाग्छ अहिलेको फेसबुकमा धेरै समय बिताउने मान्छेहरु एक एक पत्रकार हुन्। आलोचक पनि हुन्। समाज सुधारक हुन्। बुद्धिजीवि हुन्। तर उनीहरुको कामले न समाज न कुनै व्यक्ति कसैलाई राम्रो फाइदा गरेको छैन। भूमिका जसले अरु केहीगर्न नसकेपनि आफूलाई क्षण क्षणमा अपडेट गरिराखेका हुन्छन्। कसलाई रुखा लागेको छ। कसले कुन होटलमा बसेर के खाँदै छःरु कसको घरमा के तरकारी पाकेको छ। कसले आज श्रीमतिसँग एनिभर्सरी मनाइरहेको छ सब कुरा थाहा पाउन सकिन्छ।

अस्वाभाविक आत्मप्रदर्शन

बसको टिकट काटेर दुनियाँको पसिना गह्नाउने सिटमा टाउको राखेर यात्रा गरिराखेको होस् ट्राभलिङ् टु केटिएम फ्रम सुर्खेत भनेर हवाइजहाज उडेको चित्रसँग आफूलाई अपडेट गर्ने मान्छेहरुको कमी छैन फेसबुकमा।

खाना खादैँ गरेको अवस्था, आराम गरिरहेका अवस्था, अफिस जाँदै गरेको अवस्था अफिसमा काम गरिरहेको अवस्था। यस्ता अवस्था धेरै अपडेट भइराख्छन् फेसबुकमा। संसारमा के भइरहेको छ भन्दा पनि कुन साथीले के गरिरहेको छ सबै थाहा हुन्छ अहिलेको मान्छेलाई।

स्त्री वर्गका पनि आफ्नै आफ्नै सौख छन्। भान्सामा काम गरिराखेको अवस्था , तरकारी काट्दै गरेको अवस्था फेरि एकछिन् पछि तरकारी चाख्दै गरेको अवस्था।

खाना खादै गरेको अवस्था आयो चुठ्दै गरको अवस्था आउन बाँकी छ। साँझ सुत्दै गरेको अवस्था पनि देखियो त्यो पनि अचम्म नमानौँ मस्तसँग निदाइरहेको अवस्था पनि देखियो। बिहान उठ्दै गरेको अवस्था पनि देखियो प्रभु अब उठेर वाथरुममा गएर के के गर्दै गरेको अवस्था पनि देखिने हो कहिले देखि। अस्पतालमा बिरामी भएर भर्ना भएको बेलामा पनि आफ्नो अवस्था नदेखाई भा छैन मान्छेलाई। श्रीमती सिटिस्क्यान मेसिन भित्र हुँदा पनि श्रीमान्लाई फोटो खिचेर माइ स्विट हार्ट इन सिटिस्क्यान क्याप्सन फेसबुकमा नहाली नहुने यो कस्तो माया हो ?

विवाह गर्दै गरेको अवस्था सम्म त ठिकै हो। सेलिब्रेटिङ हनिमुन विद स्वीटहार्ट एण्ड ट्वान्टी टु अदरस भन्ने स्टाटस पनि देखियो अब त्यो पनि कहिले देखि लाइभ हेर्न पाइने हो। पक्कै पूरा नभएपनि ट्रेलर त यै जुनीमा देख्न पाइएला जस्तो लाग्छ।

कुनै नयाँ ठाउँमा गयो एउटा फोटो टाँसेर थाहा दिइहाल्नु परेको छ मान्छेलाई। धन्न ससुराली र माइत गएको फोटो प्रत्येक पटक हाल्दैनन् मान्छेहरु अरुले के भन्लान् भनेर। नयाँ कपडा शरीरले र फेसबुकले एकै पटक लगाउछन्। अहिले को होला नयाँ कपडा लगाएर ऐना हेरिसकेपछि फेसबुकमा फोटो नहाली बाहिर केटी मान्छे रु अनि कतै केही मिठो खाने कुरा मुखमा हाल्नुभन्दा पहिला फेसबुकमा नहाल्ने मान्छे रु पहिला चोखामिठो खाँदा भगवानलाई चढाउने परम्परा थियो अहिले फेसबुकमा चढाउने परम्परा बसेको छ। चन्द्रागिरीमा म म र धोबीखोलाको छेउमा पानीपुरी खाएको फोटो राख्न त छोडेको छैन मान्छेले भने अरु के छोड्ला ?

अब समय यस्तो बिरामी मान्छेलाई फेसबुकमा स्याउ सुन्तलाको फोटो राखिदिएर गेट वेल सुन भनिदिए पुग्छ। बिरामीलाई कहाँ छ कुन अस्पतालमा छ भनेर खोज्ने र भेट्ने फुर्सद कसलाई होस्रु कोही चिनेको मान्छे मरेको फोटो फेसबुकमा देखिए एउटा दाउरा र रिप कमेन्ट बक्समा राखिदिएर मलामीको कर्तव्य पुरा हुन्छ। मान्छे मान्छेबीचको आत्मीयता शुन्य प्रायः भइसक्यो। कतिपय त रिडिङ् बुक भनेर क्याप्स्न वा फोटो राख्छन् अनि आएका कमेन्टहरुको रिप्लाई पनि दिइरहेका हुन्छन् बाफ रे कस्तो दिमाग हो यतातिर फेसबुक उता तिर अर्को बुक धमाधम दिइराछ। तर ती मान्छेको जहिले पनि रिडिङ बुक भन्ने स्टाटस र फोटो हेरियो तर त्यो बुकमा खास के रहेछ र पढ्नुपर्ने कारण के रैछ कहिलै पढ्न पाइएन। उनीहरुले पनि लेख्न भ्याएनन्। पढिरहको अवस्था अपडेट गर्दा गर्दै।

अनुहारको विज्ञापन

मान्छेलाई आफ्नो अनुहार जस्तो भए पनि त्यसै स्मार्ट त्यस्मा पनि अरुका लाइक र नाइस पिक कमेन्टले त झन आकासै चढाइदिने।

सातथरीका मेकअप किड्स प्रयोग गर्‍यो, कस्तो अनुहार बनाउँदा राम्रो देखिन्छ भनेर तीनचार पटक फोटो खिच्यो। अलि राम्रो देखिने फोटोलाई फेरी अनेक एप्सहरुले इडिट गर्यो अनि लास्टमा सादा जीवन उच्च विचार भन्ने क्याप्सन लेखेर फोटा अपलोड गरिदियो। त्यपछि कुरेर बस्यो लाइक र कमेन्ट। एक लाइक बराबर एक डलरको भ्यालु हुन्छ। अनि सौन्दर्यप्रेमीहरुको कमेन्टको ओइरो लाग्छ।

वाउ प्या नाइस पिक। पहिलो कमेन्ट देखाइदिन्छ नोटिफिकेसनले

यस्तो कमेन्टलाई धन्यवाद कसरी नदिनूरु

हो र थ्याङ्क्स डियर – रिप्लाई गइहाल्यो

अर्को कमेन्ट आउँछ – क्या ब्युटिफुल, ।

यस्लाई अलि फरक रिप्लाई दिनुपर्‍यो – होइन होला त्यस्तो त एनि वे थ्यांक यु।

अनि केमेन्टको रिप्लाई दिँदा घण्टौ बितिसक्छ। कलेजमा गर्नु भनेको असाइमेन्ट कहाँ छ नोट कहाँ छ होमवर्क कहाँ छ के पत्तो होस् । अलि नोट माग्ने सरको नाममा ट्रोल बनायो एउटा पेजमा पोस्ट गरिदियो। पत्तो हुँदैन। फेसबुकमा त्यस्तो कमेन्ट दिनेहरु सबैलाई थाहा हुन्छ कि म झुट् बोलिरहेको छु वास्तवमा यस्तो मान्छेलाई त्यति राम्रो कमेन्ट दिनु आवश्यक नै छैन।

कमेन्ट गर्ने र कमेन्टमा मख्ख हुने दुवैमा थोरै मानसिक रोग देखा परिसकेको छ। एक थरीलाई झुट बोल्ने आदत बसेको छ अर्काथरीलाई भ्रममा बाँच्ने।

कसैले त मलाई भन्छन् खै मेरो फोटोमा लाइक कमेन्ट केही छैन ?

हाँसिदिन्छु।

मान्छे प्रशंसाको भोको यति भैसक्यो।

के मान्छेलाई फेसबुकमा राख्न आफ्नो फोटो बाहेक अरु केही हुँदैन रु कुनै विषयमा विचार वा चिन्तन हुँदैन रु कुनै महत्वपूर्ण सुचना र जानकारी हुँदैन ?

फेसबुकमा धेरै समय अनावश्यक जानकारी, बिताउँदा मान्छेको दिमाग कस्तो बन्छ र त्यो समय अरु रचनात्मक काम या पुस्तक पढेर बिताउँदा कस्तो बन्छ म आफैले अनुभव गरेको छु। स्टाटस लेख्छु स्टाटसमा आफ्नो अवस्था लेख्दिन बिचार लेख्छु भावना लेख्छु तर लाइक र कमेन्टको आसा अपेक्षा गर्दिन। कसैका राम्रा र मन छुने कुराबाहेक लाइक गर्दिन मैले पनि। फोटो राख्नै हुँदैन भन्ने मेरो विचार होइन। तर फोटो पनि कुनै सन्देश दिने हुन्छ। कुनै विशेष परिस्थितिको हुन्छ। यौटै अनुहारलाई बिना अर्थ पटक पटक अपलोड गरिरहनु र लाइक र कमेन्ट गनेर समय बिताउनु कति उचित हो आफैले विचार गरौँ।

कुनै मान्छे कसैको आलोचना गरेर आफ्नो महत्वपूर्ण समय खेर फालिरहेका छन्। साथीहरु धेरै छन् आत्मीयता कोहीसँग छैन। अपरिचितहरुलाई नजिकको साथी बनाउने ध्याउन्नमा आफ्नै घर परिवारका सदस्यसँग बेखबर भएको छ अहिलेको मान्छे। कसैलाई उडाउन उसको नाममा ट्रोल बनाएर पोस्ट गर्ने समय र मष्तिस्क अरु कुनै उत्पादनशील र रचनात्मक काममा लगाउने हो भने व्यक्तिको लागि कति लाभदायक हुने थियो। कतिपयले त आजको स्टाटस के लेख्ने त्यसकै विषयवस्तु नपाएको गुनासो लेख्छन्। एउटा फेसबुकमा लेख्ने स्टाटसको लागि त मान्छेको दिमाग यति सुस्त चल्छ भने कुनै समस्याको समाधान वा कामको निर्णय गर्दा दिमागले कसरी काम गर्दो हो आश्चर्य लाग्छ।

एक दुई घण्टा नेटले काम नगर्दा कुनै रोजगार नभएको मान्छे आधा बौलाइसक्छ जो फेसबुकमा झुण्डिरहने बानी परेको छ। घरमा लोग्ने बिरामी भएकोमा भन्दा नेटमा खराबी भएकोमा श्रीमती दुखी हुन्छिन् अहिले। आफ्नी श्रीमतिको भन्दा केयर आफ्नो आइफोनको गर्छन अहिलेका लोग्नेमान्छेहरु। सडकमा मान्छे अघि पछि एक्लै छ तर सबै फेसबुकमा कुरा गर्दै हिडछन् अहिलेका मान्छेहरु। फेसबुकले जति टाढा टाढाको मान्छेलाई नजिक ल्याइदिएको छ त्यति नजिकका मान्छेलाई नचिन्ने बनाइदिएको पनि छ। कहिलै नदेखेका नभेटेका मान्छे क्लोज फ्रेन्डको लिस्टमा हुन्छन् घरका बा आमा दाजु भाइ दिदीबहिनीलाई सम्झन औँसी या कुनै दशैतिहार आउनुपर्छ।

नांगा तस्बीरहरु प्राइभेट म्यासेजमा आदान प्रदान गरेर रमाइरहेका छन् कोही। कोही चिनजानबिनाका मान्छेका प्रोफाइल पिक्चर हेरेर प्रेमिल संसार बनाइरहेका छन्। रमाइरहेका छन्। म्यासेन्जरमै चुम्बन साटिरहेका छन्, भर्चुअल सेक्सबाट पनि आनन्द लिइरहेका छन्।

सोच्नुपर्ने कुरा यो हो की हाम्रा प्रत्येक संवाद, कसैसँग नांगिएको शरीर कुनै पनि गोप्य छैनन्। जुनसुकै बेला आफ्नो विश्वासको पात्र या कुनै ह्याकरको हातमा ती सबै कुरा पर्न सक्छन्। वा कसैले हाम्रो नामबाट कुनै त्यस्तो अश्लिल सामग्री पोस्ट गरिदन सक्छ। अनुहार हाम्रो र शरीर अर्कैको जोडेर हामीलाई नांगो बनाइदिन सक्छ। एउटा बाबुले आफ्नी किशोरी छोरीको नांगो तसबीर फेसबुकमा देख्यो भने उसलाई बाँच्ने शक्ति केले दिन्छ रु त्यो किसोरी कसरी बाँच्न सक्छे ?

त्यो काण्डमा मुछिएका जो कोही मान्छे तपाईँ हामी पनि हुन सक्छौँ हाम्रो शीर कसरी ठाडो हुन सक्छ रु केही नभएपनि केही समय त हामीलाई मानसिक आघात पुर्याउछ नै। के थाहा त्यो आघात जिन्दगीभर निको नहुने रोग पनि त हुन सक्छ।

अब फेसुकमा धेरै समय बिताउने या फेसबुकको लत बसेको मान्छेहरु त्यो रोगको सामना गर्न तयार हुनुपर्छ। किन कि हामी सामाजिक संजालको प्रयोग न सही तरिकले गरिराखेका छौँ न त सही कामको लागि।

  • १८ जेष्ठ २०७५, शुक्रबार १६:१६ प्रकाशित
  • Nabintech