राष्ट्रिय प्रतियोगिता अन्तर्गत क्रिकेट खेल कोहलपुरमा हुने निश्चित !
  • काँचुली खबर

राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७५ अन्तर्गत क्रिकेट तर्फको खेल बाँकेको कोहलपुरमा हुने निश्चित भएको छ । कोहलपुरमै पुर्वाधार सहितको क्रिकेट मैदान निर्माण गर्ने प्रक्रिया अगाडी बढाईएको क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले जानकारी दिए । बाँकेको नेपालगन्जमा हुने भनिएको राष्ट्रिय प्रतियोगिता अन्तर्गत बिधागत खेलहरुको स्थान तय नहुँदा संरचना निर्माणमा ढिलाई भएको वलीले दावी गरे । यद्यपी खेल मैदानको सम्भाब्यताका आधारमा क्रिकेट विधा तर्फका खेलहरु कोहलपुरमै संचालन गरिने वलीले बताए ।
यसअघि प्रतियोगिता संचालनकालागि आवश्यक संरचना निर्माण गर्नेबारे सम्वद्ध पक्षहरुबिच कोहलपुर नगरपालिकामा सर्वपक्षिय छलफल गरिएको थियो । उक्त छलफलबाट कोहलपुर क्रिकेट मैदान जोड्ने बाटो मर्मत गर्ने र त्यसकालागि कोहलपुर नगरपालिकाले पहल गर्ने सहमती भएको थियो । सोही सहमती अनुसार कोहलपुर–नेपालगन्ज सडकखण्डदेखी कोहलपुर क्रिकेट मैदान जोड्ने बाटो मर्मत गरिने कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिए ।
रावतले राष्ट्रिय प्रतियोगिता कोहलपुरमा संचालन हुन आफैमा गौरवको कुरा भएको बताउँदै त्यसकालागी आवश्यक सम्पूर्ण पूर्वाधारहरु तयार गरिने बताए । उनले यथासिघ्र मैदान निर्माण कार्यलाई अगाडी बढाउन क्षेत्रिय खेलकुद विकास समितिलाई आग्रह समेत गरे ।
कोहलपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता हुने/नहुने अन्यौलता बढ्दै गईरहेको अवस्थामा मैदान मर्मत कार्य सुरु हुनु सुदख रहेको राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लेखबहादुर क्षेत्रीले बताए ।


बिगत लामो समयसम्म संरक्षण हुन नसकेको कोहलपुर क्रिकेट मैदानलाई हाल पर्खालले घेरीएको छ । मैदानको पूर्व–दक्षिण–पश्चिम दिशामा पक्की पर्खालले घेरबार गरिएपनि उत्तर तर्फ खोला रहेकाले तत्काल घेरबार गर्नसक्ने स्थिती नरहेको क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले बताए । उनले मैदानको उत्तरतर्फ रहेको डुडुवा खोलामा तटबन्धन अपरिहार्य रहेकाले आगामी वर्ष तटबन्धनकालागि पहल गरिने बताए ।
आफुहरुको ध्यान राष्ट्रिय प्रतियोगितामा केन्द्रित रहेको जिकिर गर्दै वलीले भने, ‘मैदानमा गेट लगाउने, लेभलीङ गर्ने, पिच निर्माण गर्ने लगाएतका संरचनाहरु क्रमशः निर्माण गरिने छ ।’ उनले क्रिकेट प्रतियोगिता कोहलपुरमै संचालन हुनेमा ढुक्क हुन आग्रह गर्दै मैदान निर्माणमा सहयोग गर्न सम्वद्ध सबैलाई अनुरोध समेत गरेका छन ।

  • १६ कार्तिक २०७५, शुक्रबार १६:१३ प्रकाशित
  • Nabintech