५ नं प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बुटवलले स्थानीय तह तथा सरोकारवाला निकायहरु सँग कृषि तथा पशुपालन सम्बन्धी अन्तरक्रिया बाँकेमा सम्पन्न गरेको छ । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नेपालगञ्जको समन्वयमा बाँके र बर्दिया जिल्लाका सबै स्थानीय तहका प्रमुख, उप-प्रमुख, कृषि शाखा, पशुशाखा, तथा कृषि र पशु पेशा-व्यवसायहरुसँग सम्बन्धीत सरोकारवाला निकाय एवं संस्थाहरुसँग मन्त्रालयले वृहत् अन्तरक्रिया गरेको छ ।
कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतको अध्यक्षता तथा ५ नं प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलको प्रमुख आतिथ्यतामा समपन्न सो अन्तरक्रिया कार्यक्रममा प्रदेश सरकारको कृषि मन्त्रालय पशुपन्छी विकास महाशाखाका प्रमुखले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा ५ नं प्रदेशका १२ वटै जिल्लाहरुको कृषिको तथ्याङ्क, खाद्यान्नको अवस्था,पशुपन्छी क्षेत्रको अवस्था,प्रदेशमा सम्भावित पशुपन्छी तथा कृषि वस्तुहरुको अवस्था,सहकारी क्षेत्रको अवस्था,पशुपन्छी जन्य पदार्थमा प्रतिव्यक्ति उपलब्धता लगायतका विषयहरुको विस्तृत विवरण प्रस्तुत गरिएको थियो । प्रदेश सरकारको कृषि मन्त्रालयले १२ वटा जिल्लाका सहकारी कर्मी स्थानीय तहगत तालिमका लागि रु. ८० लाख, सरोकारवाला तथा स्थानीय तहगत कर्मचारीहरुलाई तालिमका लागि रु. ४० लाख, सहकारी विकास कोषका लागि रु १५ करोड,सहकारी बजार स्थापनाका लागि रु. ६ करोड रकम विनियोजन गरेको जानकारी गराइएको छ ।
त्यस्तै ५ नं प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मन्त्रालय र स्थानीय तह बीचको सहकार्यमा र समन्वयमा काम गर्न सकिने क्षेत्रहरुको समेत निर्धारण गरेको मन्त्रालयले जनाएको छ । त्यस्ता क्षेत्रहरुमा श्रोतकेन्द्र स्थापना, स्थानीय कृषि तथा पशुपन्छी हाटबजार सुदेढिकरण तथा प्रवद्र्धन,भूमिहिन किसानका लागि करार खेती कार्यक्रम, कृषि तथा पशुपन्छी सँगै सम्बद्ध अन्य प्रवद्र्धनात्क कार्यक्रम,कृषि तथा पशुजन्य उत्पादन-प्रशोधन केन्द्र स्थापना तथा बजारीकरणका पूर्वाधार विकास कार्यक्रम, वृहत् कृषि उत्पादन क्षेत्र विकास कार्यक्रम, स्थानीय तहको विशेष मागमा आधारित कृषि वस्तु आत्मनिर्भर कार्यक्रम लगायतको कार्यक्रमहरु मन्त्रालयले सार्वजनिक गरेको जानकारी गराएको छ ।
अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि रहेकी ५ नं प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले मन्त्रालय सँगको सहकार्यमा गरिने कार्यक्रमहरु आ-आफ्नो स्थानीय तहको क्षमता र प्रभावकारीताको आधारमा बनाउन सुझाव दिइन् । मन्त्री पौडेले भनिन् ‘ साना तथा मझौला किसानहरुका लागि आर्थिक उपार्जन गर्न सकिने गरी कार्यक्रमहरु मन्त्रालयले अगाडि सारेको छ । त्यसमा सबै स्थानीय तहहरुले विशेष ध्यान दिएर कार्यक्रम बनाउनु होला’ । मन्त्री पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गराउन करार खेतीको अवधारणा मन्त्रालयले अगाडि सारेको बताउँदै कृषि पेशालाई आम जनताको आकर्षण र आत्मसम्मानको पेशा बनाउने र त्यसलाई व्यवसायिकरण गर्न आवश्यक रहेको र मन्त्रालय त्यस काममा लागिरहेको जानकारी गराइन् ।
कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतले कोहलपुर नगरपालिका कृषि तथा सहकारी मन्त्रालय र यस सँग सम्बन्धीत योजनाहरु सहकार्यमा गर्न इच्छुक रहेको बताए । रावतले प्रदेश मन्त्रालयले पचास प्रतिशत सहकार्यमा गर्न प्रस्ताव आह्वान गरेको व्यवस्थित र आधुनिक पशु वधशाला निर्माणका लागि नगरपालिका तयार रहेको र त्यसका लागि कोहलपुर नगरपालिकाले बाँकेका सबै स्थानीय तहहरु , बाणिज्य संघ, होटल व्यवसायी संघ, मासु व्यवसायी संघ, बाख्रा पालन कृषिक सहकारीहरु लगायतको लगानी सहभागीता र साझेदारीको प्रतिपद्धता समेत गराएको जानकारी गराए । कोहलपुर नगरपालिकाले चालु आ.ब. मा बाख्रा पालनमा रु. २५ लाख अनुदान दिने गरी बजेट विनियोजन गरेको, पशु वधशाला, कृषि तथा अन्य काममा लगानी गरेको रावतले बताए । सडकमा देखिने छाडा पशुचौपायाहरुको समस्या प्रदेश भरीकै समस्या रहेकाले यसको दिर्घकालिन समस्या समाधानका लागि प्रदेश सरकारले नै विशेष योजना बनाउनु पर्ने सुझाव दिए । त्यस्तै स्थानीय तह अन्तरगत सहकारीहरुको नियमन, अनुगमन र व्यवस्थापन गर्न सहकारी विज्ञ तथा अनुभवी कर्मचारीको व्यवस्थापन तत्काल गर्न मन्त्रीको ध्याणाकर्षण समेत गराए । अन्तरक्रिया कार्यक्रममा बारबर्दिया नगरपालिका प्रमुख दुर्गा बहादुर थारु, जानकी गाउँपालिका अध्यक्ष राम विलास यादव, राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्री, प्रदेश सांसद आइपी खरेल, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल लगायतले कार्यक्रमको प्रभावकारीको बारेमा आ-आफ्ना धारणा राखेका थिए ।
१७ कार्तिक २०७५, शनिबार १८:३८ प्रकाशित