१४ बैशाख २०८१, शुक्रबार
सूचनाको माग गर्दै पुनरावेदनमा उजुरी दिने तयारी
  • काँचुली खबर

कोहलपुर उद्योग वाणिज्य संघले सूचना अभियन्ताहरुले माग गरेको सूचना उपलब्ध नगराएपछि सूचना अभियन्ताहरु पुनरावेदनका लागि राष्ट्रिय सूचना आयोगमा उजुरी दिने तयारी गरेका छन् ।
संविधानले प्रत्याभूत गरेको कानुनी व्यवस्था अनुसार शासन सञ्चालनका सन्दर्भमा सरकार तथा सार्वजनिक निकायहरूद्वारा गरिने क्रियाकलापको बारेमा जान्न पाउनु जनताको नैसर्गिक अधिकार भएकाले माग गरेको सूचना उपलब्ध नगराउने उद्योग वाणिज्य संघका विरुद्ध राष्ट्रिय सूचना आयोगमा उजुरी दिने तयारी गरिरहेको सूचना अधिकार समूह कोहलपुरका अध्यक्ष जयसिंह के।सी।ले बताए ।
२०७४ साल चैत्र ९ गते सूचनाको हक सम्बन्धी ऐन २०६४ ले प्रत्यायोजन गरेको हरेक नागरिकलाई सूचनाको अधिकारलाई संरक्षण र प्रचलनमा ल्याउन आरटिआई कोहलपुर समूहले संघसँग सूचना माग गरेको थियो । समूहले माग गरेको सूचनामा संघको आयोजनामा सम्पन्न औद्योगिक व्यापार मेलामा खरिद गरिएका आथित्य सत्कारमा प्रयोग भएका मायाको चिनो, कदर पत्र, सम्मान पत्र र प्रशंसा पत्र कति परिमाणमा कति मूल्यमा खरिद गरिएको र खरिद गरिएको सामाग्रीहरुका विवरण खुलाई खरिद कुन विधी प्रक्रियाबाट गरिएको यसको विषयमा पूर्ण रुपमा सूचना माग गरिएको थियो । यस्तै महोत्सव सञ्चालन अवधीमा कति परिमाणमा टिकट विक्री भयो रु र टिकट विक्रीबाट कति रकम संकलन भएको छ सो को सबै यथार्थपरक विवरणहरु र सचिवालय उप–समितिले खरिद गरेका वस्तु तथा सेवाहरुको सबै विवरण र खरिद पक्रिया विधी बारे पनि सूचना माग गरिएको थियो । राज्यका काम कारबाही लोकतान्त्रिक पद्धति अनुरुप खुला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन, सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहँुचलाई सरल र सहज बनाउन, राज्य, सार्वजनिक संस्था र नागरिकको हितमा प्रतिकुल असर पार्ने सम्वेदनशील सूचनाको संरक्षण गर्न र नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउने सम्बन्धमा कानूनी व्यवस्था रहेकाले सूचना माग गरिएकोमा संघले २ महिना भन्दा बढि समय वितिसक्दा पनि माग गरिएका सूचना उपलब्ध नगराएको सूचना अधिकार समूह कोहलपुरले जनाएको छ । माग गरिएको सूचना बढिमा १५ दिनभित्रै उपलब्ध गराउनैपर्ने संविधानमा उल्लेख भएपनि सूचना उपलब्ध नगराएर उद्योग वाणिज्य संघ कोहलपुरले लोकतान्त्रिक पद्वती रसंविधानको धज्जी उडाएको सूचना अभियन्ताहरुको भनाई छ ।
राष्ट्रिय सूचना आयोगको आयुक्त किरण पोख्रेलले माग गरेको सूचना उपलब्ध नगराउने उद्योग वाणिज्य संघ कोहलपुरका विरुद्वमा पुनरावेदनका लागि आयोगमा उजुरी परेमा संविधानले प्रत्याभूत गरेको अधिकार प्रयोग गरेर कानुनी कारवाही गरिने बताए । उनले सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहँुचलाई सरल र सहज बनाउन राज्यको कुनै पनि नागरिकले कुनै पनि सरकारी निकाय एवम् सार्वजनिक क्षेत्रसँग सूचना माग गर्न पाउने अधिकार संविधानले प्रत्याभूत गरेको बताए । सूचना दिन अटेरी गर्ने जुनसुकै निकायलाई आवश्यक कारवाही गर्ने बताउँदै सूचना आयुक्त पोख्रेलले उद्योग वाणिज्य संघलाई तत्काल माग गरिएको सूचना उपलब्ध गराउन अनुरोध गरेका छन् । आयोगमा उजुरी पर्नु अघि संघले सूचना अभियन्ताहरुले माग गरेको सूचना उपलब्ध गराएर दण्डित हुनबाट जोगिन आग्रह गरेका छन् ।

  • १३ जेष्ठ २०७५, आईतवार २१:०२ प्रकाशित
  • Nabintech